कर्णालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८०० नाघ्यो, ३५६ को मृत्यु
सुर्खेत : कर्णाली प्रदेशमा शनिवार मात्र ६० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ८० पुगेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
शनिवार १०१ जनामा आरटी पीसिआर विधिको कोरोना परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यसै गरी ७९ जनामा एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा १८ जनामा सङ्क्रमण देखिएको छ।
शनिवार सबैभन्दा धेरै सुर्खेतमा २७ जना सङ्क्रमित फेला परेका छन्। यस्तै जुम्लामा १३, कालिकोटमा ९,सल्यान र रुकुम पश्चिममा ३-३, मुगु र जाजरकोटमा २-२ तथा हुम्लामा १ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
यस्तै शनिवार कोरोना सङ्क्रमणका कारण सुर्खेतमा एक जनाको ज्यान गएसँगै कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेहरूको सङ्ख्या ३५६ पुगेको छ ।
साउन २४, २०७८ आइतबार ०९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।