धामी बेपत्ता घटनाको रिपोर्ट सार्वजनिक गर्न अलमल
धनगढी : महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामी अझै फेला परेका छैनन्। साउन १५ गते तुइनबाट महाकाली नदी पार गर्ने क्रममा भारतीय एसएसबीले तार काटिदिएपछि धामी नदीमा हुत्तिएका थिए।
परिवारले धामी जीवित फेला नपर्ने भन्दै कुसाकृतिबाट दाहसंस्कार गरिसकेका छन्। धामी बेपत्ता भएको घटना छानबिन गर्न गठित समितिले भारतीय एसएसबीले तुइन काटिदिँदा धामी महाकाली नदीमा बेपत्ता भएको भनेर प्रतिवेदन सार्वजनिक गरेको छैन।
साउन १७ गते गृह मन्त्रालयले गठन गरेको समितिले १० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने भनिएको थियो। २० दिन पुग्दा समेत समितिले प्रतिवेदन सार्वजनिक गरेको छैन।
अनुसन्धानको विषय भएकाले निचोडमा पुग्न समय लाग्ने समितिको नेतृत्व पाएका गृह मन्त्रालयका सह सचिव जनार्दन गौतम बताउँछन्। अनुसन्धानका क्रममा प्राप्त गरेका तथ्याङ्क इन्ट्री गर्ने काम भइरहेको गौतमले बताए।
‘७ दिन म्याद थप भएको छ, टोलीका सदस्यहरू उतै हुनुहुन्छ,’सहसचिव गौतमले उकेरासँग भने,‘निष्कर्षमा पुग्न सबै सदस्यहरू एकै ठाउँमा बस्नुपर्नेछ।’
गौतम नेतृत्वको टोलीमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन्।
सहायक प्रमुख जिल्ला अधिकारी भट्ट काम परेर दिल्ली गएकी छन् भने सुरेश कुमार श्रेष्ठ ससुराको निधन भएकाले शोकमा छन्। उनीहरू आएपछि छलफल गरेर निष्कर्षमा पुग्ने गौतमले बताए।
धामी बेपत्ता भएको सात दिनपछि घटनाको छानबिन गर्न गएको टोली भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ। टोलीले दार्चुलाका तीन जना प्रत्यक्षदर्शी कल्याण धामी, अनिता धामी र विक्रम धामीसँग सोधपुछ गरेको छ। नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोलीले घटनास्थलको निरीक्षण पनि गरेको थियो।
भारततर्फको घटनास्थल निरीक्षण गरेर फर्किएको टोलीले व्यास गाउँपालिका–२ मालगाउँ गएर पीडित परिवार र गाउँलेहरूसँग पनि छलफल गरेको थियो।
समितिको समयअवधी सकियो तर समितिले प्रतिवेदन बुझाउन सकेन। दोस्रो पटक २६ साउनमा अनुसन्धानका लागी सात दिन म्याद थप भयो। तर त्यो समयमा पनि समितिले निष्कर्ष निकाल्न नसकेपछि गृहमन्त्री बालकृष्ण खाँणले बुधवार तेस्रो पटक समितिको म्याद थपेका छन्।
समितिका एक सदस्यले भारतीय एसएसबीले तार फुकालिदिँदा धामी बेपत्ता भएको निष्कर्ष सहितको प्रतिवेदन दिन सकस परेको बताए।
भदौ ४, २०७८ शुक्रबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।