माफी शिरोमणि द्वारिकलाल चौधरी
इटहरी : बारम्बार गल्ती गर्दै माफी माग्दै चर्चामा आइरहेका छन् इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी। निर्वाचित भएदेखि नै विवादमा आइरहने उनी माफी मागेर उन्मुत्तीको बाटो रोजिरहेका छन्।
साउन २८ गते बुधकार इटहरी ४ का स्थानीय यामप्रसाद ढकाललाई कार्यकक्षमा बोलाएर थुनेको घटना पछि उनी विरुद्ध आन्दोलन सुरु भयो। नेपाली कांग्रेस इटहरीले मेयर चौधरीले अमानवीय व्यवहार गरेको भन्दै सच्चिएर आउन दबाब दियो।
शुक्रबार कांग्रेससँगको छलफल पछि आफू गल्ती सच्चाउन तयार भएको भन्दै मेयर चौधरीले माफी मागे। ४ बुँदे सहमति गरेर उनले आगामी दिनमा पुरानो व्यवहार नदोहोर्याउने र सार्वजनिक जग्गा खोज्दा कानुनी प्रक्रिया अवलम्बन गर्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि पनि मेयर चौधरीले पटक पटक माफी माग्दै आएका थिए। कतिपय अवस्थामा मेयरले गल्ती गरेको भन्दै उपमेयरले समेत माफी मागेकी छिन्।
२०७६ साल जेठ ८ गते प्रश्न सोध्ने क्रममा पत्रकार कृष्णबहाव भट्टराई र विकल रेग्मीमाथि मेयर चौधरीले दुर्व्यवहार गरे। पत्रकार बहावलाई लोपारेको भिडियो त्यसबेला भाइरल भयो।
पत्रकारमाथिको हातपातपछि मेयर इटहरी छोडेर बाहिर गए। सो घटनाको तत्कालीन नेकपा भित्र चर्को विरोध भयो। पत्रकार महासङ्घले आपत्ति जनाएपछि चौधरीले विज्ञप्ति जारी गरेर माफी मागे। आफूले गल्ती गरेको स्वीकार गर्दै उनले प्रेस स्वतन्त्रताप्रति सदैव सम्मान रहेको बताए।
त्यसको दुई हप्ता पनि बित्न नपाउँदै अर्का पत्रकार विराट अनुपममाथि खनिए मेयर चौधरी। नाकको हड्डी भाँच्न एक करोड छुट्टाएको भन्दै धम्की दिए।
एउटा घडेरी नै छुट्टाएर नाक भाँच्ने उनको धम्की पछि उनी भाइरल भए। ‘आफ्नो ज्यानको सुरक्षा गर, सुपारी दिएर मान्छे परिचालन गरिसकेको छु’ भन्दै तर्साउन खोजे। त्यसपछि उनी काठमाडौँमा पुगे। विभिन्न अनलाइन र टिभीमा अन्तर्वार्ता दिएका उनले पत्रकार अनुपमको नामै किटेर कालो मोसो दलेर घुमाउने चेतावनी दिए।
उनको धम्की र चेतावनी ५ दिन पनि टिकेन। आफूले गलत मनसायले नभनेको भन्दै पुनः गल्ती स्वीकार गर्दै माफी मागे। विज्ञप्ति मार्फत उनले पत्रकार जगतको सहयोगबिना इटहरीको विकास असम्भव हुने दोहोर्याए। आफू सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनले प्रस्ट पारे। त्यसपछि पनि चौधरीको अराजक व्यवहार भने रोकिएन।
बारम्बार पत्रकारहरूप्रति नकारात्मक टिप्पणी गरिरहे। भ्रष्टाचारविरुद्ध कदम चालेको भन्दै इटहरीमा उनको पक्षमा माहौल बन्यो। २०७६ असार २ गते मेयर चौधरीको नागरिक अभिनन्दन नै भयो।
त्यस लगत्तै असार ४ गते १६ र १७ नम्बर वडा कार्यालयले सामाजिक विकृतिविरुद्ध कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमको प्रमुख अतिथि रहेका मेयरले आफू हतारमा रहेको भन्दै चाडै भाषण गर्न दिनुपर्ने माग राखे। सोही अनुसार उनले भाषण सुरु गरे।
महिला प्रति अपमानित शब्द प्रयोग गरेका मेयर चौधरीको मञ्च र दर्शकदिर्घामा उपस्थित कसैले पनि प्रतिवाद गर्न सकेनन्। किनकि उनको भर्खरै अभिनन्दन भएको थियो।
प्रदेश १ प्रदेश सभामा डामेर छाडेको साडे भन्दै सांसद बिन्दिया कार्कीले कारबाहीको माग राखिन्। इटहरी उपमहानगरपालिकाको महिला सञ्जालले विज्ञप्ति नै जारी गरी मेयर चौधरीको अभिव्यक्तिले सम्पूर्ण महिलाको शिर ठाडो नहुने अवस्था सिर्जना भएको बतायो।
आलोचना बढ्दै गएपछि दबाबमा परेर असार ६ गते चौधरीले माफी मागे। असार ४ गतेको कार्यक्रममा आफूले बोलेका केही शब्द आपत्तिजनक रहेकाले देश विदेशमा भएका महिलामा चोट पुग्न गएको भन्दै उनले क्षमायाचना गरे। आफ्नो मनसाय गलत नभए पनि शब्द गलत भएको विज्ञप्ति मार्फत उनले स्वीकार गरे।
दबाब नपुगेका कतिपय घटनामा भने उनले माफी माग्नु परेको छैन। कर्मचारीमाथि हातपात गरेको देखी विना सूचना पसल बन्द गराएको विषयमा उनले कुनै प्रतिक्रिया जनाएनन्। मेयर चौधरीले गलत कार्य गर्ने र माफी माग्दै इटहरी उपमहानगरपालिकामा नयाँ नजिर स्थापित गरेका छन्।
साउन ३०, २०७८ शनिबार ०९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।