मूर्तिकलाबाट संगीततिर मोडिएका फिरोज
काठमाडौं : कुनै बेला मूर्ति बनाउने फिरोज बज्राचार्य अहिले म्युजिक एरेञ्जर तथा कम्पोजरका रूपमा परिचित छन्। उनी अहिलेका व्यस्त म्युजिक एरेञ्जर तथा कम्पोजर हुन्। पहिलो र दोस्रो लहरको कोरोना महामारीमा पनि उनी उत्तिकै व्यस्त रहे।
रेकर्डिङ र कम्पोजरका रूपमा उनको संलग्नता बेजोड छ। त्यति मात्रै होइन, उनी गितार र सरोदवादक पनि हुन्।
पाटनमा जन्मेका फिरोजको सानो बेला चकचकेपनाको कारण दुर्घटनामा परेर टाउकोमा घाउ लागेको थियो। ६–७ मा पढ्ने बेला त्यसको असर बढ्न थाल्यो। नसा च्यापेको कारण गाह्रो भएर एसएलसी दिन पाएनन्।
त्यही कारण उनी बुबाकै पेशा मूर्ति बनाउनतिर लागे। उनले वर महाविहारमा चित्रकला र मूर्तिकलासम्बन्धी कक्षा लिएर घरमै मूर्ति बनाउन थाले। त्यसै बेला उनले टिभी–रेडियो बनाउन पनि सिकिसकेका थिए। उनलाई नयाँ काम केही देख्यो भने सिक्ने हुटहुटी जाग्थ्याे।
संगीततिर मोडिएको यात्रा
उनी बस्ने चोक भिन्सीबहालमा गायक दीपक बज्राचार्य पनि बस्थे। दीपकको गितारवादन र गायन सुनेपछि उनलाई संगीतले मोहनी लगायो। त्यसपछि उनले दीपकसँग दुई महिना नियमित संगीत सिके।
उनलाई संगीतको नशाले छुँदै थियो। त्यही बेला पाटनको सुन्धारास्थित द वाल ब्याण्डका सदस्यसमेत रहेका साथी पवनकुमार श्रेष्ठसँगै उनी त्यहाँ पुगे। उनलाई त्यहाँको सांगीतिक माहौल मनपर्यो।
त्यसपछि सधैंजसो ब्याण्डको प्राक्टिसका बेला फिरोज त्यहाँ पुग्न थाले। ब्याण्डमा कोही सदस्य आएन भने गितार–ड्रम बजाउने जिम्मा पनि उनैले पाउन थाले। उनको रहर संगीततिरै मोडिन थाल्यो।
गितार उनको साथीजस्तै बन्दै गयो। उनी समय मिल्यो कि गितार बजाइहाल्थे। अनि नयाँ–नयाँ पिस म्युजिक बनाउँथे।
सन् २००० मा फिरोजलाई दीपकले आफ्नो ‘असर’ एल्बम दिएर २–३ वटा गीतको कड बजाउन लगाए। उनले त पूरै एल्बमकै कड बजाएर सुनाए।
फिरोजको गितार प्रतिको मोह र लगाव देखेर दीपकले उनलाई आफ्नो ब्याण्डको गितारिस्ट बनाए। त्यही ब्याण्डवाट उनी गितारिस्टको रूपमा चिनिए।
फिरोजले दीपकको स्टुडियोमा काम पनि सिके र म्युजिक एरेञ्जरको रूपमा काम गरे। पछि उनले आफैले घरमै ज्योति रेकर्डस् स्टुडियो खोले।
भिन्सीबहालस्थित पाटनको गल्ली भित्रको उनको स्टुडियोमा अहिले नेपालका चर्चित गायक–गायिकाको भीडै हुन्छ।
उनले ब्याण्डमार्फत धेरै देशमा सांगीतिक कार्यक्रम लिएर जाने मौका पाए। उनीसँग अमेरिकामा पाँच महिना कार्यक्रम गरेको अनुभव पनि छ।
ब्याण्डको ग्यापमा सरोदवादनदेखि क्लासिकल मोह
तीन वर्ष ब्याण्डको ग्यापमा उनले केही नयाँ बाजा सिक्ने सोच बनाए। फ्रेटलेस बाजा सिक्ने रहरले सरोदवादक सुरेशराज बज्राचार्यसँग सरोद बाजा सिके।
पप संगीतबाट क्लासिकल संगीतप्रति उनको झुकाव बढ्दै गयो। ब्याण्डमा ल्याटिन म्युजिक मात्र कति गर्ने भन्दै यहाँको बाजा पनि राख्दै जाने कन्सेप्टमा वृत्तचित्र बनाए। पछि स्टुडियोमा व्यस्तता बढेकाले ब्याण्डलाई निरन्तरता दिन सकेनन् उनले।
डाफा भजन रेकर्डले जन्मिएकाे प्रोजेक्ट बाजा
नेवारी टोलटोलमा गाउने डाफा भजनको रेकर्ड गर्ने खोकनाबाट तबलावादक लक्ष्मी डंगोल उनको स्टुडियोमा पुगे। फिरोजलाई पहिलेदेखि नै नेवारी संगीतमा काम गर्ने रहर थियो।
स्थानीय संगीत कला संरक्षणको लागि डाफा भजन रेकर्ड गर्ने खोजेको थाहा भएपछि फिरोजले सानो सेटअप लिएर खोकना नै पुगे। भजन छेंभित्र बूढाबूढीले गाएको रेकर्ड गर्दा उनमा अझै ऊर्जा थपियो। नेपालको संगीतलाई रेकर्डिङमार्फत संरक्षण गर्ने सोच आयो।
लुभुका २० वर्षका विपु श्रेष्ठले त्यहाँ ७० वर्षदेखि लोप भएको डाफा भजनको संरक्षण जुटिरहेका थिए। विपुले आफूलाई डाफा सिकेर स्थानीय ५० जनालाई सिकाएका छन्। त्यहाँ पनि रेकर्ड भयो। एउटै सोच भएका विपु, लक्ष्मी र राजीव बज्राचार्य, विश्वास बज्राचार्य मिलेर फिरोजले प्रोजेक्ट बाजाको कन्सेप्ट ल्यायो।
उनी भन्छन्, ‘खोकनामा डाफा भजन रेकर्ड गरेर आएपछि नेपालको आफ्नो संगीतलाई रेकर्डिङमार्फत संरक्षण गर्नुपर्छ भन्ने लाग्यो।’
प्रोजेक्ट बाजाको पहिलो कार्यक्रम जेठ पूर्णिमाको दिन तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लको भजन चलाउने गुठीले कार्यक्रम गर्दथ्यो। जहाँ उनीहरूले डिजिटल्ली रेकर्ड गरेर सुरु गरेका थिए।
नेपालमा मल्लकालदेखि नै नेवार समुदायमा जेठ पूर्णिमालाई वर्षको सबैभन्दा लामो दिन भनेर ललितपुरमा सांगीतिक कार्यक्रम गरेर मनाउने चलन छ।
हामी जुन २१ लाई विश्व संगीत दिवसको रूपमा मनाउँदै आएका छौं।
फिरोजले रेकर्डिङ, विश्वासले भिडियो, अनुप पौडेलले भिडियो एडिटिङ, बाजाको सुरमा लक्ष्मी डंगोल र राजीवले नृत्यको जिम्मा लिने गरेका छन्। प्रोजेक्ट बाजामार्फत उनीहरू नेवारी बस्तीमा गएर त्यहाँको संगीतलाई रेकर्ड गरेर संरक्षण गर्ने काममा जुटेका छन्।
फिरोज भन्छन्, ‘हाम्रा बस्तीका मौलिक संगीत मौखिकरूपमा मात्रै छ। लिखित र रेकर्ड नहुँदा पछिल्लो पुस्ताले बिर्सने सम्भावना देखेर नै हामी यसको संरक्षणमा जुटेका हौं।’
०००
लकडाउनमा धेरै स्टुडियो बन्दजस्तै थिए। तर, फिरोजको स्टुडियोमा व्यस्त रहे। उनको स्टुडियोमा पप, रक, आधुनिक ट्रेडिसनल, र्याप, दोहोरी गीतको साथमा इन्स्ट्रमेन्टल, तिब्बेतियन गीत रेकर्ड हुन्छन्।
उनको स्टुडियोमा राजु लामा, इन्दिरा जोशी, स्वप्न सुमन नियमित रेकर्ड गर्ने आउने कलाकारमध्ये पर्छन्। भर्खरै उनले आफैले कम्पोज गरेको नेवारी गीत राजु लामा र इन्दिरा जोशीलाई गाउन दिएका छन्। राजु लामाको यो नै पहिलो नेपाल भाषाका गीत हो।
स्वप्न सुमनसँगको केमेस्ट्री
स्टुडियोमा गीत रेकर्डका लागि धेरै नयाँ कलाकार आइरहन्थे। त्यसै क्रममा स्वप्न सुमन पनि आफ्नो पहिलो गीत रेकर्डको लागि उनको स्टुडियोमा आइपुगे। उनले ‘कसरी भनू’ बोलको गीत रेकर्ड गरे। र, अडियो दिएर पठाए।
१ घण्टापछि त्यो गीतको लिरिक्स राखिएर बनाएको भिडियोमा भ्युअर्स १ लाख कटेपछि फिरोजले को रहेछ भनेर खोज्न थाले। पछि मात्रै थाहा भयो कभर गीतबाट हिट भएको स्वप्न सुमन उही रहेछ। उनको पहिलो गीत निकै रुचाइयो। त्यसपछि उनी हरेकजसो गीत रेकर्डको लागि फिरोजकै स्टुडियो धाउँछन्। स्वप्न सुमनको २२ वटा गीत फिरोजले नै रेकर्ड गरेका हुन्।
‘ज्योति सिंगिंङ स्टार २०७८’काे आयाेजना
लकडाउनमा ज्योति रेकर्डस्ले ज्योति म्युजिकमार्फत ‘ज्योति सिंगिंङ स्टार २०७८’ अनलाइन प्रतियोगिता आयोजना गरेको छ।
लकडाउनको समयमा घरमै बसेका उनले राम्रो प्रतिभा खोज्ने मेसो बनाएका छन्। २ सय १६ जनाले भाग लिएको सो अनलाइन प्रतियोगिताको तेस्रो राउण्डका निर्णायकको रूपमा संगीतकार राजु सिंह, गायक सुमन कपाली, संगीतकार जुगल डंगोल, गायक धर्मेन्द्र सेवान छन्।
साउन १६, २०७८ शनिबार २१:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।