कहाँबाट आइरहेको छ म्युजिक भिडियोमा अर्बको लगानी !
म्युजिक भिडियो निर्देशक समाजका महासचिव सुब्रत आचार्यका अनुसार एकदम कम भिडियो बनेको समयमा पनि महिनाको ३ सय हाराहारीमा म्युजिक भिडियो बन्ने गरेका छन्। यसमा लगानी न्यूनतम एक लाखदेखि २० लाखसम्म हुने गरेको छ।
महिनाको तीन सय वटा म्युजिक भिडियो बन्ने र सरदर एउटाको लगानी पाँच लाख राखे पनि हरेक वर्ष एक अर्ब ८० करोड यो क्षेत्रमा लगानी हुने गरेको देखिन्छ। तर यो रकम कहाँबाट आइरहेको छ त्यति पारदर्शी छैन।
म्युजिक भिडियोका पहिलो लगानीकर्ता हुन् गायक/गायिका आफैँ। गीत रेकर्ड गराएपछि उनीहरू आफ्नै लगानीमा म्युजिक भिडियो बनाउने गर्छन्। दोस्रो लगानीकर्ता अभिनयका सौखिन। म्युजिक भिडियोमा लगानी गर्दा भिडियोमा कलाकारसँगै देख्न पाइने लोभले लगानी गर्नेहरू पनि छन्। यस्तोमा प्राय विदेश बसेका नेपालीहरूको सङ्ख्या बढी देखिन्छ।
तेस्रो प्रकारका लगानीकर्ताहरूले भने गायक/गायिकाको प्रभावका आधारमा युट्युब लगायतका डिजिटल प्लेटफर्ममार्फत हुनसक्ने आम्दानी हेरेर पनि लगानी गर्ने गरेको देखिन्छ। पछिल्लो समय मदिरा, सिमेन्ट,बैङ्क लगायतका कम्पनीहरूले पनि कलाकारको प्रभावको बलमा आफ्नो उत्पादनको प्रचार गराउन म्युजिक भिडियोमा लगानी गर्ने गरेको देखिन्छ।
तर जहाँबाट, जसरी लगानी आए पनि यसको स्रोत भने त्यति पारदर्शी हुन सकेको छैन।
यो त भयो म्युजिक भिडियो बनाउँदा हुने लगानीको पाटो। अर्को छ निर्माण र अभिनयमा जोडिने कलाकारको आम्दानी। म्युजिक भिडियो निर्माण र अभिनयमा जोडिने अधिकांश प्राविधिक र कलाकारहरू करको दायरामा समेत नभएको यही क्षेत्रमा संलग्नहरू नै स्वीकार गर्छन्।
सरकारले अनिवार्य गरे पनि अधिकांश प्यानमा समेत दर्ता नभएको र दर्ता हुन अनुरोध गर्नुपर्ने अवस्था आएको उनीहरूको दाबी छ।
म्युजिक भिडियो निर्देशक समाज नेपालका अध्यक्ष विधान कार्की अर्बको लगानी भइरहे पनि यो क्षेत्रलाई नीति नियममा बाँध्न नसकिएको बताउँछन्। समाजको घोषणा सभामा उनले यो क्षेत्रलाई पारदर्शी बनाउनै म्युजिक भिडियो निर्देशक समाजको स्थापना गरिएको दाबी गरे।
निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी पनि यो क्षेत्रमा ठुलो रकम लगानी भइरहेको बताउँछन्। उनले लकडाउनको समयमा आफैँले ४ ओटा म्युजिक भिडियो निर्माण गरेको खुलाउँदै म्युजिक भिडियो निर्माणको क्षेत्रलाई पारदर्शी बनाउन र उद्योगको रूपमा दर्ता गर्न जरुरी रहेको बताए।
पहिलो पत्रकार सम्मेलन गरेको म्युजिक भिडियो निर्देशक समाज नेपालले म्युजिक भिडियो निर्माणको क्षेत्रलाई करको दायरामा ल्याउन सङ्गठन बनाएको दाबी गरेको थियो। अहिलेसम्म भिडियो दर्ता गर्ने ठाउँ समेत नभएको भन्दै समाजका महासचिव आचार्यले यी सबैको क्षेत्रमा काम गर्न सङ्गठन बनाएको बताए।
'अहिले सरकारलाई कर तिर्न आफै अगाडी सर्नुपरेको छ,' आचार्यले भने' अर्बको लगानी भइरहेको म्युजिक भिडियो क्षेत्र करको प्रक्रियामा नजानु दुःखको कुरा हो।'
आचार्यले कमसेकम म्युजिक भिडियोका निर्देशकहरुलाई प्यानसँग जोडेर करको दायरामा ल्याउने दाबी गरे।
कति कमाई हुन्छ म्युजिक भिडियोबाट?
झन्डै पाँच बर्ष अघितिरको समयमा म्युजिक भिडियोको बाढी नै आएको थियो। त्यो समयमा वैदेशिक रोजगारबाट फर्केका लगानीकर्ताले म्युजिक भिडियो बनाउँथे। यो लगानी नाम र अनुहार देखाउनका लागि हुन्थ्यो।
लगानी गर्ने आफै अभिनय गर्थे। मन पर्ने कलाकारसँग नाच्न पनि पाइने अनि टेलिभिजनको पर्दामा पनि देखिन पाइने लोभमा अधिकांश यस्ता लगानी भित्रिने गरेको थियो।
डिजिटल प्रविधिको विस्तार र प्रयोगकर्ता बढेसँगै लगानीसँगै कमाइहुने बाटो पनि खुल्यो। युट्युब लगायताबाट आम्दानी हुन थाल्यो। उदाहरणका लागि गायक तथा सङ्गीतकार अर्जुन पोखरेलले साँढे दुई लाख लगानी गरेर ‘नबोली नबोली’ बोलको गीत म्युजिक भिडियो बनाए। त्यो गीतबाट युट्युबले मात्रै उनलाई झन्डै आठ लाख आम्दानी गरायो। यो क्षेत्रमा लगानी गरेर डुब्नेहरू नभएका हैनन्। तर पोखरेलझैँ कमाई गर्नेहरू पनि छन्।
प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाका अनुसार यो बेलामा म्युजिक भिडियो र यसको कमाई हुँदैनथ्यो भने प्राविधिक भोकले मरिसक्थे। यसले पनि देखाउँछ म्युजिक भिडियोबाट आम्दानी हुने बाटो बन्द भइसकेको छैन।
कलाकार कृष्ण मल्लले कार्यक्रममा ठट्यौली पारामा भने, ‘फिल्म बन्द भयो, बनाउन त टिकटक बनाउँछु तर त्यसले पैसा दिँदैन।’
फिल्म बन्द भएसँगै पुराना कलाकारको खर्च चलाउन म्युजिक भिडियो खेलाउन निर्देशकमाझ उनले घुमाउरो प्रस्ताव समेत राखे। 'म्युजिक भिडियो निर्माताहरुले पुराना कलाकारलाई पनि चलायमान बनाउनपर्यो', उनले भने।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले विकृति रोक्न म्युजिक भिडियो निर्देशक समाजले महत्त्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे।
भदौ ४, २०७८ शुक्रबार १८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।