मृत्यु जितेकी हर्सना जसले डुंगा पल्टिएपछि कर्णालीमा पौडिएर छोरालाई खोप लगाइन्
उक्त स्वास्थ्य चौकीमा चौकुने वडा नम्बर ४ का सेवाग्राहीसँगै कैलालीको माहोन्याल गाउँपालिका वडा नम्बर-३ राँगा मलेखाका नागरिकले समेत सेवा लिन्छन्।
साउन १७ गते बिहान आफ्नो चार महिनाको छोरालाई खोप लगाउनका लागि बिहानै तयार भइन्, कैलालीको माहेन्याल गाउँपालिका-३, राँगा मलेखाकी १८ वर्षीया हर्सना आले।
हतार-हतार रोटी खाइन्। केही रोटी दिउँसोको नास्ताका लागि झोलामा राखिन् र काखमा चार महिनाको छोरा र पिठ्यँमा झोला बोकेर उनी बिजौरा स्वास्थ्य चौकी आउन ८ बजे डुंगा चढ्न कर्णाली नदीमा पुगिन्।
पुल भएको स्थानमा पुग्न तीन घण्टा लाग्ने र खोप छुट्ने भएपछि डुंगाबाटै जाने निर्णयमा उनी पुगिन्।
हर्सनाले आफ्ना श्रीमान् दीपेन्द्र आलेलाई डुंगाबाटै तार्नका लागि आफूसँगै लिएर गइन्। हर्सनालाई नदी किनारमा पर्खेर बसेका थिए उनका साथीहरु। अघिल्लो दिन नै घाँस काट्न जाँदा हर्सना र उनका साथीहरुले सरसल्लाह गरेका थिए।
‘भोलि खोप लगाउन बिजौरा सँगै जाने, बजारबाट घरायसी सामग्री पनि किनेर ल्याउने’ भनेर १८ वर्षीया उर्मिला सलामी र २० वर्षीया पार्वती थापासँग हर्सनाको योजना बनेको थियो। उनीहरु तीनै जना मिल्ने साथी थिए। घाँस-दाउरा, मेलापात र अर्मपर्म पनि मिलीजुली गर्थे।
उर्मिलाकी एक महिनाकी छोरी थिइन् भने पार्वती पाँच महिनाकी गर्भवती थिइन्। दुई जना चालकसहित डुंगामा १० जना बसे। डुंगा पुरानो भएकोले बेला-बेला पानी भरिएर बाल्टीले फाल्नुपर्यो।
बर्खायाममा नदीको बहाव बढेकोले बीचबीचमा भेलले डुंगा हल्लाउन थाल्यो। सबै कराउन थाले। चालकले धैर्य भएर बस्न सुझाव दिए। बीचमा पुग्दा भेलले डुंगा पल्टाएपछि सबै जना नदीमा खसे।
पौडी खेल्न सक्नेहरुले नदी पार गरे। २० वर्षीया धनसरा सलामी गम्भीर घाइते भइन्। करिब एक घण्टामा नै धनसराको निधन भयो। उनको २४ दिनका छोरा छन्।
२४ गते उर्मिलाको शव चिसापानीमा भेटियो। उनकी एक महिनाकी छोरी र पाँच महिनाकी गर्भवती पार्वती थापा भने अझै बेपत्ता छन्।
हर्सना भने एउटा हातले बच्चा च्यापेर अर्को हातले पौडिएर आफू र बच्चाको ज्यान जोगाउन सफल भइन्।
दुर्घटनामा परी नदी पार गरेर बाँचेकी उनले आफ्नो छोराको खोप नछुटोस् भनेर चौकुने गाउँपालिका सुर्खेतको बिजौरा स्वास्थ्य चौकी पुगेर नियमित खोप पनि लगाइन्।
‘चार महिनाको छोरालाई खोप लगाउने भनेर सुर्खेतको बिजौरा जान डुंगामा बसेका थियौं, कर्णालीको भेलले डुंगा पल्टियो, कत्ति पनि हतार नगरी एक हातले बाबुलाई समातें, एक हातले पौडिएर दुवै आमा छोराको ज्यान जोगाएँ,’ हर्सनाले भनिन्, ‘खोप लगाउनकै लागि भनेर डुंगा चढेर जाँदै थियौं। आँखै अगाडि मेरा साथीहरु हराउनुभयो। डुंगा पल्टिएपछि पौडिएरै कर्णाली तरेर मैंले छोरालाई खोप लगाएँ।’
आफ्ना साथीहरु आँखै अगाडि हराउँदा मानसिक चिन्ता बढेकोे उनले बताइन्।
‘सँगै घाँस-दाउरा, मेला-पात गर्ने साथीहरु आँखा अगाडि हराउँदा मलाई धेरै पीडा भयो। रातदिन सम्झन्छु त्यो घटना। सम्झिँदा डर लागेर आउँछ,’ उनले भनिन्, ‘मलाई र बाबुलाई त भगवानले अर्को जुनि दिएका हुन्।’
बासस्थान कैलाली, सेवा सुर्खेतको
कैलालीको दुर्गम पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका राँगा मलेखा, चावा, ताम्चा, राक्साका नागरिक सामान्य किनमेलदेखि शिक्षा र उपचारसम्मका सेवा लिन सुर्खेतको चौकुने गाउँपालिका आउनुपर्ने बाध्यता छ।
आफ्नै गाउँपालिकाबाट सेवा लिन टाढा भएपछि सुर्खेतबाटै सेवा लिनुपर्ने उनीहरुको बाध्यता हो।
मोहन्याल गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय फल्लेबिसौनीमा छ। जहाँ पुग्न यहाँका नागरिकलाई दिनभर लाग्छ। तर त्यहाँबाट कर्णाली तरेर आधा घण्टामा चौकुने गाउँपालिकामा पुगिन्छ।
चौकुने आउनका लागि पुल पनि छ। तर पुल भएको स्थानसम्म पुग्न पनि करिब तीन–चार घण्टा लाग्ने गरेको स्थानीय दीपक आले बताउँछन्।
‘वडा कार्यालय पुग्न दिनभर पैदल हिँड्नुपर्छ। हाम्रै वडामा सेवा-सुविधा पाइने भए हामीलाई कर्णाली नदी तरेर अर्को जिल्ला जानुपर्ने थिएन,’ उनले भने, ‘घर नजिकै खोप लगाउने व्यवस्था भएको भए धनसरा, पार्वती, उर्मिला र प्राप्तीलाई किन गुमाउनुपर्थ्यो। यो बाध्यतामा हामीलाई कहिलेसम्म?।’
चुनावमा राँगा मलेखाका नागरिकलाई पुलको आश्वासन दिइन्छ। त्यही आश्वासनले दिनभर पैदल हिँडेर भोट दिन जाने गरे पनि जितिसकेपछि कोही फर्के नआएको उनको गुनासो छ।
स्वास्थ्य, शिक्षा, यातायात, विद्युत र खानेपानीको अभाव झेल्दै आएको यो ठाउँका युवाहरु भारत जाने गरेका छन्।
स्कुल बस होइन, डुंगा चढ्छन् विद्यार्थी
यहाँका सुत्केरी तथा गर्भवती मात्रै होइन, बालबालिका पनि कक्षा ६ देखि माथिल्लो तह पढ्नका लागि नियमित डुंगा चढेर चौकुने गाउँपालिका-४ बिजौरास्थित जगन्नाथ माध्यमिक विद्यालयमा धाउने गरेका छन्।
राँगा मलेखामा कर्णाली राष्ट्रिय प्राथमिक विद्यालय छ। कक्षा ५ भन्दा माथिल्लो तहको पढाइका लागि वडा नम्बर ६ सोल्टा पुग्नुपर्छ। तर त्योभन्दा नजिक बिजौरा पर्छ।
छोराछोरी कर्णालीपारिको जिल्ला सुर्खेतमा पढ्न जानुपर्ने बाध्यताका कसले बुझ्ला भन्ने चिन्तामा छन्, स्थानीय जयराम भुल।
छोराछोरी विद्यालय गएदेखि नफर्किंदासम्म कति बेला के हुने हो भन्ने चिन्ताले पिरोल्ने गरेको उनी बताउँछन्।
‘झोलुंगे पुलसम्म पुग्न तीन घण्टा समय लाग्छ, यहाँबाट सिधै डुंगा तरेर जाँदा आधा घण्टामा पुगिन्छ’, जयरामले भने, ‘छोराछोरी स्कुल जान लागेदेखि घर नफर्किंदासम्म उनीहरूकै चिन्ता लाग्छ। अन्य ठाउँका केटाकेटी स्कुल बसमा विद्यालय जान्छन्, हाम्रा छोराछोरी डुंगाबाट जान्छन्।’
साउन १७ गतेको घटनाले स्थानीय झनै चिन्तामा परेका छन्। राँगा मलेखाबाट ५० भन्दा बढी विद्यार्थी दैनिक डुंगा चढेर बिजौरा पढ्न आउने गरेका छन्।
साउन २८, २०७८ बिहीबार २०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।