वीरका स्वास्थ्यकर्मीले थुनेका जागेश्वरलाई डिएसपीले ढोका फुटाएर निकाले
काठमाडौं : कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकारी प्रा. डा. जागेश्वर गौतमलाई त्यहाँका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले बैठक कक्षमै थुनेका छन्।
छलफलका क्रममा डा. गौतमले चिकित्सक–कर्मचारीको माग सम्बोधन गर्न नसकिने बताएपछि उनीहरूले डा. गौतमलाई बैठक कक्षमै थुनेका हुन्।
छलफलका क्रममा आफ्ना माग राख्दा डा. गौतमले ‘पूरा गर्न सक्दिनँ। जे गर्नुपर्छ, गर्नुस्’ भन्दै बैठक कक्षबाट बाहिरिन खोजेपछि उनलाई बैठक कक्षमा भित्रबाट चुक्कुल लगाएर थुनेको एक स्वास्थ्यकर्मीले बताए।
छलफलमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी सय जना उपस्थित थिए।
डा. गौतमसँगकाे छलफलका क्रममा प्रहरी निरीक्षकसहित १/२ जना प्रहरीकाे टोली बैठक कक्षभित्रै रहेको नेपाल स्वास्थ्यकर्मी संघ, वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले जानकारी दिए।
त्यसपछि महानगरीय प्रहरी वृत्त, जनसेवा काठमाडौंका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिलबहादुर मल्ल नेतृत्वकाे २०/२५ जनाको प्रहरी टोली अस्रपताल पुगेकाे थियाे।
डा. गौतमलाई बैठक कक्षमा थुनिएकाे जानकारी पाएपछि आफ्नो नेतृत्वमा २०/२५ जनाको प्रहरी टोली अस्पताल पुगेको डिएसपी मल्लले बताए। त्यसपछि लात्तीले ढोका फोडेर डा. गौतमलाई बैठक कक्षबाहिर निकालेको उनको भनाइ छ।
‘के हो के भनेर ढोका फोरेर छिरेको हो। भयावह हो कि भनेर तोडेको,’ उनले भने, ‘त्यस क्रममा कर्मचारीले कुर्सी प्रहार गर्दा म घाइते भएको छु। मेरो टाउको र आँखामा चोट लागेको छ।’
प्रहरीले बैठक कक्षबाट डा. गौतमलाई बाहिर निकाल्न खोजेपछि चिकित्सक–कर्मचारी र प्रहरीबीच घम्साघम्सी भएको छ।
कर्मचारीले भने प्रहरीले लछारपछार गर्दा ३ जना नर्स र १ जना कार्यालय सहयोगी घाइते भएको बताएका छन्। तर, प्रहरीले बल प्रयोग नगरेको डिएसपी मल्लको दाबी छ।
प्रहरीले डा. गौतमलाई स्कटिङ गरेर अस्पताल बाहिर निकालेको छ।
स्वास्थ्यकर्मी संघ, वीर अस्पतालका अध्यक्ष आचार्यले डा. गौतमलाई भोलिबाट अस्पताल छिर्न नदिइने बताए।
साउन १७, २०७८ आइतबार २२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।