‘मेरो कुरा नबुझ्नु समाजको दोष हो’

‘मेरो कुरा नबुझ्नु समाजको दोष हो’

काठमाडौं : पछिल्लो समय चर्चामा रहेका गायक हुन् प्रकाश सपुत। उनले हालै बजारमा ल्याएको ‘कुरा बुझ्नु पर्च’ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

गीतमा नयाँ प्रयोग गर्न रुचाउने सपुतको यो गीत पनि विगतमा जस्तै विवादरहित भने रहन सकेन। महिला सशक्तीकरणको कथा प्रस्तुत गर्न खोजिएको भनिएको उक्त गीतमा महिलालाई नै कमजोर रूपमा प्रदर्शन गरिएको सपुतलाई आरोप छ। लोक गायनको क्षेत्रमा अलग्गै पहिचान बनाएका  सर्जक सपुतसँग उकेराकर्मी ईश्वरकुमार मैनालीले उनको सृजनामा आधारित रहेर गरेको कुराकानी।

‘कुरा बुझ्नु पर्च’ तीज गीत भनेर चर्चामा छ। के यो तीज गीत नै हो?

तीजको सन्दर्भमा निकालिएको गीत हो। गीतमा हाम्रो समाजका महिलाको वर्तमान अवस्थालाई चित्रण गर्न खोजेको हुँ। पुरातन हिसाबले हेर्ने हो भने यो तीज गीत होइन भन्न सकिएला। हामीले पनि तीज गीत नै भनेका छैनौँ। तीजको सन्दर्भमा मात्र भनेका छौँ। उसो त तीजको परिवेशमा निकालिएका गीतहरू तीज गीत हुन् भन्न नमिल्ने नै भने होइन।

प्रकाश सपुत नेपाली सङ्गीतको एउटा ब्रान्ड भएकाले सपुतका  सृजना जस्तै भए पनि स्विकार्नै पर्ने हो? यो त भद्र विकृति जस्तो भएन र?

सिरियस विषयलाई रमाइलो तरिकाबाट सबैले ध्यान दिउन् भन्ने मनसायले बनाएका हौँ ‘कुरा बुझ्न पर्च’। ब्रान्ड भन्ने कुरा दर्शकलाई नै छाडेको छु। मैले देखेको भोगेको समाजको कथालाई मैले आफ्नो कलाकारितामा जोडेको मात्र हुँ। समाज परिवर्तनशील छ। म आफै पनि केही नयाँ र फरक गर्न खोज्ने मान्छे हुँ। मेरा सृजनामा प्रस्तुत भएका कुरा समाजका हुन्। समाजका कुरा देखाइरहँदा कतै कुनै पक्ष तलमाथि भएको हुन सक्छ। त्यसलाई म स्वीकार गर्छु। र समाजमा त्यस्तो नहोस् भन्ने मेरो चाहनाका साथ मैले मेरो कुरा प्रस्तुत गर्ने गरेका छु।

पछिल्लो समय सामाजिक विषय उठाइरहनु भएको छ,विशेष गरी महिला र परदेशीका विषय तपाईँको बढी रोजाइमा छन्। ती विषयलाई हतियारको रूपमा प्रयोग गरेर पेसागत फाइदा लिन खोज्नु भएको हो की त्यो आवश्यकता नै हो?

पहिलो कुरा म यही समाजको मान्छे हुँ। मलाई यो समाजको कुराले प्रभाव पार्छ। दोस्रो म कर्मसियल कलाकार हुँ। कलाकारिता मेरो पेसा हो। मेरो पेसालाई के गर्दा राम्रोसँग लान सक्छु त्यो हरेक कलाकारले सोच्ने विषय हो। मैले पनि त्यही नै गरेको हुँ। मैले मेरा सृजनामा मनोरञ्जनसँगै सन्देश दिने प्रयास गरेको छु। समाजको बोली बोलेको छु। त्यसलाई कसले के भन्छन् भन्दा पनि म आफ्नो पेसामा कति इमानदार भएर लागेको छु, त्यो मेरो लागि विशेष कुरा हो। समाजले, दर्शकले हेर्ने भनेको काम हो। म काम प्रति लगाव भएको मान्छे, काम गरिरहेको छु।

तपाईँको हरेक सृजना समाजले रुचायो तर, धेरै जसो सृजनामा धेरथोर विवाद आयो। समय नै त्यस्तै परेको की प्रकाश सपुतले चर्चामा आउन नै जानी बुझी गरेको हो?

मैले मेरो समाजको कथा भन्छु। समाजले मेरा सृजना बुझ्दैन भने यो मेरो दोष होइन, समाजको दोष हो। समाज नै त्यस्तै छ त म मेरो कलाकारितामा मैले बाँचेको समय देखाउँछु। फरक शैली अपनाउन खोज्छु। म कलाकार हुँ, म समाजमा चर्चामा आउने नै मेरो प्रस्तुतिले हो। समाजलाई आफ्नो अनुहार गीतको माध्यमबाट मैले प्रस्तुत गर्दा निको लाग्दैन त त्यो समाजको दोष हो। त्यसमाथि मेरो नियत त्यस्तो केही छैन। मलाई मेरो पेसामा इमानदारिताका साथ अघि बढ्नु छ। र, म त्यसकै अभ्यास गरिरहेको छु।

दोहोरीव्याटल, रुन्चे गीत हुँदै गलबन्दीसम्मको यात्रा गर्नु भयो। गलबन्दी लोक भाकाले तपाईँलाई विशिष्ट पहिचान दियो, त्यसपछिका सृजनाहरू समाजको ध्यान तान्ने खालका त भए तर तिनीहरूले तपाईँको सृजना विधा कुन भन्ने कुरामा दर्शक, श्रोतालाई अलमलाएन?

मसँग केही नयाँ गरौँ भन्ने हुटहुटी सधैँ छ। म गाउँले मान्छे हुँ। समाजमा देखेका सुनेका कुराबाट नै मेरा सृजना जन्मन्छन्। मलाई फरक फरक काम गर्न मन पर्छ। गरिरहेको पनि छु। त्यसैले त्यस्तो लाग्न सक्छ। तर, म लोक दोहोरी हुँदै लोक गीतमा आइपुगेको मान्छे हुँ। म आफूलाई लोक गायक प्रकाश सपुत भनेर नै चिनाउँछु। लोकको आवाज सुनेर आफ्नो कलाकारितामा बुन्ने कलाकार हुँ।

समाजमा जे जे विषय चर्चामा छ, त्यसमा सपुतका गीत आएका छन्। तर, सपुतको गीतको कारण समाजको मनोभाव बन्ने, समाजलाई मार्ग निर्देश गर्ने अवस्था चैँ किन आएन? तपाईँबाट यो अपेक्षा गर्नु नै न्यायोचित होइन की ?

मैले समाजको कथा मात्र भनिरहेकोले मबाट समाजले त्यो आशा राख्नु स्वाभाविक हो। मैले समाजलाई मेरा सृजनामा विवादमा आएका विकृति वा भनौँ समाजका समस्या देखाएर ती काम नगरौँ भन्न खोजेको हुन्छु। मेरा सृजनाका कारण नै समाजले आफ्नो धारणा बदल्ने सृजना मैले बनाउन नसकेको स्वीकार गर्छु। तर, यो समाजको कथा भन्ने काम भने म निरन्तर नै गरिरहन्छु।

निर्देशक, गायक, सङ्गीतकार, गीतकार, नायक, एकै मान्छे यति धेरै क्षेत्रमा प्रतिभा भएर नै हो की, आफ्नो समय चलिरहेको छ मौकाको फाइदा उठाऊँ भन्ने मनसाय हो?

मेरो रुचिको दायरा ठुलो छ। फराकिलो छ। मलाई कथा भन्न मन पर्छ। विभिन्न माध्यमबाट भन्छु। मलाई मैले जसरी जुन माध्यमबाट कामगरिहेको छु ती सबै कलाकारिताकै अङ्ग हुन् भन्ने लाग्छ। अनि अर्को कुरा समय सधैँ उस्तै रहँदैन। आफूलाई भन्न मन लागेका, सुनाउन मन लागेका, देखाउन मन लागेका कुराहरू समयमानै देखाऊँ भन्ने सबैलाई हुन्छ नै। मैले मेरो रुचि र मेरो पेसालाई इमानदारिताका साथ अघि बढाएको हुँ। व्यावसायिक कलाकार भएको नाताले समयलाई बुझ्नु पनि जरुरी हो जस्तो लाग्छ।

‘कुरा बुझ्नुपर्च’थेगोको निर्माण कसरी भयो? लोक सर्जकको एक शब्द(पर्च)ले नै मौलिकताको मानक बोकिदियो है?

बागलुङतिरको बोलीचालीमा प्रयोग हुने शब्द हो पर्च। मेरो काम नै शब्द बनाउने, सङ्गीत भर्ने र गाउने हो। कुनै समय मोबाइलको नोटमा ‘कुरा बुझ्नु पर्च’ भनेर टिपेको रहेछु। तीजको सन्दर्भमा गीत बनाउन खोज्दा भेटेँ। त्यसलाई नै प्रयोग गरियो। अनि महिला सशक्तीकरण र आधुनिक नारीको प्रतिबिम्ब देखाऊँ भन्ने थियो। त्यसैमा कथा बुन्दै शब्द गाँस्दै यो गीतको शब्द र भिडियोको कन्सेप्ट तयार भएको हो। सकभर मेरा रचनामा लोकका बोली, आवाज होस् भन्ने चैँ मेरो चाहना हो।

साउन ३०, २०७८ शनिबार ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।