कोरोनाकालको पाठ : कलाकारले कमाउने दोस्रो बाटो बनाउनैपर्छ : दीपिका प्रसाईं

कोरोनाकालको पाठ : कलाकारले कमाउने दोस्रो बाटो बनाउनैपर्छ : दीपिका प्रसाईं

नायिका दीपिका प्रसाईं चलचित्र ‘तिमीसँग हुन मन छ’को तयारीमा छिन्। 'ऐश्वर्य' चलचित्रबाट डेब्यु गरेकी उनले 'छक्का पन्जा ३' मा नायिकाको रूपमा काम गरिन्। चलचित्र ऐश्वर्यका निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी उनले 'हेल्लो जिन्दगी' मा काम गरेकी छिन्।

चलचित्रमा आउनुअघि मोडलिङ र फोटो सुटमा व्यस्त दीपिका कोरोनाकालमा चलचित्र व्यवसाय सुस्ताएपछि रेस्टुरेन्ट व्यवसाय सुरु गर्न लागेकी छिन्। चलचित्रसँगै रेस्टुरेन्ट व्यवसाय सुरु गरेकी नायिका दीपिका प्रसाईंसँग उकेराकर्मी सिर्जना दुवाल श्रेष्ठले गरेको कुराकानी: 

समय कसरी बिताइरहनु भएको छ?

महामारीले कहिले बिदा लिन्छ र फेरि व्यस्त सेडुलको जीवनमा फर्किन सकिएला भन्ने प्रतीक्षामा छु। यसैबीचमा जीवनलाई बुझ्ने अवसर पनि मिल्यो। अब छिट्टै व्यवसायतिर पनि लाग्दै छु। 

कोरोनाले जीवनमा के-के पाठ सिकायो?

हामी एउटै गतिमा दौडिरहेका थियौँ। मेरै कुरा गर्दा चलचित्रमै व्यस्त भएर लाग्ने सोचमा काम गर्दै थिएँ। तर चलचित्र क्षेत्र त ठप्पै भयो। हलहरू बन्दाबन्दी छ, चलचित्र बन्ने कहिले हो, कहिले? बने पनि कसले हेर्ने। यस्तो समयले मलाई करिअरमा दौडँदा-दौडँदा सानो भए पनि आफ्नै  केही काम  हुनुपर्ने रहेछ भन्ने सोच आयो। 

लकडाउनको समयमा घरमै बस्नुपर्दाको अवस्था कस्तो रह्यो?

पहिलो लकडाउनमा चाहिँ धेरै नै इन्जोय गर्यौँ। बीचमा लकडाउन खुलेपछि हाम्रो होम प्रोडक्सनको 'तिमीसँग हुन मन छ' चलचित्रको लागि तयारी गरेर लागेका थियौँ। फेरि लकडाउनले डामाडोल बनायो। त्यो समयमा अभिनय, नृत्यका  कक्षाहरू पनि लिएको थिएँ। फेरि बन्द भएपछि भने दिमाग नै रन्थनियो। म आफूलाई खान, बस्न केही समस्या थिएन, तर अरूलाई कति गाह्रो भयो होला भन्ने सोच आउन थालेपछि मन बलियो बन्दै गएँ। नत्र त यस्तो समयमा मानसिक रूपमा कमजोर बन्यो भने खत्तमै हुन्छ नि। मनमा सकेसम्म सकारात्मक सोचलाई मात्रै ल्याउने कोसिस गरेँ। मलाई मात्रै भएको होइन सारा संसार नै प्रभावित छ भनेर मनलाई मनाउन र रमाउन खोजेँ। 

डेढ वर्षको कोरोना र लकडाउनको अवसरमा पूरै फुर्सदिलो नै हुनुभयो?

म र श्रीमानको कमाइको स्रोत नै बन्द भएपछि फुर्सदिला भयौँ। एक पैसा नै कहीँबाट आउने बाटो नभएपछि साँच्चै हाम्रो आँखा खुल्यो। यो बन्दाबन्दी  कति लामो जाने हो ठेगान पनि छैन। सामान्य समयमा फर्किए पनि चलचित्र क्षेत्रले उस्तै रूप लिन त पक्कै समय लाग्ने नै देखियो। यही फुर्सदिलो समयले नै हामीलाई अरू पनि काम गर्नुपर्छ है भन्ने सोच पैदा गर्ने मद्दत गर्यो। 

केही गर्नुपर्छ भन्ने सोचले कुनै योजना बनाउनु भएको छ कि?

चलचित्रको काम केही नभए पछि कोरोनाकै कारण गैरीधारामा रेस्टुरेन्ट खोल्ने तयारीमा जुटेका छौँ। सबै काम हुँदैछ। भदौको अन्त्यतिर खोल्ने सोचमा छौँ। यदि यस्तो समय नआएको भए नियमित जीवन चलिरहेको भए सोच्न जरुरी पनि हुँदैनथ्यो। घरमै बस्दा दुवैको कमाइको आधार नै भएन। त्यही कारण कोरोनाले निम्त्याएको प्लान हो यो।

अरू पनि व्यवसायमा हात हाल्न सकिन्थ्यो? खानाको व्यवसायमै हात किन हाल्नुभयो?

सुरुमा बुटिक खोल्ने कि भन्ने सोच पनि आएको हो तर, कोरोनाकै कारण मान्छेमा लगाउनभन्दा खान चाहिँ खोज्ने प्रवृत्ति देखियो। साथमा मेरो श्रीमानलाई पनि कुकिङमा रुचि छ। त्यही भएर हाम्रो रोजाइ रेस्टुरेन्ट व्यवसायमा पर्यो।

आफूचाहिँ कतिको खानपिनमा रुचि राख्नु हुन्छ नि?

मलाई मिठो, टिपिकल स्वाद साह्रै मन पर्छ। साथमा नयाँ-नयाँ खानाको पनि पारखी छु। तर मलाई पकाउनमा चाहिँ खासै जाँगर चल्दैन। यस पटकको लकडाउनमा भने युट्युबमा हेरेर नयाँ नयाँ परिकारहरू बनाउने कोसिस गर्यौं, पकाएर र खुवाएर नै बढी समय बित्यो। 

तपाईँको रेस्टुरेन्टको विशेषता के हुनेछ ? जसले ग्राहकलाई आकर्षित गर्नसक्छ।

म धेरै जसो रेस्टुरेन्टहरूमा खान जाँदा खाएपछि बेखुसी भएर फर्किरहेको हुन्छु। भित्र छिर्दा त्यहाँको आउट लुकले प्रभाव पारेको हुन्छ तर जब अर्डरका खानाहरू आइपुग्छ, खाना सोचे जस्तो कमै पाउँछु। त्यसैले हामी हाम्रो रेस्टुरेन्टमा पहिलो प्राथमिकता खानालाई नै दिन्छौँ। साथमा हाम्रो रेस्टुरेन्ट भित्र छिरेपछि मानसिक रूपमा पनि फ्रेस होस् भन्ने चाहनाले डेकोरेसनमा पनि ध्यान दिइरहेका छौँ। 

कस्तो खानालाई बढी प्राथमिकता दिँदै हुनुहुन्छ?

नेपाली टिपिकल खानाहरू, परम्परागत स्वादलाई समावेश गर्दैछौं। 

कोभिडका कारण धेरै मानिस समस्यामा परेका छन्, कति सेलीब्रेटीले यस्तोमा सहयोग गर्ने गरेका छन्। तपाईंहरूको पनि केही छ की?

हुने र सक्नेले यस्तो समयमा सहयोग गर्नैपर्छ। भनिन्छ नि कमाइको ५ देखि १० प्रतिशत सहयोग गर्नुपर्छ। म पनि त्यही मान्यता राख्छु। हामीजस्तो कलाकारलाई लामो समय चलचित्र नबन्दा, हल नचल्दा धेरै नै मार परेको छ। कतिले चाहेर पनि सहयोग गर्न सकेका छैनन्। सक्नेहरूले गरिरहनुभएको छ। 

कलाकारहरूलाई केही सुझाव दिनुपर्यो भने के भन्नुहुन्छ?

म कलेज पढ्दादेखि नै सानो भए पनि आफ्नै काम हुनुपर्छ भन्ने मान्यता राख्थेँ। यदि हामी कलाकारहरूको आम्दानीको अर्को स्रोत पनि थियो भने भार अलि कम हुन्थ्यो। हाम्रो क्षेत्र यति प्रभावित छ कि, डेढ वर्षदेखि कमाइ नै छैन। केही अरू काम भएको भए हामी जिरो नै त हुँदैनथ्यौं। जागिर जस्तो मासिक तलब पनि आउँदैन, काम छ, कमाइ छ। काम छैन कमाइ जिरो। त्यसैले अरूले भन्दा हामी कलाकारहरूले चाहिँ आफ्नै दोस्रो आय आर्जनको बाटो पनि बनाउनैपर्ने रहेछ। अहिले नै सोचौँ त, सबैभन्दा बढी प्रभावित क्षेत्रमा हामी नै पर्छौं नि।

भदौ १, २०७८ मंगलबार ०७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।