कांग्रेस १४ औं महाधिवेशन : भ्रातृसंस्थाको निर्वाचन नभएपछि मुल पार्टी ताक्दै युवा नेता
विधानमा दुई जना नगर सचिव हुने व्यवस्था भएपछि दुवै जना अग्रसर देखिएका हुन्। १४ महाधिवेशनमा युवा नेतृत्व आउनुपर्ने बहस सुरु भएसँगै उनीहरू पदाधिकारीको लागि तयार भएका हुन्।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका दुवै जनाले सचिवमा जित्न सक्ने आकलन गरिएको छ।
प्रदेश १ कै सबैभन्दा चर्चित इटहरी उपमहानरपालिकामा पनि युवाको उपस्थिति बढेको छ। ३२ वर्षमै पहिलो पटक नगर सभापति भएका हेमकर्ण पौडेलले तेस्रो कार्यकालको लागि सभापति उठ्ने तयारीमा छन्।
नगरपालिका हुँदा दुई पटक सभापति भइसकेका उनी उपमहानगरपालिका भएपछि पुनः सभापति हुने तयारीमा लागेका छन्।
१३ औं अधिवेशनमा उनीसँगै पराजित नेविसंघका पूर्वकेन्द्रीय उपसभापति विकास केसी यस पटक पनि सभापतिको उम्मेदवार बनेका छन्।
‘एक व्यक्ति एक पद, एक पद एक कार्यकाल’को मुद्दालाई अगाडि सारेर युवा नेतृत्व स्थापित गर्ने केसीको योजना छ। पार्टीलाई युवामैत्री बनाएर अगाडि बढाउने र दोहोर्याएर पद नलिने उनले उद्घोष गरेका छन्।
युवाको उपस्थिति बलियो बन्दै गएपछि दुवै उम्मेदवारलाई पदाधिकारी पनि युवा नै ल्याउनुपर्ने बाध्यता बढेको छ।
नेविसंघका जिल्ला सभापति मन्दीप भट्टराई र उपसभापति विक्रम घिमिरेले सचिवको तयारी थालिसकेका छन्।
दुई फरक टिमबाट उम्मेदवारी दिने गरी उनीहरू अग्रसर भएका हुन्। राजनीतिमा युवाको आकर्षण बढाउन र कांग्रेसलाई युवामैत्री पार्टी भनेर प्रमाणित गर्न आफू उम्मेदवार हुन लागेको घिमिरेको तर्क छ।
नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री कृष्ण कार्कीले विराटनगर महानगरपालिकामा सभापतिको उम्मेदवारी दाबी गरेका छन्।कृष्णप्रसाद सिटौला टिमका बलिया उम्मेदवार उनी संस्थापन इतर समूहको एकल उम्मेदवार बन्ने तयारीमा लागेका छन्।
विराटनगरकै डा. शेखर कोइराला युवालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै केन्द्रीय सभापतिमा दाबी गरिरहेका छन्।
युवाप्रति लचिलो मानिएका कोइरालाले आफूलाई नगर सभापतिमा समर्थन गर्नुपर्ने कार्की बताउँछन्।
स्थानीय कार्यकर्तामाझ पनि लोकप्रिय मानिएका उनले मातृपार्टीमा ‘एक व्यक्ति एक पद’को अवधारणा अनुसार अगाडि बढ्ने संकल्प गरेका छन्।
सोही टिमबाट अन्य २ जनाले सभापतिमा उम्मेदवारी दिने तयारी थालेका छन्।
झापाको १५ वटै स्थानीय तहको पदाधिकारीमा नेविसंघका नेता आउने गरी तयारी सुरु भएको छ।
नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीका अनुसार १४ औं महाधिवेशनमा युवाको उपस्थिति बलियो बनाउने गरी अगाडि बढिएको बताए। पुरानो पुस्ताको अनुभव र युवाको जोसलाई आधार बनाएर झापामा पार्टी बलियो बनाउन लागिपरेको उनको भनाइ छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एक सिट पनि जित्न नसकेको कांग्रेसलाई ५ वटै निर्वाचन क्षेत्रमा विजयी गराउन अग्रसर हुनुपर्ने बाध्यता भएको उप्रेतीको तर्क छ।
कांग्रेसमा पुरानो र नयाँ गरी १६ देखि ४० वर्ष उमेरका ३२ प्रतिशत क्रियाशील सदस्य छन्।
भ्रातृसंस्थाको अधिवेशन नहुँदा पार्टी ताक्दै युवा
नेविसंघ, तरुण दल, महिला संघलगायत भ्रातृसंस्थाको समयमै महाधिवेशन नभएपछि युवा मातृपार्टीतर्फ आकर्षित भएका हुन्।
लामो समयमा महाधिवेशन हुन नसकेका युवा केन्द्रित भ्रातृसंस्थाका नेता मूल पार्टीमा आउने तयारीमा लागेका हुन्। केन्द्रदेखि एकाई समितिसम्म नेतृत्व हस्तान्तरण नभएपछि नेविसंघका युवा पुरानो पुस्ताको विरुद्धमा मोर्चाबन्दीमा लागेका हुन्।
चार सदस्यीय तरुण दलको केन्द्रीय समितिले पनि महाधिवेशनको मिति तोक्न सकेको छैन। तरुण दलका जिल्लास्तरका नेता भने मातृ पार्टीमै राजनीतिक भविश्य बनाउने तरखरमा लागेका छन्।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भ्रातृसंस्थाबाट नभएपछि मातृपार्टीमा अग्रसर हुनुपर्ने बाध्यता आइपरेको बताउँछन्। कुनै न कुनै नेताको पछाडि लागेर भए पनि आफ्नो राजनीतिक भविश्य जोगाउन युवा लागिपरेको उनको भनाइ छ।
युवाहरू आफै संगठित नभई पुरानै नेताको गुटमा स्थापित हुन खोजेको उनको तर्क छ। उमेरका हिसाबले युवा भए पनि विचारको हिसाबमा पुरानै प्रवृत्ति हाबी भएको उनको बुझाइ छ। नयाँ सोच र हस्तक्षेपकारी नीति कुनै युवा नेतामा पनि नदेखिनु कांग्रेसको लागि विडम्बना भएको आचार्यले सुनाए।
आचार्यको जस्तै तर्क छ आर्थिक तथा राजनीतिक विषयका ज्ञाता अंगराज तिमल्सिनाको पनि।
एक दैनिक पत्रिकासँगको अन्तर्वार्तामा उनले युवाले पार्टीमा चुनौती दिन नसक्ने धारणा राखे। युवामा नेताको छत्रछायामा परिएन भने अगाडि बढिँदैन भन्ने सोच रहेको उनको तर्क छ। पार्टीभित्रका बौद्धिक जगत पनि नेतृत्वको आलोचना गर्न नसक्ने उनको भनाइ छ।
कांग्रेस महाधिवेशनमा पनि युवाको स्वतन्त्र उम्मेदवारी भन्दा पनि पुराना पुस्ताको इसारा अनुसार उम्मेदवारी दिने प्रचलन बढेको देखिएको छ।
साउन २१, २०७८ बिहीबार २१:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।