मेडिकल शिक्षाको पर्खाइमा पूर्वाञ्चल विश्वविद्यालय
स्थानीयले ‘विश्वविद्यालय सरोकार समाज’ गठन गरेर मेडिकल शिक्षा संचालनसँगै विश्वविद्यालय सुधारको माग राख्दै आएका छन्।
०००
पर्याप्त भौतिक संरचना भएर पनि पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थित हुन सकेको छैन। विश्वविद्यालयमा अत्याधुनिक ८ वटा भवन, लाइब्रेरी, प्रयोगशाला कक्ष छन्।
मोरङको गोठगाउँमा ८०५ बिगाहा क्षेत्रमा फैलिएको विश्वविद्यालयको प्रभावकारी उपयोग हुन सकेको छैन।
स्थानीय सरोकारवालाको दबाबका कारण दुई वर्षअगाडि मात्र विराटनगरबाट केन्द्रीय कार्यालय, गोठगाउँमा सर्यो। विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट गोठगाउँ सरेपछि केही आशलाग्दा काम भएका छन्।
उपकुलपतिलगायत पदाधिकारीको क्वाटरको प्रबन्ध मिलाउने क्रम जारी छ। हाल अध्ययनरत संकाय थप गर्ने र थप चलायमान बनाउने योजनासहित पदाधिकारी लागिपरेका छन्। झार जंगलले ढाकिएको विश्वविद्यालयलाई व्यवस्थित बनाउने क्रम जारी छ।
२०५० सालमा ‘एक विकासक्षेत्र एक विश्वविद्यालय’को अवधारणा आएसँगै पूर्वाञ्चल विश्वविद्यालयको स्थापना भएको हो। जसअनुसार २०५२ सालमा विश्वविद्यालय सञ्चालन ऐन बन्यो। २०६५ सालदेखि गोठगाउँमा भवन निर्माण सुरु भएको थियो। १८ करोडको लागतमा ८ वटा सुविधासम्पन्न भवन निर्माण भएका छन्।
राजनीतिक दाउपेच मुख्य समस्या
विश्वविद्यालय सहयोग समितिका अध्यक्ष लोकप्रसाद संग्रौलाका अनुसार २ सय बिगाहामा जडीबुटी प्रसोधन केन्द्र बनाउने, २ बिगाहामा भवन निर्माण गरी विभिन्न संकाय सञ्चालन गर्ने योजना बनेको थियो। ३ सय बिगाहामा नयाँ जातका बिरुवा रोप्ने र बाँकी जग्गामा स्टेडियम र सुपर मार्केट बनाउने लक्ष्यका साथ विश्वविद्यालय खुला ठाउँमा सारिएको हो।
माओवादी द्वन्द्वका कारण १२ वर्ष कुनै पनि गतिविधिबिनै विश्वविद्यालय थालिएको उनले सुनाए। ‘राजाको शासनकालका उपकुलपति जगतबहादुर केसीले मेडिकल शिक्षा सञ्चालनको तयारी थालेका थिए। गणतन्त्र आएपछि फेरि त्यो मुद्दा सेलायो,’ उनी भन्छन्, ‘हामीले धेरैपटक अन्दोलन गर्यौ। तर, राजनीतिक प्रभावले गर्दा काम हुन सकेन।’
एमबिबिएस, एमडी, नर्सिङ, बिफर्मा, बिएन, बिएसी नर्सिङ लगायत मेडिकल शिक्षा सञ्चालन गर्न माग उठ्दै आएको छ। अहिलेसम्म प्रभावकारी कार्यान्वयनको लागि कसैले पनि पहल गरेका छैनन्।
विश्वविद्यालय र मेडिकल शिक्षा हरेक निर्वाचनको चुनावी एजेण्डा बन्ने गरेको छ। मेडिकल शिक्षा संचालन गर्ने भन्दै धेरै नेता संसद र मन्त्री भइसके। तर, विश्वबिद्यालयको हालत उस्तै छ।
एउटा सरकारको पालामा मेडिकल शिक्षा संचालन भए उसैले जस पाउने बुझाईका कारण समस्या भएको संग्रौलाको तर्क छ। उपकुलपति राजनीतिक नियुक्तिको पद भएको र दलकै निर्देशन अनुसार व्यवहार गर्दा यो समस्या आएको उनले सुनाए। यसको लागि व्यक्ति मात्रै नभएर राजनीतिक चरीत्र नै सुधार हुनुपर्ने उनको तर्क छ।
अनुमतिको लागि उपकुलपति काठमाडौंमा
संसोधित चिकित्सा शिक्षा ऐनका अनुसार मेडिकल शिक्षाका लागि ३ सय बेडको अस्पताल चाहिने बाध्यात्मक व्यवस्था गरेपछि उपकुलपति डा. यादवराज कोइराला त्यसको प्रक्रियागत तयारीमा लागेका छन्।
विश्वविद्यालयले कक्षाकोठादेखि कोर्स तयारी अवस्थामा राखेको तर सरकारको अनुमति मात्र नपाएका कारण आफू लागिपरेको उनले बताए। कोशी र मेची अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न पाउने व्यवस्था मिलाउन कुलपति तथा प्रधानमन्त्रीलाई आग्रह गरिने उनको भनाइ छ।
केही दिनमै कुलपतिलाई भेट्ने कार्यक्रम रहेको र शिक्षा तथा स्वास्थ्य समितिमा यस विषयमा कुरा चलाइरहेको उनले जानकारी दिए।
‘प्रदेश १ का सम्पूर्ण सामुदायिक अस्पताललाई प्रयोगात्मक सिकाइको लागि उपयोग गर्न सकिन्छ। यसले गर्दा ग्रामीण क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउँछन्,’ उनले भने, ‘हामी अर्को शैक्षिकसत्रदेखि मेडिकल शिक्षा संचालन गर्ने तयारीका साथ अगाडि बढिरहेका छौं। धेरै चुनौतीबीच पनि सफल हुने अठोटका साथ अगाडि बढिरहेका छौं।’
स्नातकोत्तर शैक्षिक कार्यक्रम सञ्चालनका लागि गोठगाउँ परिसरमा तीन वटा नयाँ आंगिक क्याम्पस सञ्चालन गरिएको छ। हाल कृषि, भेटेरिनरी, फरेस्ट्री एवं वातावरण विज्ञान विषय पढाइ हुँदै आएको छ।
साउन २५, २०७८ सोमबार १५:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।