सांसद चौधरीको शंका : सरकारलाई पूर्णता नदिनु कांग्रेस सिध्याउने खेल त होइन?
काठमाडौँ : नेपाली कांग्रेसका सांसदले तत्काल सरकारलाई पूर्णता दिन माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद पार्वता डिसी चौधरीले तत्काल सरकारलाई पूर्णता दिन माग गरेकी हुन्। कोरोना महामारीको विषम परिस्थितिमा सरकारले पूर्णता पाउन नसक्नु दुखको कुरा भएको बताइन्।
सांसद चौधरीले आजसम्म सरकारले पूर्णता पाउन नसक्नुमा सत्ता गठबन्धन दलका नेताहरूको दोष रहेको बताइन्।
‘नेपाली कांग्रेसका पार्टी सभापतिको नेतृत्वमा गठबन्धन सरकार बनेको पनि आज एक महिना पुरा भएको छ,’उनले भनिन्,‘तर, आजसम्म पनि यसले पूर्णता पाउन नसक्नुमा दोष उहाँहरूकै हो।’
उनले सरकारले पूर्णता नपाएको विषयलाई नेपाली जनताले हेरिरहेका भन्दै कसैले कसैलाई नछोड्ने बताइन। ‘नेपाली जनताले हेरिरहेका छन्, कसैले कसैलाई छोड्ने वाला छैन,’उनले भनिन्,‘नेपाली कांग्रेसलाई सिद्ध्याउने खेल त होइन कहीँ कतै? भन्ने पनि मलाई शंका लागिरहेको छ।’
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको छ। देउवाले आफू नेतृत्वको सरकारलाई ६ सदस्यीय मन्त्रिपरिषद्मा सीमित बनाएका छन्। सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय भागबन्डा समेत भएको छैन।
मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भनेर प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी एमालेसँगै सत्ता पक्षकै सांसदले प्रश्न गरेका हुन्।
यस्तै कांग्रेस सांसद डिला सङ्ग्रौलाले लन्डनमा आमरण अनसन बसिरहेका गोर्खा सैनिकहरूको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
संसद् बैठकमा उनले कूटनीतिक मध्यमद्वारा ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्ने पहल गर्न सरकारलाई आग्रह गरेकी हुन्।
साउन २९, २०७८ शुक्रबार १४:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।