मनोज पण्डितको फिल्म 'एक' ले रोज्यो डिजिटल रिलिजको बाटो
छिमेकी देश भारतमा ओटिटी रिलिज सामान्य भए पनि नेपालका लागि भने मनोजको फिल्म नै नौलो प्रयोग हुनेछ। फिल्म एकको डिजिटल पोस्टर सार्वजनिक गर्दै दसैंको घटस्थापनामा फिल्म रिलिजको मिति सार्वजनिक गरिएको छ।
हरेक कुराको डिजिटल युग सुरु भएको भन्दै निर्देशक पण्डितले अब नेपाली फिल्मका लागि यसको विकल्प नभएको बताए। उनको भनाइमा डिजिटल रिलिज गरेर उनीहरुले रिक्स मोलेका हुन्।
‘अब हरेक कुराको डिजिटल युग सुरू भइसकेको छ। विश्वका धेरै ठूला सिनेमा उद्योगहरू पनि डिजिटल प्रमोशनमा गइसकेका छन्,’ निर्देशक पण्डित भन्छन्, ‘अब नेपाली सिनेमा क्षेत्रमा पनि यसको विकल्प छैन। कसै न कसैले त सुरुवात गर्नैपर्थ्यो। यो रिस्क चलचित्र ‘एक’ मार्फत हामीले लिएका छौं।’
एक फिल्म राजनीतिक षड्यन्त्र र बाह्य हस्तक्षेपको प्लटमा बुनिएको छ। यसको मुख्य भूमिकामा विशाल पोखरेल छन्। मधेशी राजनीतिमा केन्द्रित फिल्म स्पार्ड थ्रिलर विधाको छ। यसअघि ग्रेटर नेपाल, दासढुङ्गा, वधशाला जस्ता फिल्म बनाइसकेका पण्डितको यो सातौं फिल्म हो।
रिलिज भएको मोसन पोस्टरमा थियटर कलाकार प्रमोद अग्रहरिलाई पनि देख्न सकिन्छ।
भदौ २, २०७८ बुधबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।