एमाले विभाजनसँगै प्रदेश १ मा सुरु भयो सरकार परिवर्तनको रस्साकस्सी 

एमाले विभाजनसँगै प्रदेश १ मा सुरु भयो सरकार परिवर्तनको रस्साकस्सी 

इटहरी : केन्द्रमा नेकपा एमाले विभाजन भएपछि बनेको नयाँ समीकरणले प्रदेशमा पनि  सरकार परिवर्तनको चलखेल सुरु भएको छ।

 हाल सम्म माधव नेपाल समूहको नेकपा एकीकृत समाजवादीमा खुलेर लागेका कुनै पनि सांसद नदेखिए पनि सरकार परिवर्तनको सम्भावनाले आपसमा चलखेल सुरु भएको हो। 

सरकार परिवर्तन भए पनि एमालेकै भागमा पर्ने गरी एक पक्षले तयारी सुरु गरेका छन्। अर्कातिर एमाले बाहेकेको गठबन्धन बनाएर सरकार गठन गर्ने तयारी पनि उत्तिकै हुन थालेको छ। बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भए पछि माधव नेपाल समूहकै नेतालाई आफ्नो गुटमा तानेर मुख्यमन्त्री दिने एमालेको रणनीति छ।

नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी लाई कमजोर बनाउन उनकै पक्षका नेतालाई तानेर भए पनि जिम्मेवारी दिने रणनीति बनाएको एमाले स्रोतले जानकारी दियो। एमाले बचाउन आफू मार्ग प्रशस्त गर्न राजी भएको बताउँदै आएका मुख्यमन्त्री शेरधन राई आन्तरिक छलफलमा जुटेका छन्।

एमाले भित्र पनि राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिएका उनी नेपाल समूहका भीम आचार्यलाई २ मतले हराएर संसदीय दलका नेता चयन भएका थिए। पछिल्लो समीकरण अनुसार एमाले एक बनाउन आचार्यलाई मुख्यमन्त्री  बनाउन सकिने नेकपा एमालेको तयारी छ। पछिल्लो समय आचार्य नेपाल समूह छाडेर मध्यमार्गी बाटोमा लागेका छन्। 

९३ सदस्यीय १ नम्बर प्रदेश सभामा सभामुख सहित एमालेका ५१ सांसद छन्। संसदीय दलको नेता चयनका बेला नेपाल पक्षका आचार्यले २४ र राईले २६ मत पाएका थिए। त्यसपछि पनि केही सांसदले समूह परिवर्तन गरेका छन्। 

 सरकार गठन गर्न ४७ सांसदको समर्थन चाहिन्छ।  प्रदेश सभामा काँग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टी (जसपा)का ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ सांसद छन्। काँग्रेस, माओवादी केन्द्र, जसपा बाहेक थप ८ सांसद भए मात्र नयाँ सरकारको सम्भावना देखिन्छ।  नेपालको नयाँ पार्टीमा कम्तीमा ८ सांसद भएनन् भने एमालेकै सरकार कायम रहने सम्भावना  छ। 

नेपाल समूहका बलिया दाबेदार मानिएका आचार्य बहुमत पुग्ने सम्भावना भए मात्र मुख्यमन्त्री हुने दाउमा छन्। उनको विकल्पमा  राजेन्द्र राई छन्। आचार्यका पछिल्ला गतिविधि लाई नेपाल समूहका प्रभावशाली मानिएका राईले सार्वजनिक रूपमै आलोचना गरेका छन्। नेतृत्व क्षमता कमजोर देखिएको भन्दै राईले सामाजिक सञ्जाल मार्फत आचार्यको टिप्पणी गरेका थिए। आफ्नो समूहका सांसदलाई साथमा राख्न नसकेको आचार्य माथि आरोप लाग्ने गरेको छ।

अहिलेसम्म नेकपा एकीकृत समाजवादीमा नखुले  पनि राई नेपाल निकट सांसद हुन्। आचार्य मुख्यमन्त्री हुने सम्भावना भए ८ सांसद सहित उनी नयाँ समीकरणमा लाग्ने सम्भावना छ। त्यसले गर्दा एमाले विभाजनको रेखा प्रदेशसम्म पुग्नेछ। 

 प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्की पार्टी एकता अक्षुण्ण राख्न मुख्यमन्त्रीले जस्तोसुकै त्याग गर्न तयार रहने बताउँछन्। मुख्यमन्त्री राजीनामा दिन तयार रहेकाले बदलिएको परिस्थितिलाई सामना गर्न भीम आचार्यको नेतृत्वमा नयाँ सरकार गठन हुने उनले सुनाए।

 

 नेपाल समूहका सांसद जीवन घिमिरे वैधानिक रूपमा पार्टी विभाजन भई नसकेको कारण यसै भनन नसकिने तर्क गर्छन्। संसद् सचिवालयमा नयाँ दल दर्ता भएपछि मात्र प्रदेश सरकार परिवर्तनको शृङ्खला सुरु हुने उनको भनाई छ।

संसदीय दलको नेतामा राईलाई मत हालेका घिमिरेले पछि उनै राईको विरुद्धमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए। अहिले पनि कुनै समूहमा नखुलेका उनी मन्त्री पाए नयाँ सरकारमा सहभागी हुने लाइनमा देखिन्छन्।

 

एक महिना भित्र नयाँ सरकार बन्छ : काँग्रेस 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने एक महिना भित्र नयाँ सरकार बन्ने बताएको छ।  काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले केन्द्रको गठबन्धनको प्रारूप अनुसार प्रदेशमा नयाँ सरकार गठन हुने बताएका छन्। नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धन सरकार गठन गर्ने गरी तयारी थालिएको उनले सुनाए। आगामी महिना सम्ममा सरकार गठन गर्ने गरी नेतृत्वको विषयमा छलफल सुरु भएको उनी बताउँछन्।

 

भदौ ४, २०७८ शुक्रबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।