छोरीमैयाँ बेपत्ता भएको त्यो दिन भएको के थियो ?
‘हेलो’, सुधा महर्जनले फोन उठाइन्।
‘निकीको घरमा जाँदैछु, एक चोटी आन्टीलाई फोन गरेर घरमा छिन् कि छैनन् सोधिदेऊ न’, छोरीमैयाँ महर्जनले छोरीलाई अह्राइन्।
परिवारले छोरीमैयाँको स्वर सुनेको यो नै अन्तिम भयो।
बिहान करिब ८ बजेतिर जैसिदेवलस्थित आफ्नो घरबाट बाहिरिएकी थिइन् छोरीमैयाँ। त्यसपछि उनी कहाँ छिन् अत्तोपत्तो छैन।
१६ फागुन २०६८, महर्जन परिवारले अहिलेसम्म भुल्न सकेको छैन यो मिति।
०००
चार वर्ष अगाडि अर्को १६ गते यो परिवारमा अर्को बज्रपात भएको थियो।
मिति थियो २०६४ भदौ १६ गते।
त्यो दिन काठमाडौँ अस्तव्यस्त र आतंकित थियो। र, यो परिवारका एक सदस्य त्यो दिन पनि घर फर्किएका थिएनन्।
बालाजु, सुन्धारा, त्रिपुरेश्वरमा लगभग एकै समयमा साँझ शृंखलावद्ध विस्फोट भयो। त्रिपुरेश्वरमा बस स्टप नजिकै भएको विस्फोटमा दुई छात्राको ज्यान गयो। एक दर्जन जति घाइते भए।
तीमध्ये एकको नाम थियो- सुशीला महर्जन। छोरीमैयाँकी माइली छोरी।
त्रिपुरेश्वरबाट सिधै अस्पताल पुर्याइएकी घाइते सुशीला स्वास्थ्यलाभ गरी ६ महिना पछि घर फर्किइन्। त्यसको चार वर्षपछि फागुन १६ गते निस्किएकी उनकी आमा छोरीमैयाँ भने एक दशकदेखि घर फर्किएकी छैनन्।
परिवारसँगै यस घटनामा चासो राख्नेले सोध्ने एउटै प्रश्न छ-आखिर त्यो दिन भएको के थियो?
यो प्रश्नको जवाफमा सबैको एकमत छैन। महर्जन परिवार, आरोपी निकी सिंह अनि श्यामकाजी श्रेष्ठ जसले छोरीमैयाँलाई घरदेखि टेकुसम्म पुर्याएका थिए, उनको समेत गरेर तीनथरी दावी देखिए।
अन्तिम पटक भेट्ने श्यामकाजी श्रेष्ठ
हराएको दिन छोरीमैयाँलाई देखेको दावी गर्ने अन्य पनि छन्। तर ती दावीहरु अहिलेसम्म पुष्टि हुन सकेका छैनन्। अहिलेसम्म पुष्टि भएअनुसार छोरीमैयाँ हराउनु अगाडि अन्तिम पटक देख्ने श्यामकाजी श्रेष्ठ नै हुन्।
श्यामकाजी छोरीमैयाँकी जेठी छोरी सुभद्राका कलेज पढ्दाताकाका साथी हुन्।
अनुसन्धान र मुद्दा प्रक्रियाका बयान तथा श्यामकाजीले खुलाएअनुसार निकीले खेलाउने ढुकुटीमा उनले छोरीमैयाँमार्फत किस्ता बुझाउने गर्थे।
छोरीमैयाँ हराउनुभन्दा एक दिनअघि राति श्यामकाजीलाई त्यही किस्ताका लागि छोरीमैयाँको फोन आएको थियो।
किस्ता किन नतिरेको भनेर रिसाए जस्तो गरेर फोन गरेपछि ‘अहिले राति भयो, भोलि बिहान बुझाउन ल्याउँछु’ भने श्यामकाजीले।
उनले बताएको घटना विवरण यस्तो छ-
२०६८ फागुन १६ गते बिहान साढे सात बजे म ढुकुटीको किस्ता बुझाउन जैसिदेवलस्थित घरमा पुगेँ। किस्तावापत् ८ हजार ५ सय रुपैयाँ दिएँ। आमा-बुबासँग बसेर चिया पनि खाएँ।
छोरीमैयाँ बाहिर जान लागेकी थिइन्। कहाँ जाने भनेर सोध्दा ज्ञानेश्वर/बानेश्वर जानुपर्ने भनिन्। अनि मैले बाटो पर्छ भनेर टेकुसम्म मोटरसाइकलमा लगेर छाडेँ।
प्रहरीमा, अदालतमा र सरकारले गठन गरेको छानविन समितिमा पनि उनले यही व्यहोरा खुलाएका छन्।
उनले जैसिदेवलबाट टेकुमा छोरीमैयाँलाई छाडे र त्यहाँबाट सानेपामा रहेको आफ्नो फर्निचर पसलतिर लागे।
त्यसपछि एकै पटक राति ७ बजे उनलाई साथी सुभद्राले ‘आमा अहिलेसम्म घर आउनु भएको छैन’ भन्दै आत्तिएर फोन गरेपछि मात्र उनले छोरीमैयाँबारे जानकारी पाएका थिए।
महर्जन परिवारको भनाइ
महर्जन परिवारका तर्फबाट जाहेरी दिने श्रीमान् शिवकृष्ण महर्जन, जेठी छोरी सुभद्रा र कान्छी छोरी सुधाले दिएका बयानहरुमा छोरीमैयाँ त्यो दिन घरबाट श्यामकाजीसँग गएकोसम्म कुरा मिल्छ।
त्यसपछिका घटनाक्रमबारे भने फरक-फरक दावी छन्।
सुधाका अनुसार घरबाट निस्केको १५/२० मिनेटमै ल्यान्डलाइनमा आमाको फोन आएको थियो। आमाले ‘निकी घरमा छ कि छैन सोधिदिनु’ भनेपछि सुधाले ल्यान्डलाइनबाटै निकीको मोबाइलमा फोन गरेकी थिइन्।
‘आमा आउँदै हुनुहुन्छ त्यहाँ, हजुर घरमै हो?’ उनले सोधिन्।
उताबाट निकीले ‘म आफैं आमालाई फोन गर्छु’ भनेर फोन राखिदिइन्।
यहाँ कसै-कसैले छोरीमैयाँ आफैंले निकीलाई फोन नगरी किन घरको ल्यान्डलाइनमा फोन गरेर निकीलाई फोन गरिदिनु भनिन् होला भन्ने पनि लाग्न सक्छ।
सुधाका अनुसार छोरीमैयाँ चार कक्षासम्म पढेकी त थिइन्। तर उनलाई नम्बर डायल गरेर फोन गर्न आउँदैनथ्यो। मोबाइल त बोक्थिन् तर कसैलाई सम्पर्क गर्न मोबाइलको स्पिड डायलमा ० देखि ९ सम्म आफूलाई चाहिने १० वटा नम्बर सेभ गराएकी थिइन्। त्यही नम्बरहरुमा थिचेर उनले आवश्यकता अनुसार फोन गर्थिन्। जस्तै १ डायल गरे घरको ल्यान्डलाइन, अरु नम्बरहरुमा छोरीहरु, श्रीमान्, मामाघर, मामाहरु यस्तै थियो।
निकीसँग कुरा भएको समयसम्म सबै कुरा सामान्य नै थियो।
त्यतिबेला सुधा दीपक मल्होत्राको सिल्भर सिटी अपार्टमेन्टको कार्यालयमा काम गर्थिन्। सुधा खाना खाएर अफिसतिर लागिन्।
जेठी छोरी सुभद्रा सानेपाबाट माइती आएर घरैमा रहेको तन्ना, तकियाको खोल आदि बनाउने, बुट्टा भर्ने कारखाना खोल्थिन्।
सुन्नुस्
त्यो दिन ढिलासम्म आमा नआएपछि उनले घरको ल्यान्डलाइनबाट आमाको नम्बर डायल गरिन्।
तर, सम्पर्क भएन।
घण्टी जाने तर नउठाउने भयो। उनको बुबाले फोन गर्दा पनि उठेन।
घरबाट निकीकोमा जान्छु भनेर गएकी हुनाले उनीहरुले निकीलाई फोन गरेर सोधे। महर्जन परिवारका अनुसार निकीले छोरीमैयाँलाई भेटेकै छैन भनिन्।
परिवारका अनुसार छोरीमैयाँको दिनचर्या प्राय: एकै समयको थियो। सधैं बिहान ८ बजेतिर घरबाट निस्कन्थिन्। त्योबेला उनी बानेश्वरमा रहेको एउटा घरमा फूल स्याहार्ने र तरकारी लगाउने काम पनि गर्थिन्। विदेश गएको एउटा परिवारले आफ्नो घर हेरविचार गरिदिन भनेकाले आमाले त्यो काम गरेको छोरी सुधाको भनाइ छ।
त्यसपछि छोरीमैयाँ तन्ना, सिरानीको खोलको अर्डर लिएर बिहान ११/१२ बजेसम्म खाना खान घर आउँथिन्। त्यो दिन छोरीमैयाँको दिनचर्याको समय मिलेन। घर फर्कने समयमा घर फर्किनन्।
सुभद्राले आमाको मोबाइलमा सम्पर्क गर्न चार/पाँच पटक प्रयास गर्दा पनि कुरा गर्न सकिनन्।
दिउँसो २ बजेपछि उनले निकीको घरमा फोन गरिन्। फोन उठेन।
उनले पुन: निकीको मोबाइलमा फोन गरिन्।
‘तिम्री आमा हाम्रो घरमा आएकै छैन, भेट भएकै छैन,’ निकीले भनिन्।
५ बजेसम्म पनि आमा घर नफर्किएपछि छोरीले अरुतिर पनि सोधखोज गरिन्। तर कतै पत्ता लागेन। निकीले आफूले पनि फोनमा ट्राइ गरेको, फोन उठ्छ, कुरा हुँदैन, बाहिर हल्लामात्र सुनिन्छ भनिन्।
उनले हस्पिटलमा बुझ्नु, दुर्घटना भएको पनि हुनसक्छ समेत भनिन्।
छोरीहरुले प्रहरीमा खबर गर्ने कि भनेर सोध्दा निकीले पर्दैन भनेको सुभद्राको दावी छ।
राति ८ बज्न लाग्दा कान्छी छोरी सुधाको मोबाइलमा एउटा एसएमएस आयो आमाको नम्बरबाट। त्यसमा रोमनमा लेखिएको थियो, ‘म मनकामनामा छु। साथी पनि छ। पर्सि आउँछु।’
अब भने उनीहरु आत्तिन थाले। किनभने, मोबाइलमा नम्बर डायल गरेर फोन त गर्न नआउनेको नम्बरबाट एसएमएस आएपछि शंका लाग्ने भइहाल्यो। एक त छोरीमैयाँले मोबाइलमा टाइप गरेर एसएमएस पठाउन जान्दैनथिइन्, त्यसमाथि केही दिन अगाडि उनको मोबाइल खसेर डिस्प्ले समेत बिग्रिएको थियो।
उनीहरुले तत्काल कलब्याक गरे। जवाफ आयो, ‘तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ।’
महर्जन परिवारलाई शंका लाग्ने अर्को एउटा विषय पनि रहेछ। सुधाका अनुसार निकीले साढे सात बजेतिर आफूलाई फोन गरेर ‘यो तिम्रै नम्बर हो’ भनेर सोधेकी थिइन्। आठ बजेतिर त्यही नम्बरमा त्यो शंकास्पद म्यासेज आएको थियो।
त्यसपछि उनीहरुले नजिकैको महानगरीय प्रहरी वृत्त जनसेवामा गएर मौखिक जानकारी गराए। सुधाका अनुसार तत्कालीन इन्स्पेक्टर हेमकुमार थापाले छोरीमैयाँको फोटो सर्कुलेट गरेर मनकामना क्षेत्रमा सर्च पनि गर्न लगाएका थिए। तर उनी भेटिइनन्।
महर्जन परिवारका सदस्यको त्यो रात छटपटी र अनिदोमै बित्यो।
भोलिपल्ट बिहान सवा १० बजेतिर छोरीमैयाँको मोबाइलबाट जेठी छोरी सुभद्राको मोबाइलमा कल आयो। उनले हत्तपत्त उठाइन्। तर उताबाट आवाजै आएन।
अवस्था सामान्य लागेन र त्यही दिन हनुमानढोकामा रहेको महानगरीय प्रहरी अपराध महाशाखामा गएर उनीहरुले लिखित निवेदन दिए।
निकी के भन्छिन्?
महर्जन परिवार र निकी (सुरक्षा) सिंहको भनाइ एकअर्कामा बाझिन्छ।
त्यसतर्फ जानुभन्दा अघि पहिला निकीको बारेमा केही जानौँ र उनको छोरीमैयाँसितको सम्बन्ध केलाउँ।
निकीकी आमा र छोरीमैयाँकी आमा टोलका साथी थिए। छोरीमैयाँकी आमाको पुस्तादेखि नै यी दुई परिवारबीच राम्रो सम्बन्ध थियो।
‘निकीले मलाई आमा भन्थी,’ छोरीमैयाँकी आमा हीरामाया महर्जनले भनिन्, ‘उनीहरु चाडबाडमा हामीकहाँ आएर खान्थे। उसको आमाको माइती यहीँ ब्रह्मटोलमा हो। राम्रो आउजाउ हुन्थ्यो।’
आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राकी बहिनी हुन् निकी। उनको विहे भने नेवार परिवारमा भएको थियो विनोद सिंहसँग। यो दम्पतीको दुई छोरा भएकोमा यो घटना हुँदा एक छोरा अध्ययनका लागि अमेरिकामा र अर्को छोरा स्कुलमा पढ्दै थिए।
निकीले छोरीमैयाँले बुट्टा भरेको तन्ना, सिरानीको खोल, लेडिज ब्याग अर्डर आएअनुसार किनेर बेच्थिन्।
त्यो दिन के भएको थियो, निकीको भनाइ यस्तो छ-
निकीले त्यो दिन बिहान करिब ७ बजे ब्रेकफास्ट बनाई श्रीमानलाई खुवाउँछिन्। श्रीमान् अफिस गएपछि करिब साढे ८ बजेतिर स्कुल जाने छोरालाई गाडीसम्म छाडिन्।
निकीले प्रहरी र अदालतमा दिएको बयान अनुसार उनी बिहान अन्दाजी साढे ८ बजेदेखि ९ बजेको समयमा छोराको चिना देखाउन घर नजिकैको ज्योतिषीकोमा गइन्। त्यहीबेला सुधाको फोन आएको उनको दावी छ।
सुधा, ‘तपाईँ कहाँ हुनुहुन्छ?’
निकी, ‘म बाहिर छु।’
सुधा, ‘कतिखेर घरमा जानुहुन्छ? ममी तपाईंको घरमा आउँदै हुनुहुन्छ।’
छोरीमैयाँ खै श्रृंखला
‘म घर नजिकै हो, तुरुन्त घर पुगिहाल्छु,’ यति भनेर म घरमा गएको थिएँ। घरमा गइसकेपछि पनि छोरीमैयाँ महर्जन नआएको हुँदा म आफ्नो काममा लागेको थिएँ,' अधिकारप्राप्त अधिकारीसमक्ष महानगरीय प्रहरी परिसरका अनुसन्धान अधिकृत कृष्णप्रसाद पंगेनीले लिएको बयान कागजमा निकीले भनेकी छिन्, ‘बिहान करिब ११ बजेतिर बहिनी रेखा श्रेष्ठ घरमा आइन्। सँगै बजार घुम्न गएको थिएँ। न्युरोड, काठमाडौं मलमा घुमी करिब ३ बजे म घर फर्किएको थिएँ। छोराको लागि खाजा बनाउँदै गर्दा सुभद्राले फोन गरेकी थिइन्।’
‘दिउँसो अन्दाजी साढे ३ बजेतिर म किचेनमा बसी खाजा बनाउँदै गर्दा छोरीमैयाँकी जेठी छोरी सुभद्रा महर्जनले घरको टेलिफोनमा फोन गरी ममी तपाईंको घरमा जान्छु भनी बिहान घरबाट हिँड्नुभएको रहेछ। तपाईंको घरमा आउनु भएको हो कि होइन, अहिलेसम्म घर फर्कनुभएको छैन भनेकी थिइन्,' निकीले बयानमा भनेकी छिन्, ‘तिम्री बहिनीले पनि मेरो घरमा आउन लागेकी भनेकी थिइन्। तर अहिलेसम्म आएकी छैनन् भनेकी थिएँ।’
निकीका अनुसार त्यसपछि एकै पटक राति ८ बजेतिर सुधाले फेरि रुँदै फोन गरिन्।
'मैले सम्झाउँदै मेरो माइजु पनि केही वर्ष अगाडि दुर्घटनामा परी अस्पतालमा भर्ना भएको फेला पारेका थियौँ। तिम्रो मम्मीको पनि दुर्घटना भएको हुन पनि सक्छ, विभिन्न अस्पतालहरुमा बुझ्दै गर म पनि बुझ्छु भनेको थिएँ,' प्रहरीमा खबर नगर भनेर चाहिँ आफूले नभनेको निकीको दावी थियो।
प्रहरीले यसरी लिने बयान कागजमा कसैले सही बोलेको छ कि छैन भनेर अरुको बयानसित भेरिफाइ गर्ने गर्छ। यही क्रममा निकीको एउटा भनाइ सुभद्रासँग बाझियो।
निकी भन्थिन्, सुभद्राले फोन गर्दा उनी किचेनमा थिइन्।
तर, सुभद्राले भने निकीले आफूलाई न्युरोडमा भएको बताएको भनेकी थिइन्।
त्यो दिन दिउँसो सुभद्राले दुई पटक फोन गरेकी रहिछिन्। पहिलो पटक फोन गर्दा आमालाई फोन गरिदिन अनुरोध गरेको र दोस्रो पटक फोन गर्दा आमालाई फोन गर्नुभयो कि भएन भनेर सोध्दा ‘मैले पनि ट्राइ गर्दैछु, फोन लागेन’ भनेकी थिइन् निकीले।
नयाँ दावी आयो। तर निकीको बयान सकिइसकिएको थियो। बयान सकिएपछि थप कुरा आए पुन: बयान लिन सकिन्छ। त्यसलाई ततिम्बा बयान भनिन्छ।
२०६९ वैशाख १३ गते प्रहरीले निकीसँग ततिम्बा बयान लिँदै सोध्यो, ‘यो कुरा तपाईंले आफ्नो बयानमा खुलाउनुभएको छैन। किन ढाँट्नुभएको हो?’
प्रजु पन्तको सहयोगमा
(निकीले यसमा कस्तो जवाफ दिन्छिन्। प्रहरीले गरेको प्राविधिक अनुसन्धानले त्यो दिन छोरीमैयाँको मोबाइल कहाँ-कहाँ सक्रिय भएको देखाउँछ? योबारे विस्तृत विवरण भोलिको #ChhoriMaiyaKhai शृंखलामा।)
साउन २६, २०७८ मंगलबार १८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।