एमयुका स्थगित परीक्षा फेरि एक हप्ता पछि सारियो
सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु)का स्थगित परीक्षा फेरि एक साता पछि सारिएको छ।
विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै परीक्षा एक साता पछि सारेकाे हाे। संयुक्त विद्यार्थी संगठनसँगको वार्ता टुंगोमा नपुगेपछि परीक्षा एक साता पछि सारिएको विश्वविद्यालयले जनाएकाे छ।
विश्वविद्यालयको परीक्षा व्यवस्थापन सहप्रमुख नरेन्द्रप्रकाश सावदले परीक्षा एक साताका लागि सारिएको जानकारी दिए।
यसअघि यही साउन १२ गते परीक्षा एक साताका लागि सारिएको थियो।
विद्यार्थी संगठनले १८ बुँदे माग राखी आन्दोलन थालेपछि विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायको स्नातक तह र स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको थियो। आन्दोलनरत विद्यार्थीले अनलाइनबाट परीक्षा सञ्चालन हुनुपर्ने लगायत माग राखेका थिए। तर, विश्वविद्यालयले अनलाइन परीक्षा संचालन गर्न नसकिने बताएको छ।
अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा प्रदेश सहसंयोजक तिर्सना हमालले अनलाइन परीक्षा संचालन गर्नुपर्ने बाहेकका अन्य सबै माग सम्बोधन हुनुपर्ने माग गरिन्।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विद्यार्थीका जायज माग सम्बोधन गरिने बताए। अनलाइनबाट परीक्षा संचालन गर्न भने सम्भव नभएको उनको भनाइ छ।
साउन १९, २०७८ मंगलबार १६:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।