मेलम्ची संरक्षण गर्ने स्थानीय प्रयास निरर्थक, नाकाबन्दीमा हेलम्बु र पाँचपोखरी

मेलम्ची संरक्षण गर्ने स्थानीय प्रयास निरर्थक, नाकाबन्दीमा हेलम्बु र पाँचपोखरी

मेलम्ची : गत असार १ गते आएको विनासकारी बाढीले तहसनहस बनाएको मेलम्ची बजार क्षेत्र संरक्षण गर्ने स्थानीयको प्रयास सार्थक बन्न सकेको छैन।

मेलम्ची नदी किनारका बजार र बस्ती जोगाउन स्थानीयले भरमग्दुर प्रयास गरिरहेका छन्। तर लेदोसहितको निरन्तरको बाढीले नदी किनारका घर कटान गर्ने क्रम नरोकिँदा स्थानीयको प्रयास निरर्थक बनेको छ।

प्रत्येक दिन नदीले धार परिवर्तन गर्दा बजार संरक्षणमा समस्या देखिएको स्थानीय बताउँछन्।

गत असार १ गते हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले बगाएर ल्याएको लेदोले पुरिएका घरहरु नदीले कटान गर्न थालेको छ। पछिल्लो पटक आएको बाढीले धार परिवर्तन गरी बजारतिर हान्दा थप क्षति हुन थालेको मेलम्ची बजार संरक्षणका अभियन्ता महावीर श्रेष्ठले बताए।

नदीले जमिन कटान गर्दा पछिल्लो तीन दिनमा मेलम्चीमा १० वटा पक्की घर ढालेको श्रेष्ठले जानकारी दिए।

पहिलो दिनको बाढीले आंशिक क्षति पुर्याएको चनौटे बजार र बजारमा रहेको पक्की पुल संरक्षणको प्रयास गर्दागर्दै बाढीले बगाएको छ। बजार र पुल संरक्षण गर्न स्थानीयले गरेको प्रयास असफल भएको हेलम्बुका एमाले नेता हस्त पण्डितले बताए।

‘बजार जोगाउन नदीको धार परिवर्तन गराउने र बजारमा बाढी पस्न नदिने भनेर तटबन्ध बनाउने प्रयास ग¥यौं,’ पण्डितले भने, ‘तर हाम्रो प्रयासले सार्थकता पाउन सकेन।’

पछिल्लो समय चनौटे बजार पूर्ण रुपमा कटान र डुबानमा परेको पण्डितले जानकारी दिए। ‘बजारको मुख्य भागबाट नदी हिंडिरहेको छ,’ पण्डितले भने, ‘हामीले बजार बचाउने प्रयत्न गर्यौं, तर सफल हुन सकेनौं।’ नदीको सतहमा लेदो भरिंदै आएपछि बजारमा पानी पसेको उनले जानकारी दिए।

हेलम्बुको चनौटे पुल बगाएपछि सिंगो गाउँपालिका सडक सञ्जालबाट विस्थापित भएको छ। पछिल्लो पटक चनौटे पुलसहित हेलम्बुमा रहेका चार वटा पक्की पुल बाढीले बगाएको छ।

मेलम्चीबाट हेलम्बु जोड्ने सडक ठाउँठाउँमा कटान भएको छ। हेलम्बुमा बिरामीको उपचारका लागि समेत हेलिकोप्टर चार्टर गर्नुको विकल्प नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।

शेर्पाका अनुसार असार १ देखियता हेलम्बुमा मात्र दुई सयभन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन्। जोखिममा रहेका घरको संख्या त्योभन्दा बढी छ। असार १ गतेको बाढीमा परी मेलम्ची खानेपानी आयोजनाका कामदारसहित १९ जनाले ज्यान गुमाएका थिए।

मेलम्चीबाट हेलम्बु जोड्ने सडक ठाउँठाउँमा कटानमा परेका छन्। पुल बाहेक सडककै पनि वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था रहेको शेर्पा बताउँछन्। बाढीले सडक कटान गर्न थालेपछि सडक छेउछाउका बासिन्दा समेत विस्थापित भएको उनले जानकारी दिए।

जोखिम बढेपछि मेलम्ची नगरपालिकाको तालामाराङ बजारका स्थानीयले घर छाड्न थालेका छन्। बजार छेउमै रहेको विद्यालयको भवन ढलिसकेको छ भने नदीले नहरखोला, फट्टे लगायतका क्षेत्रका घरहरु कटान गर्न थालेको छ।

स्थानीयको पहलमा गठित मेलम्ची बजार संरक्षण समितिको सहयोगमा घरभित्र भरिएको लेदो हटाउन सुरु गरिएको मेलम्ची पुल बजारमा फेरि बाढी पसेको छ। बाढीबाट अहिलेसम्म मेलम्ची नगरपालिकामा मात्र एक सय ९४ घर पूर्ण रुपमा क्षति भएको नगरपालिकाका विपद् फोकल पर्सन समेत रहेका शिक्षा अधिकृत सुदिनराज बुढाथोकीले जानकारी दिए। बुढाथोकीका अनुसार तथ्यांक संकलनको क्रममै रहेकाले यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

तालामाराङदेखि सिपाघाटसम्मका सयौं घर बाढीको जोखिममा परेका छन्। मेलम्चीमा दुई वटा पक्की पुल पूर्ण रुपमा र थप अर्को पक्की पुलमा आंशिक क्षति पुगेको छ। १९८६ सालमा नेपाल–तिब्बत व्यापारलाई मध्यनजर गरेर बनाइएको ऐतिहासिक झोलुंगे पुल समेत बाढीले बगाएको छ।

मेलम्ची बजारका बाँकी घरहरु बाढीको उच्च जोखिममा रहेको स्थानीय बताउँछन्। ढलेका बाहेक बाँकी घर जोगाउने प्रयास गरिरहेको बजार संरक्षणका अभियन्ता सागर श्रेष्ठले बताए।

‘नदीको धार केही परिबर्तन गर्न सकिन्छ की भनेर ग्याबिङ भर्ने काम गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘बाँकी रहेको बजार संरक्षणका लागि सबै उपाय अबलम्वन गर्ने प्रयास गरिरहेका छौं।’ अन्तिम समयसम्म पनि बजारको संरक्षण प्रयास गरिरहने श्रेष्ठले बताए।

नाकाबन्दीमा हेलम्बु र पाँचपोखरी
मेलम्ची नदीमा लगातार आइरहेको बाढीले हेलम्बुको चनौटे र मेलम्चीको बाहुनेपाटीमा रहेको पक्की पुल बगाएपछि सिन्धुपाल्चोकका दुई हिमाली गाउँपालिका नाकाबन्दीमा परेका छन्।

मेलम्ची र इन्द्रावती नदीमा बाँकी रहेको पुल आइतबार आएको बाढीले बगाएपछि हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका सडक सञ्जाल विच्छेद भएर नाकाबन्दीमा परेका हुन्।

चनौटे पुल बगाउनुअघि हेलम्बु गाउँपालिकाको वडा नं १ बाहेक अन्य क्षेत्रमा यातायातका साधन गुड्नसक्ने अवस्था थियो। चनौटे पुल बगाएपछि महांकाल र इचोक बाहेक हेलम्बुका सबै क्षेत्र यातायातबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए।

शेर्पाका अनुसार हेलम्बु क्षेत्रमा कोही बिरामी परेमा समेत हेलिकोप्टर बाहेक अन्य साधनबाट उपचारका लागि अस्पताल पुर्याउनसक्ने अवस्था छैन। सडक सञ्जालको वैकल्पिक व्यवस्था नभए स्थानीयले दैनिक उपभोग्य र खाद्यान्नको समेत अभाव झेल्नुपर्ने अवस्था आउने शेर्पा बताउँछन्। मेलम्चीबाट हेलम्बु जोड्ने सडक खण्ड समेत दर्जन बढी ठाउँमा नदीको कटानमा परेको शेर्पाले जानकारी दिए।

हेलम्बु जोड्ने झोलुंगे पुलहरु समेत बाढीले बगाइसकेकाले एक ठाउँबाट अर्को ठाउँ आवत–जावतमा नै समस्या परेको स्थानीय दामोदर भारतीले बताए।

बाढीले मेलम्चीको बाहुनेपाटीमा रहेको पक्की पुलको एउटा खण्ड बगाएपछि पाँचपोखरी थाङ्पाल र मेलम्ची नगरपालिकाका वडा नं. ९ र १० का बासिन्दा सडक सञ्जालविहीन भएका छन्। मेलम्ची बाढीपछि यस क्षेत्रका बासिन्दाले उपयोग गर्दै आएको पुलको एक खण्ड आइतबार बगाएको थियो।

पुल बगाएपछि यस क्षेत्रका कृषि उत्पादन तथा दूध बजार पुर्याउन र बजारबाट दैनिक उपभोग्य सामान ल्याउन समेत समस्या परेको मेलम्ची नगरपालिका- १० का वडाअध्यक्ष भक्तबहादुर खड्काले बताए।

बाहुनेपाटी पुल बगाएपछि सिंगो गाउँपालिका यातायातको सुविधाबाट बञ्चित भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामा बताउँछन्।

हिउँदमा सदरमुकाम चौताराबाट आवत जावत गर्न सकिने भए पनि वर्षातमा सम्भव नभएकाले बिरामीको उपचार र दैनिक उपभोग्य सामग्री ल्याउन समस्या देखिएको लामाले बताए। पुल बगाएपछि इन्द्रावती गाउँपालिकामा समेत सहज रुपमा आवत–जावत गर्न समस्या भएको छ।

साउन २१, २०७८ बिहीबार १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।