राउटे बस्तीमा पुग्यो स्वास्थ्य टोली, सबैले जाँच गराउन मानेनन्
सुर्खेत : जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले पछिल्लो एक महिनामा राउटे समुदायका तीन जनाको मृत्यु भएपछि बस्तीमा पुगेर स्वास्थ्य जाँच गरेको छ।
लोपोन्मुख समुदायको रूपमा रहेको राउटे समुदायका दलबहादुर शाही, मानसिंह शाहीको एक हप्ताको अन्तरमा मृत्यु भएको थियो। त्यसअघि गुर्भाकोटमा एक बालकको मृत्यु भएपछि उनीहरू सल्यान र सुर्खेतको सिमानामा पर्ने कालीमाटी गाउँपालिकाको काल्चेमा बसाइँ सरेका थिए।
‘एक महिनामा राउटे समुदायका तीन जनाको मृत्यु भएपछि बस्तीमै पुगेर स्वास्थ्य जाँच गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए।
उनले भने, ‘राउटे समुदायका ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेका छौँ।’ धेरै बालबालिका कुपोषित रहेको र घाउ चोट लागेर बिरामी भएका धेरै भेटिएका वाग्लेले बताए।
‘बालबालिकालाई हामीले जुकाको औषधि पनि खुवाएका छौँ,’ उनले भने, ‘बालबालिकामा कुपोषण, ठुला व्यक्तिलाई छालासम्बन्धी, उच्च रक्तचाप र मदिरा मुख्य समस्या देखिएको छ, सबैले जाँच गर्न मानेनन्।’
साउन २६, २०७८ मंगलबार १२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।