मास्क नलगाए १०० रूपैयाँ जरिवाना
सुर्खेत : सुर्खेतमा मास्क नलगाई हिँडेको पाइएमा सय रूपैयाँ जरिवाना गराइने भएको छ।
जिल्ला प्रशासन कार्यालय, सुर्खेतले मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्ने भएको हो।
‘मास्क प्रयोग गर्नुपर्छ भन्ने सबै नागरिकलाई थाहा छ। तर, अटेरी गर्नेहरू धेरै छन्,’ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘अब मास्क नलगाई घरबाहिर निस्कनेलाई सय रूपैयाँ जरिवाना तिराउँछौ। गल्ती दोहोन्याएमा संक्रामक रोक ऐनअनुसार थप कारबाही गर्छौं।’
प्रशासन कार्यालयले मास्क लगाउन तीन दिनसम्म जनचेतनामूलक अभियानसमेत सञ्चालन गरेको थियो। ती स्थानमा सर्वसाधारणले घरबाहिर निस्कँदा माक्स लगाउन अटेरी गरे कारबाही गरिने प्रशासन कार्यालयले जनाएको छ।
‘मुख्य–मुख्य चौकमा पुगेर माइकिङ गरिएको छ। मास्क पनि बाँडिएको छ, तर पनि अटेरी गर्न छोडिएको छैन,’ उनले भने, ‘फेरि लकडाउन गर्नुभन्दा अब जसरी भए पनि मास्क प्रयोग अनिवार्य गरिनुपर्छ।’
बुधबारदेखि बढी भीड हुने क्षेत्रमा माइकिङ र मास्क वितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ।
साउन २१, २०७८ बिहीबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।