सुर्खेतकाे वीरेन्द्रनगरमा निषेधाज्ञामा कडाइ
सुर्खेत : सुर्खेतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच सय नाघेपछि जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा निषेधाज्ञामा कडाइ गरिएकाे छ।
जिल्ला प्रशासन कार्यालय, सुर्खेतले साउन २२ गतेसम्म थपेकाे निषेधाज्ञामा कडाइ गरिने लागिएकाे हाे।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गएपछि निगरानी बढाउँदै पसल खोल्ने समय तय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
उनका अनुसार कोरोना महामारीको भहावह रोक्न निषेधाज्ञाको मोडालिटीमा केही कडाइ गरिएको हो। तर, वीरेन्द्रनगरमा खाद्यान्न लगायतका अन्य पसल भने आजदेखि बिहान ९ बजेबाट साँझ ६ बजेसम्म पसल खोल्ने निर्णय गरिएको छ।
औषधी तथा औषधीजन्य पसल, पेट्रोल पम्प २४ घण्टा र तरकारी, फलफूल तथा दुधजन्य पसल दैनिक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न सकिने स्थानीय प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ।
कोरोना महामारीको जोखिम कायमै रहेको र निषेधाज्ञा केही खुकुलो भएपछि स्वास्थ्य मापदण्डको पालना नगर्दा संक्रमण बढेको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रवीन खड्काले बताए।
‘निषेधाज्ञा खुकुलो भएसँगै कसैले पनि स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन,’ खड्काले भने, ‘मापदण्ड पालना नगर्दा कोरोना संक्रमण फेरि बढिरहेको छ। सबैले स्वास्थ्यको मापदण्ड पालना गरेर रोकथाममा साथ दिन आवश्यक छ।’
डा. खड्काले पछिल्लो समय टाइफाइट, डेंगु, मलेरियाका बिरामी पनि बढ्दै गएको उल्लेख गरे। ‘कोरोनाको लक्षण भएकामा पनि ज्वरो र खोकी हुन्छ,’ खड्काले थपे, ‘माथि उल्लेखित तीन रोगका संक्रमितमा पनि सोही लक्षण देखिँदा स्थिति जटिल बन्ने खतरा छ, सबै सजक हुन जरुरी छ।’
कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ३० हजार २ सय ७४ पुगेको छ। शनिबारको रेकर्ड अनुसार सबैभन्दा बढी जुम्लामा २४ जनामा कोरोना देखिएको छ। यस्तै, सुर्खेतमा २२, रुकुम पश्चिममा १७, मुगुमा ८, कालिकोटमा ५, हुम्लामा ३, दैलेखमा २ र अन्य २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेशमा सक्रिय संक्रमित ६ सय ८७ छन्, जुन शुक्रबारको तुलनामा बढी हो। कर्णालीमा दुई दिनयता कोरोना संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन्।
साउन १७, २०७८ आइतबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।