सुदूरपश्चिम सरकारमा काँग्रेस तत्काल सामेल नहुने

सुदूरपश्चिम सरकारमा काँग्रेस तत्काल सामेल नहुने

धनगढी : नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस तत्काल सहभागी नहुने भएको छ।

माओवादीसँगै एमालेको माधव नेपाल समूहको को सहभागिता रहेको सरकारमा काँग्रेसले समर्थन गरे पनि तत्काल सरकारमा सहभागी नहुने सङ्केत गरेको हो।

एमाले दुई कित्तामा उभिएपछि सरकारमा पछिल्लो समय एमालेको माधव समूह मात्र सामेल छ । सरकारको नेतृत्व सुरुवाती चरणबाटै माओवादी केन्द्रले गरिरहेको छ । 

सङ्घीय सरकारको नेतृत्व काँग्रेसले गरिरहँदा सुदूरपश्चिम प्रदेशमा पनि नेपाली काँग्रेस सम्मिलित सरकार बनाउने गृहकार्य तीव्र पारिएको गठबन्धनमा सामेल दलका नेताहरूले बताएका छन्।  

‘केन्द्रमा भएको माओवादी केन्द्र,नेपाली काँग्रेस,नेकपा एमालेको माधव नेपाल पक्ष र जसपाबीचको राजनीतिक गठबन्धन अनुसार प्रदेश सरकारलाई हाम्रो नैतिक समर्थन छ’, नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भने, ‘केन्द्र सरकारको नेतृत्व हामीले गरिसकेपछि यहाँको गठबन्धनको सरकारलाई थप प्रभावकारी बनाउन  हाम्रो सहभागिताबारे छलफल भइरहेको छ ।’

‘भदौ पहिलो हप्ता सरकारको नेतृत्व गर्ने वा सहभागिता जनाउनेबारे टुङ्गो लाग्छ’,नेता रावलले भने, ‘सुदूरपश्चिममा नेकपा एमाले भित्रको माधव नेपाल पक्षलाई केन्द्रमा राखेर छलफल भइरहेको छ।’

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले नेतृत्व गरेको सरकारमा माधव समूहको स्पष्ट लाइन नभए सम्म नेपाली काँग्रेस सहभागी नहुने सांसद भरत खड्काले बताए । ‘सरकारमा सहभागी भए पनि माधव समूहले आफ्नो लाइन क्लियर गरेको छैन,एमालेमै रहन्छन् की अर्को पार्टी खोल्छन् भन्ने नै टुङ्गो छैन’,सांसद खड्काले भने,‘भीम रावल पनि पाटीको कुन पक्षतिर लाग्छन्,त्यसले पनि प्रदेश सरकारको समीकरणमा फरक पर्छ,हामी पर्ख र हेरको अवस्थामा छौँ।’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलले समीकरणका बारेमा केन्द्रमा छलफल जारी रहेको बताए । ‘प्रदेश सरकारको समीकरण कस्तो बन्ने त्यो बारेमा छलफल भइरहेको छ, नेकपा एमाले भित्रको किचलोले हाम्रो गठबन्धनभित्रै पनि अन्यौलता देखिएको छ।’, रावलले भने। 

सुदूरपश्चिम प्रदेश सभामा ५२ जना प्रदेशसभा सदस्य  छन्। सभामुख अर्जुन थापासहित २५ जना प्रदेशसभा सदस्य नेकपा एमालेका रहेका छन्। संसदमा ७ जना मात्रै केपी ओली पक्षका छन्।

माधव समूहमा देखिएका सबै सांसद भीम रावल निकट हुन्। भीम रावलले चाहेमा त्रिलोचन भट्ट नेतृत्वको सरकार ढल्न सक्छ। 

‘पार्टी एकता वा फुट्ने  टुङ्गो नलागेसम्म सुदूरपश्चिम सरकारको समीकरण परिवर्तन हुँदैन,संसदीय दलमा बहुमत छ’, नेकपा एमालेकी प्रमुख सचेतक दुर्गा विकले भनिन्,‘आफ्नै नेतृत्वमा सरकार बनाउन पनि सक्छ वा प्रतिपक्षमा बस्न पनि सक्छ।’ त्यसो भएन भने मौजुदा सरकारमा काँग्रेसलाई सहभागी गराएर सरकार हेरफेर पनि हुनसक्ने विकले बताइन्।

प्रदेश सभामा नेकपा एमालेका २४ सहित माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) नेपालका २ जना सदस्य  छन्।

भदौ १, २०७८ मंगलबार १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।