कर्णालीका १० प्रतिशत विद्यार्थी मात्रै अनलाइन कक्षाको पहुँचमा

कर्णालीका १० प्रतिशत विद्यार्थी मात्रै अनलाइन कक्षाको पहुँचमा

विद्यालय बन्द हुँदा धेरै समयसम्म पढ्न नपाएकी उनले अनलाइन कक्षा लिन थालेको दुई महिना भयो। अहिले उनी दैनिक २ घण्टा अनलाइन कक्षा लिइरहेकी छिन्। अनलाइन कक्षा लिए बापत मासिक १ हजार रुपैयाँसम्म तिर्ने गरेको उनले बताइन्। तर, अनलाइन कक्षामा अध्ययन गर्न उनलाई विद्यालय गएजस्तो सहज छैन। बेलाबेला आउने जाने विद्युत् र नेटवर्कका कारण उनको पढाई प्रभावकारी भएको छैन।

‘स्कुलले अनलाइनको माध्यमबाट पढाइरहेको छ, तर अनलाइन कक्षा लिन त्यति सहज छैन’, उनले भनिन्, ‘कहिले बत्तिले धोका दिन्छ त कहिले नेटले, स्कुल गएजस्तो सिकाई भएको छैन।’

वीरेन्द्रनगरकी ममता थापा जननमुना माध्यमिक विद्यालय वीरेन्द्रनगरमा कक्षा ९ मा अध्ययन गर्छिन्।

उनले पनि नियमित अनलाइन कक्षा लिइरहेकी छिन्। विद्यालयमा पढेजस्तो नभए पनि पढिरहेको छु भनेर मन भुलाउने काम भएको उनी बताउँछिन्।

‘मैले नियमित अनलाइन कक्षा पढेकी छु, प्रत्यक्ष जस्तो प्रभावकारी नहुँदो रहेछ’, उनले भनिन्, ‘शिक्षकले पढाउनुहुन्छ कोही साथीहरू होहल्ला गर्छन्, कोही घरमा काम गरिरहेका हुन्छन् यस्तो वातावरणमा अनलाइन कक्षा लिँदा कसरी प्रभावकारी हुन्छ?’

दैलेखको ठाटीकाँध गाउँपालिका–२ की सरस्वती नेपालीलाई भने अनलाइन कक्षा भनेको थाहा नै छैन।  कोरोनाका कारण विद्यालय बन्द भएदेखि उनले घरमा अध्ययन गर्न समेत पाएकी छैनन्। बरु घरायसी कामकाजमा व्यस्त हुन्छिन्। आजभोलि उनलाई पढाइप्रतिको रुचि नै लाग्न छाडिसकेको छ।

‘कोरोनाका कारण स्कुल बन्द भयो, किताब हेरौँ भने सिकाइदिने कोही छैन, कसरी पढ्ने? घरायसी कामकाज र गाईबस्तुको गोठालो गएर दिन बितेको छ’, सरस्वतीले भनिन्, ‘अरू विद्यालयमा त अनलाइन पढाई हुन्छ भन्ने सुनेकी छु, हाम्रो मा त केही छैन।’

कोरोना भाइरसका विभिन्न लहरहरू देखिएपछि देशभरका सबै शैक्षिक संस्थाहरू बन्द भए। विद्यालय स्तरदेखि विश्वविद्यालयसम्मका  विभिन्न परीक्षाहरू कोही रोकिए त कोही वैकल्पिक माध्यमबाट सञ्चालन भए।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शैक्षिक संस्था बन्द हुँदा लामो समयदेखि सम्पूर्ण शिक्षण गतिविधि प्रायः ठप्प नै छ। 

कर्णाली जस्तो दुर्गम ठाउँमा  विद्यार्थीको ठुलो हिस्सा अनलाइन प्रणालीको पहुँच बाहिर छ। इन्टरनेटको सीमित पहुँचका बाबजुद कर्णाली प्रदेशका केही शैक्षिक संस्थाहरूले पनि सूचना प्रविधिको प्रयोग गर्दै पठनपाठन सुचारु गरिरहेका छन्।

विद्यालयले अनलाइन ‘सफ्टवेयर’का माध्यमबाट कक्षा सञ्चालन गरे पनि यसको प्रभावकारिताका बारेमा भने  प्रश्न उठ्ने गरेको छ।

प्रत्यक्ष रूपमा शैक्षिक संस्था बन्द भएपछि अधिकांश विद्यार्थी इन्टरनेटको पहुँच नभएको गाउँमा छन्।

सहर केन्द्रित शैक्षिक संस्थामा बाहेक अन्यत्र अनलाइन पढाई सम्भव देखिएको छैन। सहर बजारकै सबै सामुदायिक तथा निजी विद्यालयमा समेत इन्टरनेट जडान गरिएको छैन।

विभिन्न समस्याका कारण ग्रामीण भेगमा अनलाइन कक्षाको प्रभावकारिता नभएपछि अन्य वैकल्पिक माध्यमद्वारा शिक्षण गरिएको सामुदायिक विद्यालय महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष गोविन्द कोइरालाले बताए ।

‘ग्रामीण क्षेत्रमा अनलाइन कक्षाको पहुँच छैन, अनलाइन कक्षाका लागि स्रोत साधन र इन्टरनेटको समस्या छ’, उनले भने ‘अनलाइन कक्षा महँगो पनि छ र त्यस्ता ठाउँमा स्थानीय तह तथा अन्य गैरसरकारी सङ्घ संस्थाहरूको सहकार्यमा रेडियो, घुम्ती सिकाई, घरदैलो सामूहिक जस्ता सिकाइहरू लागु गरिएका छन्।’

सामुदायिक विद्यालय महासङ्घ कर्णाली प्रदेशको तथ्याङ्कअनुसार कर्णालीमा ४५ प्रतिशत विद्यार्थीले कुनै पनि माध्यमबाट पढेका छैनन्। १० प्रतिशतले मात्र  अनलाइन कक्षा लिएका छन्। ५ प्रतिशतले टेलिभिजन, ३ प्रतिशतले रेडियो, १३ प्रतिशतले घरदैलो, ७ प्रतिशतले सामूहिक सिकाई ८ प्रतिशतले घुम्ती शिक्षा र २४ प्रतिशत विद्यार्थीले स्वअध्ययन गरेका छन्।

यस्तै कर्णालीका अधिकांश निजी विद्यालयहरूले अनलाइन कक्षाबाट अध्यापन गराइरहेको प्याब्सन कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले जानकारी दिए।

‘कर्णालीका केही निजी विद्यालयले अनलाइन कक्षाबाटै दैनिक पठनपाठन गरिरहेका छन्, भने केहीले अझै गर्न सकेका छैनन्’, उनले भने, ‘कर्णालीका अधिकांश जिल्लामा इन्टरनेटको पहुँच छैन जसले गर्दा थोरै विद्यार्थीले मात्र कक्षा लिन पाएका छन्।’

प्रदेशको राजधानी सुर्खेतमै पनि इन्टरनेट र विद्युत् नियमित नहुँदा धेरै विद्यार्थी अनलाइन कक्षा लिनबाट वञ्चित छन् । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०१९/२०२० मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार कर्णालीमा बाल विकास देखि कक्षा १२ सम्म अध्ययन गर्ने १० लाख ४६ हजार १२५ जना विद्यार्थी रहेका छन्।

अनलाइन कक्षा लिन खर्चिलो र यसले गर्दा विद्यार्थीबीचमा विभेद पनि बढाएको वीरेन्द्रनगर–४ की खगीसरा वलीको गुनासो छ।

‘एउटै घरमा दुई तीन जना विद्यार्थी हुन्छन् सबैको हातमा मोबाइल या ल्यापटप चाहियो, बत्ति पनि गइरहन्छ इन्भर्टर चाहियो अनि सामान्य अभिभावकका लागि यो असम्भव हुन्छ।’, उनले भनिन्।

विद्यालयले परीक्षा नलिई आन्तरिक मूल्याङ्कन गरेर नम्बर हाल्दा ट्यालेन्ट विद्यार्थीहरूलाई अन्याय भएको उनको भनाई छ।

विद्यालय बन्द हुँदा विशेष गरी हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट र जाजरकोटका विद्यार्थीहरूको पढाई प्रत्यक्षरुपमा प्रभाव परेको छ।

भदौ ४, २०७८ शुक्रबार ०७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।