कोरोना कालका कलाकार : कसैलाई कारको रहर, कसैको भान्छामा कहर
सपुतले कार किनेको एक हप्ता नपुग्दै नायक पुष्प बहादुर खड्काले पनि कार किने। उनी निकटका अनुसार उनले कारका लागि झन्डै ७५ लाख खर्चिए।
केही कलाकार कार किन्ने होडमा लाग्दा केही कलाकार भने कोरोनाको प्रभावले सङ्कटमा परेकाहरूलाई सघाउन सक्रिय भएका थिए। तीमध्ये थिए कलाकार पल शाह। कोरोनाको दोस्रो लहरमा अक्सिजन सिलिन्डरको अभाव हुन थालेको थियो। शाह अक्सिजन सिलिन्डर जम्मा पार्न सक्रिय भए
पुष्पले कार देखाउन थालेपछि पलका फ्यानहरूले कोरोनाले सङ्कटमा परेकाहरूलाई सहयोग नगरी फुर्ती देखाएको भन्दै आलोचना समेत गरे। भोकको लडाइँ लडिरहेका बेला महँगा कारको धक्कु लगाएको भन्दै आलोचना गरिरहे।
पुष्पको विरोध भइरहे पनि नायिका पूजा शर्मा र नायक आकाश अधिकारीले केही घण्टाको फरकमा कार किने। उनीहरूको कारको चर्चा प्रतिस्पर्धासँग लगेर जोडियो।
एक अर्कालाई ‘बाबा’ र ‘बेबी’ भनेर गफ गर्ने उनीहरू आफूलाई मिल्ने साथीको रूपमा चिनाउँथे। कोरोनाकलामा भने यी दुई को झगडा प¥यो। आकाश, पुजा लाई देखि नसहने प्रकाश सुबेदीको टोलीसँग मिसिएर प्राविधिक लगायत अन्य कलाकारलाई सहयोग गर्न निस्किए। यता पूजा भने दिपाश्री, करिश्माको टोलीसँग राहत बोकेर सिन्धुपाल्चोक पुगिन् ।
कसैको भान्छामै समस्या
म्युजिक भिडियो किंगको उपाधी पाएका पल शाह, दोस्रो कोरोनाकाल सुरु हुनुभन्दा केहि हप्ता अघिमात्रै सञ्चारमाध्यममा रोइलो गर्दै आएका थिए । ‘काम पाए पनि पारिश्रमिक पाइएन’ उनले भने।
काम गरेको पैसा उठाउन पनि निर्मातासँग झुक्नुपरेको उनको भनाई थियो। उनले काम गरेको २५ लाख नपाएको गुनासो गरेका थिए। दर्जन जति फिल्म खेलेका कर्मा शाक्यले पनि ४ ओटा फिल्मको पैसा उठाउन बाँकी रहेको खुलाए। नायक नाजिर हुसेनले दुई ओटा फिल्ममा काम गरेको पैसा नपाउँदा घर भाडा समेत तिर्न नसकेको अनुभव सुनाएका थिए।
कोरोनाकलामा केही कलाकार र प्राविधिक पेसाबाटै पलायन भए। रङ्गमञ्चका कलाकार हेमन तण्डुकार योगा शिक्षक बने। यसै क्षेत्रमा १२ वर्ष बिताएका सुरज अधिकारी गाउँ फर्केर होटल व्यवसाय गरिरहेका छन्। रङ्गकर्मी सुरेश जिसी बिमा कम्पनीमा काम गर्न थालेका छन्। कलाकार सङ्गीता थापा सङ्गीतको शिक्षक बनेकी छन्।
प्रेम गीत–२ फिल्मकी नायिका अश्लेषा ठकुरी जन्म घर धनगढी पुगेर धर्म कर्ममा समय बिताइरहेकी छन्। उनी अहिले गाउँका महिला भेला पारेर योगा सिकाउने काममा व्यस्त छिन्। उनले फिल्ममा अब कहिल्यै नफर्कने भन्दै संन्यास घोषणा गरिसकिन्।
‘जेरी’, ‘ग्याङ स्टार ब्लुज’ र ‘द म्यान फ्रम काठमाडौँ’ फिल्ममा अभिनय गरेकी कलाकार आना शर्मा पनि लगभग पलायनको अवस्थामा छिन्। उनी केही एपको विज्ञापन र आकलझुकल फोटो सुटमा देखिएकी छिन्।
नायक सबिन श्रेष्ठ पनि काम विहीन छन्। उनी बेला मौका युट्युबमा भ्लग हालेर बसेका छन्।
सकेसम्म म्युजिक भिडियोमा अभिनय नगर्ने बताएका कलाकार तथा लेखक खगेन्द्र लामिछानेले पनि कोरोना पछि म्युजिक भिडियो खेले। उनले अनुभव र फुर्सतको समय सदुपयोगका लागि म्युजिक भिडियोमा अभिनय गरेको दाबी गरे।
त्यस्तै महानायकको उपाधि पाएका राजेश हमाल पनि केही म्युजिक भिडियोमा देखिए। सचिन परियारसँग म्युजिक भिडियोमा देखिए उनी।
निर्देशक तथा समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा अहिले कलाकारहरू कला भन्दा बाहिरका व्यवसायमा लागेको र कलाकारिता पार्ट टाइम बनेको बताउँछन्।
यो बिचमा केही कलाकार व्यवसायमा पनि लागे। वर्षा राउतका श्रीमान्–श्रीमती मिलेर व्यवसाय गरिरहेका छन्। दीपक–दिपाको समूह, श्वेता खड्का लगायतले नयाँ व्यवसाय सुरु गरे।
चारित्रिक भूमिका निर्वाह गर्नेहरूले अभिनयबाट पैसा कमाउन गाह्रै हुने बताउँछन्। उनले भने, लक्ष्मी गिरी आफै सरकारी जागिरे थिइन्, उनको पेन्सन आउँछ, शिवहरी पौड्याल पनि सरकारी जागिरबाट पेन्सन पकाएका कलाकार हुन्। मिथिला शर्मालाई फिल्मबाट पैसा कमाउनुपर्ने बाध्यता छैन।’
स्क्रिप्ट लेखक तथा पत्रकार सामीप्यराज तिमल्सिना नेपालमा आफूलाई निकै व्यस्त भन्ने कलाकारले पनि वर्षमा ५ देखि ६ वटासम्म फिल्म पाउने र यसबाट उनीहरूले कमाउने जीवन धान्न पुग्ने मात्रै रहेको बताउँछन्।
जो कलाकारितामा मात्रै केन्द्रित भए उनीहरूको आर्थिक अवस्था डामाडोल बनायो कोरोनाले। जसले पार्ट टाइमको रूपमा लिए फिल्म क्षेत्र ठप्प भए पनि ती कलाकारको चमकधमक भने उस्तै झैँ देखिएको उनको भनाई छ।
भदौ ५, २०७८ शनिबार १३:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।