नेपाली दर्शकको सिने-चेतना कहाँ छ ?
नेपाली रजतपटका कलाकर्मी मात्र होइन, कलाप्रेमीले समेत सधैं गुनासो गर्ने विषय हो- नेपालमा राम्रा चलचित्र नै बनेनन्।
राम्रा चलचित्रको मानक के हो त? कलाकर्मीको उत्तर हुन्छ, ‘पक्कै पनि विश्व सिनेमासँग जुध्नसक्ने चलचित्र।’ तर राम्रा चलचित्र बन्न राम्रा मेकर भएर मात्र हुँदैन, दर्शक पनि हुनुपर्छ। हाम्रो चलचित्र उद्योगमा त राम्रा मेकरकै पनि खडेरी छ।
निर्देशक नवीन सुब्बा भन्छन्, ‘हाम्रा दर्शकमा सिने चेत न्यून छ। सस्तो मनोरञ्जनलाई रुचाएको देखिन्छ नेपाली दर्शकले। हाम्रो उत्पादन भनेर गर्वका साथ देखाउन लाज हुने चलचित्रमा दर्शक झुम्मिएका छन् हामीकहाँ।’
त्यसो भए कस्ता दर्शकको आवश्यकता छ त राम्रा नेपाली चलचित्र बन्न? राम्रा मेकरहरुको उदय हुने अवस्था आउन के गर्नुपर्छ? निर्देशक सुब्बा भन्छन्, ‘दर्शक र मेकरमा सिने चेतना हुनुपर्छ।’
सुब्बाले भनेको सिने चेतना के हो? ‘अन्तर्राष्ट्रिय स्तरमा कहाँ कस्ता सिनेमा बनिरहेका छन्। ती सिनेमा किन बने, के का लागि बनाइए र ती सिनेमाले समाजलाई के दिए,’ सुब्बा भन्छन्, ‘त्यसको विश्लेषण गर्ने मेकर र दर्शक चाहियो। सिनेमा हेर्ने धैर्यता भएको दर्शक चाहियो। सिनेमालाई भूगोल र भाषाको सीमितताभित्र बाँध्ने दर्शक, मेकरभन्दा माथि उठेर सबैखाले चलचित्र हेर्ने धैर्यता भएको दर्शक, मेकर चाहियो।’
दर्शकमा सबैखाले सिनेमा हेर्ने लत हुँदा मेकरलाई पनि फरक स्वादका सिनेमा बनाउन हौसाला हुने सुब्बा बताउँछन्। उसो त विश्व सिनेमामा दबदबा कायम गरिरहेका जति पनि फिल्म उद्योग छन्, ती सबैको लामो इतिहास भएको र ती उद्योगका मेकर, दर्शक सबैले सिनेमा शिक्षा पाउनसक्ने अवस्था भएको कारण उनीहरुको स्तर राम्रो रहेको तर्क गर्छन् निर्देशक सुब्बा।
‘हामीले सिनेमा बनाउन पढ्नुपर्छ भन्दा मान्छेहरु हाँस्थे,’ सुब्बा भन्छन्, ‘विगत ८/१० वर्षबाट मात्र नेपालमा सिनेमा शिक्षा सुरु भएको छ। हामीले राम्रा दर्शक र मेकर पाउन अझै कम्तीमा पनि तीन/चार पुस्ताको समय खर्च गर्नुपर्छ।’
रुपान्तरणमा पनि बलिउडकै प्रभाव
नेपाली चलचित्रको इतिहासबाट बलिउडलाई पन्छाउने हो भने फितलो इतिहास पनि रित्तो देखिन्छ। किनकी नेपाली चलचित्र उद्योग आजसम्मको अवस्थामा आउनुमा बलिउडको भूमिका अहम् रह्यो। बलिउडले हलिउडबाट प्रभावित भएर सिनेमा इतिहास बनायो भने बलिउडबाट नेपाली सिनेमाको मानक बन्यो।
‘पहिलेको तुलनामा नेपाली चलचित्रमा बलिउडको प्रभाव केही कम छ,’ सुब्बा भन्छन्, ‘त्यसले नेपाली मेकरमा सिने चेतना बढेको देखाउँछ। उनीहरु बलिउडभन्दा फरक देखिने खालका सिनेमा बनाउन खोज्दैछन्। मैलिकताको खोजीको प्रसंग यहाँनेर आउँछ। जापानी, कोरियन सिनेमाको आफ्नै रङ छ। त्यस्तै नेपाली सिनेमा पनि अभ्यास गर्न खोज्छै छ। तर मेकर रुपान्तरण हुन खोजिरहँदा पनि दर्शक भने उही बलिउड शैलीकै चलचित्रलाई साथ दिइरहेका छन्।’
निर्देशक सुब्बाको तर्कमा सहमत छन्, अर्का निर्देशक दिपेन्द्र के खनाल। खनाल नेपाली दर्शकको स्वाद फेरिँदै गए पनि रुपान्तरित भएर बनाइएको सिनेमाको संख्या कम हुँदा दर्शकलाई झक्झकाइरहनसक्ने अवस्था नरहेको दावी गर्छन्। जसकारण वर्षमा एक दुई वटा बन्ने आफ्नैपनको चलचित्र ‘पिसाबको न्यानो’ जसरी बिलाउने गरेको खनाल बताउँछन्।
‘वर्षमा आफ्नोपनको एक/दुई चलचित्र बन्छन्। ती आउँदा चर्चा पाउँछन् र केही समयमा नै हराउँछन्,’ खनाल भन्छन्, ‘दर्शकलाई निरन्तर आफ्नोपन झल्किने चलचित्र देखाइरहन सकियो भने बल्ल उनीहरुको पनि मन जान्थ्यो होला। पाहुना आएजस्तो मात्र हुन्छ। अनि उनीहरु जे पाइन्छ त्यसमा नै होमिन्छन्। त्यसले गर्दा हाम्रो दर्शकको ऊर्जा सकारात्मकतातिर जान पाएन।’
निर्माताले पनि लगानी गर्दा नाफा हेरेर चलचित्र बनाउँछन्। जसका कारण फरक स्वादका चलचित्र बनाउन सहज नभएको खनालले उकेरासँग बताए।
‘नेपाली दर्शकलाई बलिउडको शैली, सूत्रात्मक चलचित्र नै निको लाग्छ’, खनाल भन्छन्, ‘उनीहरुले नयाँ किसिमका चलचित्र हेर्न, बुझ्न नै खोजेनन्, जे छ त्यसैमा रमाए। त्यसले पनि नेपाली चलचित्रलाई उकासिन केही बाधा गरिरहेको छ।’
नेपाली दर्शकको रोजाइ नै सस्तो मनोरञ्जन
नेपाल बाहिर रहेका ६० लाखभन्दा बढी नेपालीले पनि सिनेमा हेर्छन्। तर उनीहरुमा समेत सिने चेत न्यून रहेको निर्देशक सुब्बा दावी गर्छन्।
‘हङकङमा बस्ने नेपालीले त्यहाँको चलचित्र हेर्दैनन्। उनीहरू नेपाली सस्ता हाँस्य प्रहसनमा रमाउँछन्,’ सुब्बा भन्छन्, ‘विश्वभर ६० लाखभन्दा बढी नेपाली छन्। राम्रा देशमा पनि धेरै नेपाली छन्। त्यहाको सिनेमा उनीहरुको रोजाइमा छैन। यद त्यही ६० लाख दर्शकसँग मात्र पनि राम्रो सिने चेत हुथ्यो भने नेपाली मेकरले विश्व सिनेमालाई केन्द्रमा राखेर चलचित्र बनाउन कोसिस गर्थे।’ जसका कारण लगानी उठाउन सक्ने अवस्था बन्न जाने र लगानीकर्ताको आर्कषण बढ्न सक्ने सुब्बाको तर्क छ।
साथै, आफू बसेको स्थानको कला र साहित्यप्रति रुचि विकास नहुनुमा नेपाली चेतनाले काम गरेको उनी बताउँछन्। नेपाल बाहिर पनि नेपाली चेतनाबाट हाम्रा दर्शक उठ्न नसकेको सुब्बाको गुनासो छ।
नेपाली चलचित्रका दर्शकले भीडतन्त्रमा विश्वास राख्ने भएका कारण दर्शकको रोजाइ आफ्नो सुझबुझले निर्धारण नगर्ने बताउँछन् अर्का निर्देशक तथा समीक्षक मनोज पण्डित।
‘हाम्रो समाज बढो भावनात्मक छ। उनीहरु सस्तो प्रेमका कुरामा नै रमाइरहन्छन्। उनीहरुमा सिनेमाको शक्तिको हेक्का छैन,’ पण्डित भन्छन्, ‘दर्शक नै नभएपछि मेकरले बनाउन लगानी पाउँदैन। नयाँ शैली र स्वादका चलचित्र बन्न सक्दैनन्। अनि विश्व सिनेमासँग टक्कर गर्ने हिम्मत नै आउँदैन।’
प्रयोगात्मक भइरहन नसक्दा राम्रा नेपाली मेकरहरु मारमा परिरहेको उनको दावी छ। क्षणिक उत्तेजना पैदा गराउने खालका सिनेमा दर्शकको रोजाइमा पर्नुको कारण नेपाली राजनीतिमा भारतको प्रभाव परेजस्तै नेपाली चलचित्रमा बलिउड प्रभाव रहेको पण्डितले उकेरासँग बताए।
‘विश्लेषणात्मक, कलात्मक र मुद्दामाथि केन्द्रित चलचित्रले नेपाली दर्शकलाई तान्दैन,’ उनी भन्छन्, ‘क्षणिक उत्तेजना पैदा गराउने, प्रेम, हाँस्य लगायतका चलचित्र नै सकेसम्म हेर्न खोज्छन्। यस्ता सस्ता मनोरञ्जनका सामग्री हेर्ने बानी भएका दर्शकको ध्यान फेर्न सिनेमा के हो र कस्तो हुनुपर्छ भन्ने बुझाउन जरुरी छ।’
प्रविधिले ल्याएको एक्पोजर र नेपाली दर्शक
प्रविधिका कारण विश्व सिनेमामा नेपाली दर्शकको सिधै पहुँच पुगेको छ। तर विश्व सिनेमा हेर्ने नेपाली दर्शकले भने नेपाली सिनेमा उति हेर्दैनन्। कारण, सस्तो मनोरञ्जन मात्र होइन, कन्टेन्ट र गुणस्तर पनि भएको तर्क गर्छन् खनाल।
‘हामीसँग भएका दर्शकले सबैखाले फिल्म हेर्दैनन्। जसका कारण लगानीकर्ता डराउँछन्। लगानी नभएपछि गुण्स्तर, कन्टेन्ट लगायतको कुरा नै भएन,’ उनी भन्छन्, ‘विश्व सिनेमा हेर्ने हाम्रा दर्शक कम छन्। उनीहरुजस्तै प्रश्न गर्न जबसम्म सबै हाम्रा दर्शकले सक्दैनन्, तबसम्म अवस्था उस्तै रहन्छ। तर पनि दर्शकको सिनेमा हेर्ने धारणा विस्तारै फेरिँदै गएको छ। यो सुखद पक्ष हो।’
कोरोनाको समयमा डिजिटल माध्यममा धेरै नेपाली दर्शकले विश्व सिनेमामा नजर लगाउने समय पाएकाले दर्शकको धारण थोरै भए पनि बदलिएको छ कि भन्ने अनुमान गर्छन् खनाल।
खनालको जस्तो अनुमान अर्का निर्देशक विकासराज आचार्यको पनि छ। तर उनी दुई वर्षदेखि चलचित्र नै प्रदर्शनमा नआएकाले दर्शकको पछिल्लो मनोभावना के छ, यसै भन्न नसकिने बताउँछन्।
‘कोरोनाले गर्दा हाम्रो फिल्म ठप्प भयो तर दर्शक भने बढे,’ उनी भन्छन्, ‘नेपाली फिल्मका दर्शकको धारणा केही परिर्वतन भएको हुनसक्छ। तर नयाँ फिल्महरु नलागी त्यो अनुमान गर्न सकिँदैन। किनकी हाम्रा दर्शक सितिमिति आफ्नो स्वाद बदल्न चाहँदैनन्।’
नया चलचित्र प्रदर्शनमा आएपछि दर्शकको चेतनामा कतिको प्रभाव परेको छ भन्ने थाहा हुने भए तापनि समाजिक संरचना नै भावनात्मक रुपमा बहकिने भएको कारण उति प्रभाव नदेखिन सक्ने तर्क गर्छन्, अर्का निर्देशक मनोज पण्डित।
त्यस्तै निर्देशक सुब्बा सिनेमाका दर्शक यति छोटो समयमा नै असर देखिने गरी फेरिन्छन् भन्नेमा शंका व्यक्त गर्छन्।
‘तीन करोड जनसंख्या सिनेमाको लागि ठूलो हो। त्यसको थोरै मात्र प्रतिशत रेगुलर दर्शक हुने हो भने नेपाली चलचित्र गुणस्तर सहित बन्न सक्छन्,’ निर्देशक सुब्बा भन्छन्, ‘डिजिटल माध्यम हाम्रो लागि राम्रो अवसर हुनसक्छ विश्व सिनेमामा आफ्नो उपस्थिति जनाउन। तर समस्या, कन्टेन्टमा कसैले चलचित्र बनायो र डिजिटल माध्यममा राख्यो भने विदेशमा बस्ने नेपाली दर्शकले हेर्दैनन्। हलमा चलाए दर्शक जाँदै जाँदैनन्।’
एक त मेकरप्रति दर्शकको विश्वास नभएको र अर्को, उनीहरुको सिने चेतना बलिउडले निर्धारण गरिदिएकोले दर्शक, मेकर सबैसँग एक्पोजर हुँदाहुँदै पनि टुकीमुनिको अँध्यारो जस्तो बन्नुपर्ने नियति नेपाली चलचित्रले भोगिरहेको उनी बताउँछन्।
नेपाली चलचित्रको यो समस्या हटाउन आधारभूत तहबाटै सिने शिक्षा दिनुपर्ने सुब्बा बताउँछन्। उनका अनुसार डिजिटल माध्यममा होस् वा अन्य माध्यममा, जबसम्म आफ्ना दर्शकले सबैखाले सिनेमालाई स्वागत गर्दैनन्, कुनै परिर्वतन सम्भव नहुने सुब्बाको दावी छ।
‘बाहरतिर हेरौं न, इरानी सिनेमा अमेरिकामा पनि उत्तिकै चल्छन्। कोरियन फिल्म हलिउडमा पनि चल्छन्। युरोपियन फिल्म रसियामा पनि चल्छन्। जापानी फिल्म डेनमार्कमा पनि चल्छन्। फिल्म बनाउन लामो समय रोक भएको चाइनाको फिल्मले विश्व बजारमा टक्कर दिन्छ। उनीहरुले विश्व बजारलाई हेरेर बनाउँछन् र उनीहरुका दर्शक पनि सिनेमा बुझ्ने छन्,’ सुब्बा भन्छन्, ‘तर जे–जे भने पनि नेपाली दर्शकले सबैखाले सिनेमा हेर्ने बानी नबसालेसम्म हामीकहाँ राम्रा सिनेमा बन्न सहज वतावरण बन्दैन।’
भर्खर सिनेमा शिक्षाको लागि पाठ्यक्रम बन्दै गरेको देशमा दर्शकको सिनेमा हेर्ने धारणमा आमुल परिर्वतन आउन अझै लामो बाटो हामी हिँड्नुपर्ने उनी बताउँछन्।
‘आजका दिनमा भइरहेका केही राम्रा मेकरमा राम्रा फिल्मलाई प्रोत्साहन गरिरहनुपर्छ। तीनै मेकरले दर्शकलाई झक्झकाइरहन्छन्’ सुब्बा भन्छन्, ‘दुई–चार पुस्तासम्म दर्शकलाई झक्झकाउने कामले निरन्तरता पायो भने दर्शकले प्रश्न गर्ने हौसियत बनाउँछन्। प्रश्नले राम्रा मेकर जन्माउँछ। राम्रो सिनेमा जन्माउँछ। राम्रा दर्शक जन्मनु भनेको सिनेमा राम्रो बन्नु हो।’
निरन्तरता र अध्ययनमा विश्वास राखेर कलाकर्मीले काम गर्नुपर्ने सुब्बाको तर्क छ। उनी भन्छन्, ‘दर्शकले मेकर जन्माउनेभन्दा पनि मेकरले दर्शक जन्माउनुपर्ने अवस्था छ।’
साउन ३२, २०७८ सोमबार १४:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।