कर्णाली नदीमा डुंगा पल्टिँदा ३ जना बेपत्ता, दुई घाइते
सुर्खेत : कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्।
कैलालीको मोहन्याल गाउँपालिका–३, राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका–४, बिजौरास्थित स्वास्थ्य चौकीमा बालबालिकालाई खोप लगाउन डुंगा चढेर आउँदै आएका तीन जना बेपत्ता भएका हुन्।
यस्तै, आमा र छोरा गरी दुई जना घाइते भएको सूचना पाइएको इलाका प्रहरी कार्यालय, सुँगरखालका इन्चार्ज राजेन्द्रबहादुर कुमालले जानकारी दिए।
डुंगामा १० जना सवार थिए।
‘डुंगा पल्टिएको खबर आएपछि मसहित चार जनाको टोली बाइकमा घटनास्थलतर्फ गइरहेका छौं,’ इन्चार्ज कुमालले भने, ‘करिब दुई घण्टापछि हामी त्यहाँ पुग्छौं। विस्तृत जानकारी त्यहाँ पुगेपछि आउने छ।’
राँगा मलेखाका सर्वसाधारण कर्णाली नदीमा डुंगा चढेरै बिजौरा जाने गरेका छन्। हरेक महिनाको १७ गते बालबालिकालाई बिजौरा स्वास्थ्य चौकीमा खोप लगाइन्छ। मोहन्याल गाउँपालिका जान एक दिन लाग्ने र बिजौरा आउन आधा घण्टा लाग्ने भएका कारण राँगा मलेखाका सर्वसाधारण सुर्खेतको बिजौराबाटै सेवा सुविधा लिने गरेका छन्।
साउन १७, २०७८ आइतबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।