हराएकी छोरीमैयाँ न्युरोडदेखि भारत हुँदै जापानसम्म देखिएका ती हल्ला
भोलिपल्ट बिहान ८ बजे घरबाट निस्किएकी छोरीमैयाँले साढे ८ बजे घरमा छोरीलाई फोन गरेर निकीकहाँ जान लागेको, उनी घरमा छ कि छैन सोधिदेऊ भनी बानेश्वरबाट फोन गरेकी थिइन्।
दिनको साढे १ बजेसम्म उनको मोबाइल नयाँ बानेश्वर (जहाँ निकीको घर छ) मा लोकेट हुन्छ। यो बीचमा छोरीमैयाँको परिवारले पटक-पटक उनको मोबाइलमा फोन गरेको देखिन्छ। फोन उठ्छ पनि तर आवाज आउँदैन।
एकै पटक साँझ ७ बजेर ५३ मिनेटमा ‘म मनकामनामा छु’ लेखिएको मेसेज छोरीको मोबाइलमा आउँछ। जसको लोकेसन ट्रेस हुन सकेको छैन। छोरीमैयाँलाई अङ्ग्रेजीमा टाइप गरी मेसेज लेख्न नआउने भएकोले त्यो अर्कै व्यक्तिले पठाएको हुनुपर्ने परिवारको दावी छ।
दिउँसो साढे १ बजेदेखि साँझ लगभग ८ बजेको अवधिको साढे सात घण्टा समय उनी कहाँ थिइन्? यसको जवाफ छैन।
उनी हराएपछि यसबारे विभिन्न हल्ला भने भएका छन्।
न्युरोडमा देखिएको हल्ला
छोरीमैयाँ हराएपछि धेरै ठाउँमा देखिएको हल्ला फैलियो। केही हल्ला हल्लैमा सीमित भए पनि न्युरोडतिर देखिएको विषयमा भने कानुनी कागजपत्रमा समेत उल्लेख छ।
२०६९ साल साउन १६ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बालकृष्ण उप्रेतीको इजलासमा भएको श्रीराम डंगोलको बकपत्र र त्यसमा अधिवक्ताहरुले गरेको सोधपुछ रोचक छ।
श्रीराम निकीका तर्फबाट साक्षीका रुपमा अदालत पुगेका थिए।
सुरुमा निकीका वकिल हंसराज उप्रेतीले गरेको सोधपुछमा उनी भन्छन्, ‘निकी सिंह एक जना इमान्दार व्यक्ति हो…, उहाँको घरायसी जीवन धेरै राम्रो छ। उहाँका श्रीमान् लिङ्कन स्कुलमा काम गर्नुहुन्छ। उहाँलाई नपुग केही पनि छैन। उहाँको पारिवारिक तथा आर्थिक स्थिति राम्रो छ।’
उनी थप्छन्, ‘उहाँ (निकी) एकदम सोझो हुनुहुन्छ, सोझो मान्छेलाई चाहिँ प्रायःजसो आरोप लगाइन्छ।’
अधिवक्ता हंसराजले आरोप झुट्टा हो कि सही हो, यसबारे कहीँ कतै बयान गर्नुभएको छ कि छैन भनेर सोध्दा श्रीराम डंगोल जवाफ दिन्छन्, ‘यो सरासर झुट्टा हो। योभन्दा पहिला मैले हनुमानढोकामा बयान दिइसकेको छु। मैले हनुमानढोकामा बयान दिएको यसै फाइलमा समावेश गरिएको छ।’
अब छोरीमैयाँ परिवारका तर्फबाट बहस गर्ने पालो आउँछ। यो सरकारवादी मुद्दा भएकोले काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता पदमबहादुर कार्कीले जिरहका क्रममा सोध्छन्- हराएको दिन अर्थात् २०६८ फागुन १६ गतेका दिन बिहान ८ बजेदेखि रातको ८ बजेसम्म तपाईँ कहाँ हुनहुन्थ्यो?
यसैको जवाफ दिने क्रममा श्रीराम डंगोल भन्छन्, ‘सोही दिन करिब साढे ५ देखि ६ बजेको बीचमा न्युरोडको ओमबहाल आउने ठाउँमा देखेको थिएँ।’
पालो आउँछ छोरीमैयाँको परिवारका वकिल रामबहादुर खड्काको।
उनको पहिलो प्रश्न नै कडा हुन्छ- तपाईँले हनुमानढोकामा बयान दिएको कुरा फायलमा समावेश गरिएको छ भन्नुभयो। कुन मितिको हो, खुलाइदिनूस्।
‘हनुमानढोकाले बयानका लागि बोलाएको थियो, हाल मिति सम्झिन सकिनँ। मितिको लागि उक्त फाइल नै हेर्न सकिन्छ,’ भन्ने श्रीरामको जवाफ हुन्छ।
अनि वकिलले सचेत गराउँछन्, ‘तपाईँले उल्लेख गरेको उक्त कागज सक्कल मिसिलमा देखिँदैन। यसरी नभएको लिखत कागज प्रहरीमा भएको छ भन्ने, उक्त कागज फाइलमा छ भनी झुठा एवं बनावटी बकपत्र गरेमा कानुन बमोजिम सजाय हुनसक्छ भन्ने व्यहोरा तपाईँलाई थाहा छ कि छैन?’
#ChhoriMaiyaKhai शृंखला- ९ सुन्नुस्
वकिल रामबहादुर खड्काले निरन्तर प्रश्न गर्दै जान्छन्। त्यसमा श्रीराम डंगोलले सन्तुष्ट पार्ने जवाफ दिन सक्दैनन्।
वकिल : छोरीमैयाँ अपहरणमा परेको कति समयपछि थाहा भयो?
श्रीराम : दुई दिनपछि पसलमा मासु किन्न जाँदा पत्रिकामा हराएको खबर छापिएको देखेर थाहा पाएँ।
वकिल : कुन पत्रिकामा देखेर थाहा पाउनु भएको? सूचनाको रुपमा कि खबरको रुपमा?
श्रीराम : पत्रिकाको दोस्रो पेजमा खबरको रुपमा थियो, पत्रिकाको नाम बिर्सेँ।
वकिल : थाहा पाएपछि छिमेकी भएकोले छोरीमैयाँको घरमा गई घरपरिवारसँग भेटेर तत्काल आवश्यक पहल, सहयोग केही गर्नुभयो कि भएन?
उनले त्यो पनि गरेका हुन्नन्।
वकिल : छोरीमैयाँलाई हराएकै दिन न्युरोडमा भेटेको कुरा प्रहरीलाई कति दिनपछि खबर गर्नुभएको हो?
श्रीराम : कति दिनपछि भनेको मलाई थाहा भएन।
वकिल : समय यकिन नभए सुरक्षा (निकी) सिंहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको अवस्था थियो कि थिएन?
श्रीराम : कति समय पछाडि भन्ने कुरा थाहा भएन। त्यतिबेला प्रहरीले पक्राउ गरिसकेको थियो।
वकिल : प्रतिवादी (निकी) दिदी पर्छ भन्नुभयो, कुन नाताबाट दिदी पर्छ?
श्रीराम : फुपूकी छोरी हुन्।
वकिल: साँझ साढे ५/६ बजेतिर न्युरोड ओमबहाल छिर्ने ठाउँनेर भेटेको कुरा दिदी निकी पक्राउ पर्नुअघि भन्नुभएको थियो कि थिएन?
श्रीराम : भनेको थिइनँ।
वकिल : पक्राउ परेपछि प्रतिवादी (निकी)लाई भन्नुभएको थियो त?
श्रीराम : हनुमानढोकाभित्र भएकोले भेटै भएन, कसरी भन्नु!
अर्थात् न्युरोडमा छोरीमैयाँ देखिएको भन्ने एक जनाको मात्र दावी रह्यो, त्यो पनि निकीकै भाइ नाता पर्ने आफन्तको। यसको पुष्टि अरु कसैबाट भएको देखिएन।
जापानमा देखिएको हल्ला
‘छोरीमैयाँ त जापानमा देखिइन् रे नि!’
यस्तो हल्ला सन् २०१२/१३ मा भएको ‘अकुपाई बालुवाटार’ आन्दोलनका क्रममा सुनिएको हो। साउदी अरबबाट फर्किएकी एक महिलालाई गेष्टहाउसमा लगेर अध्यागमनका कर्मचारीले बलात्कार गरेको घटनाबाट उठेको आन्दोलन दण्डहिनता र लैङ्गिक हिंसाका अरु मुद्दामा पनि जोडिन पुगेको थियो।
र, यही आन्दोलनमा मिसिन पुगेको थियो, छोरीमैयाँको परिवार पनि।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुरु भएर तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष हुँदासम्म एक सय दिनभन्दा बढी चलेको थियो ‘अकुपाई बालुवाटार।’
यही आन्दोलनका क्रममा महिला/मानवअधिकारवादी भनिएकाहरुको मुखबाटै उनी जापानमा देखिएको भन्ने हल्ला फैलाइएको बताउँछन् त्यतिबेलाका केही अभियन्ताहरु।
जापानमा देखिएको भनेर फैलाइएको हल्ला पनि ‘रे’मा मात्र सीमित छ, यसको कुनै ठोस आधार खुलेन।
बरु, अनुसन्धानका लागि यो केसको फाइल सिआइबी (केन्द्रीय अनुसन्धान ब्युरो) पुगेपछि अन्तर्राष्ट्रिय रुपमा छोरीमैयाँको खोजी गर्न प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलबाट २०१२ को अगस्ट १६ तारिखदेखि यल्लो नोटिस जारी गरिएको छ।
अपहरण वा कारण पत्ता नलगाई हराइरहेका मानिसहरु खोज्नका लागि आफ्ना सदस्य रहेका विश्वभरका प्रहरी संगठनलाई अलर्ट गर्न इन्टरपोलले यल्लो नोटिस निकाल्छ।
मुजफ्फरपुरको हल्ला
२०६८ सालदेखि २०७७ सालसम्म छोरीमैयाँ देखिएको बारे ‘रे’ भन्दै विभिन्न हल्ला भए। तीमध्ये तेस्रो हल्ला हो- उनी भारतको मुजफ्फरपुरमा देखिएको।
मुजफ्फरपुर भारतको विहार राज्यमा पर्ने घना बस्ती भएको ठूलो सहर हो। सीमावर्ती सहर जनकपुरबाट १ सय १० किलोमिटर र वीरगञ्जबाट १ सय ४४ किलोमिटर पार गरे यहाँ पुग्न सकिन्छ।
यहीँ छोरीमैयाँ छिन् भन्ने हल्ला फैलिएको थियो।
हल्लाको स्रोत खोज्दा खेलकुद परिषद्मा गएर ठोक्किन्छ। नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले छोरीमैयाँलाई मुजफ्फरनगरमा भेट्यो रे भन्ने हल्ला खेलकुद क्षेत्रमा फैलिएको थियो।
तर, भेटेको देख्ने कोही छैनन्।
रामजीबहादुर श्रेष्ठ दीपक मल्होत्राका ज्वाइँ हुन्।
ब्याडमिन्टन संघको आसन्न निर्वाचनका लागि यो हल्लाको प्रोपागन्डा गरिएको हो कि भनेर खेल क्षेत्रकै पदाधिकारीहरु शंका भने गर्छन्।
यसबारे रामजीबहादुर श्रेष्ठसँग प्रतिक्रिया लिने हाम्रो प्रयास सफल नभएपछि हामीले केही खेल पत्रकारमार्फत उनीसँग सोध्ने प्रयास गर्यौँ। तर उनी ‘खेल बाहेकको कुरा गर्दिनँ’ भन्दै पन्छिए।
छोरीमैयाँ भारतमा भएको हल्ला योभन्दा अघि पनि फैलिएको थियो।
एम्ब्रोइडरी गर्ने एक जना भारतीय छोरीमैयाँ हराएको बेला हराएको र उहीसँगै छोरीमैयाँ भारत ‘पोइल गएको रे’ भन्ने हल्लासमेत त्यतिबेला फैलिएको थियो।
छोरीमैयाँ खै श्रृंखला
दीपक मल्होत्राले गएको बिहीबार हामीसँग कुरा गर्दै त्यो प्रसंग यसरी उप्काए, ‘हाम्रो शंका के भने त्यतिबेला एउटा इन्डियन पनि हराएको थियो, एम्ब्रोइडरी गर्ने। हाम्रो शंका चाहिँ त्यो इन्डियामा गएको हुनुपर्छ भनेर म आफैं सिआइबीमा गएर, सिआइबीमा पनि मैले कहाँसम्म भनेँ भने तपाईँहरुको सञ्जाल प्रयोग गरेर इन्डियामा गएर खोजिदिने काम तपाईँहरु गरिदिनूस्। त्यसको लागि तपाईँहरुको बजेट अपुग हुन्छ, तपाईँहरुको बजेट निकासा गर्न गाह्रो हुन्छ भने त्यहाँ त्यो पनि म कन्ट्रिब्युट गरिदिन्छु। जसरी हुन्छ यहाँ फाइन्डआउट गर्नुपर्छ भन्ने कुरालाई मैले पनि निकै ‘इन्सिस्ट’ गरेको हो।'
के मल्होत्राले भने जस्तै ५१ वर्षकी छोरीमैयाँ कुनै परपुरुषसित निकट थिइन् त?
०००
‘छोरीमैयाँसँग करिब ४०/५० वर्षको किशोर नाम गरेको कालो नेवार जस्तो देखिने, गाई पाल्ने मानिस जस्तो देखिने, जंकी पाराको, नशालु आँखा भएको, कानमा मुन्द्री लगाएको, गालामा खत भएको मानिस मेरो घरमा ४/५ पटक आएको र मैले उनीहरुलाई चिया दिएपछि माथि कोठामा जाने गरेको….।’
अदालतमा पुगेको अभियोगपत्रमा रहेको बयान कागजमा सामेल नरहेको तर २०६८ फागुन २८ गते महानगरीय प्रहरी अपराध महाशाखामा एक जनाले यस्तो बयान गरेका छन्।
को हुन् ती ?
#ChhoriMaiyaKhai को आगामी अङ्कमा यसबारे जानकारी दिनेछौँ।
(प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा)
भदौ २, २०७८ बुधबार १७:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।