वाइल्डलाइफ फोटोग्राफर सागरको सुख–दुःख : बीच जंगलमा बाघसँगको त्यो जम्काभेट, यो दिक्दारी

वाइल्डलाइफ फोटोग्राफर सागरको सुख–दुःख : बीच जंगलमा बाघसँगको त्यो जम्काभेट, यो दिक्दारी

काठमाडौं : गाडीमा थिए सागर गिरी, नारायण ढुंगाना, बर्दिया राष्ट्रिय निकुञ्जका गेमस्काउट वीरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल, सवारी चालक देवेन्द्र शाही। उनीहरू बर्दियामा बाघ हेर्ने अनि फोटो खिच्ने योजनामा थिए। 

उनीहरू २ बजेतिर निकुञ्जबाट हिँडे। बाल्कुने भन्ने ठाउँ बाघको बासस्थान हो भन्ने थाहा थियो उनलाई।

‘गाडीभित्र ढुंगाना र मसँगै थियौं। बाँकी दुई जना बाहिर थिए। बाघको आनीबानीसँग परिचित भएकाले गाडीपछाडि भएकालाई होसियार रहन भने,’ उनले भने, ‘चित्तलको फोटो खिच्दै थियौं। वीरेन्द्र र जगत सरले एक्कासि बाघ देखियो भने। यति सजिलै बाघ भेटिएला भन्ने हाम्रो मनमा पनि थिएन।’

सागरका अनुसार बाघले मान्छे देख्नासाथ आक्रमण गर्दैन। यस्तो एकदम कम हुन्छ। बाघ बच्चासँगै छ, बाघ बिरामी छ, अरु बाघले नै बाघलाई लखेटेको छ अनि पहिला नै मान्छे खाइसकेको छ भने त्यस्ताले आक्रमण गरिहाल्छन् रे।

उनले क्यामरा निकालेर फोटो खिच्न थाले। त्यो भाले पाटेबाघ थियो। उनीहरू भएको सडकबाट बाघको दुरी १५ मिटर थियो। पाटेबाघ आफ्नै सुरमा थियो। आक्रमण गर्न आए भाग्न सबैजना गाडीमा तयारी अवस्थामा थिए।

फोटो खिच्न थालेको २ मिनेटजतिपछि बाघ एकाएक आक्रामक भयो। दुई पटक सुतिरहेकै ठाउँबाट गर्जियो। वन्यजन्तुको आनीबानी थाहा भएका उनलाई लाग्यो– अब बाघ आउँछ।

‘मैले ल बाघ अब आउँछ, जाउँजाउँ भनेर गाडीलाई पछाडिबाट ढ्यापढ्याप गरें। नभन्दै बाघ उठिहाल्यो,’ उनले त्यो क्षण सम्झिए, ‘हेर्दाहेर्दै झम्टिन आँट्यो। चालकले गाडी भगाउन खोज्दा नारायण र वीरेन्द्र सरले गाडी समाउन भ्याउनु भएन। जगत सर र मैले कसो–कसो समात्न सक्यौं। दुई जना सडकमा थचारिनु भयो। बाघ आक्रामक भएर आयो। मैले गाडी तुरुन्तै ब्याक गर्न लगाए। वीरेन्द्र सर गाडीमा धन्न आइपुग्नु भो। ढुंगाना अझै सडकमा उत्तानो। बाघ उहाँकै अघिल्तिर ७/८ मिटरको दुरीमा। ला बर्बाद भयो भनेको ढुंगाना सर बल्लतल्ल उठेर भाग्दै आएपछि बाघ रोकियो। हामीले हल्ला–खल्ला गर्यौं। बाघ त्यही रोकियो।’

वाइल्डलाइफको फोटोग्राफी गर्दाका यस्ता क्षण टन्नै रहेछ उनीसँग।

चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे हात्तीले लखेटेर केही सेकेण्डको फरकले बाँचेका थिए उनी। गैडाले लखेट्दा रुख बुट्यान चढेर बाँचेका छन्। 

०००

सौराहाको नेपाल प्रकृति संरक्षण कोषको कार्यालय अगाडि नै छ उनको घर। एक किलोमिटरको दुरीमा घना जंगल। उनको घर वरपर टन्नै रुख। रुखभरि दिनभर चराचुरुंगी चिरबिर गरेर बस्छन्।

चराचुरुंगीसँगै घुलमिल भएर हुर्किए उनी। जंगली जनावरप्रति बाल्यकालीन मनमै मोह पलाइसकेको थियो उनमा।

जन्मे सौराहामै। चराका अध्येता बाबु टिकाराम गिरीको गहिरो प्रभाव थियो उनमा। घरमै थियो बाइनाकुलर, क्यामरा अनि चराचुरुंगी सम्बन्धी पुस्तक। 
सागरले बाबु अध्येता हुनुको फाइदा पाए। उनी बाबुको बाइनाकुलर समातेर चरा हेरेरै घण्टौं बिताउँथे। चराचुरुंगीको आनीबानी बुझ्न सक्ने भए। 

पढाइमा राम्रै सागरको सपना होटल म्यानेजमेन्ट पढ्ने र बाबुको व्यापार सम्हाल्नु थियो। सोख भने घुमीघुमी चराचुरुंगीका फोटो खिच्ने, चरा हेर्ने, वन्यजन्तुको अवलोकन गर्ने।

चराचुरुंगी अनि वन्यजन्तु देखेर हुर्किएका सागरलाई ती सुन्दर दृष्य फर्कीफर्की हेर्न र कैद गर्न मन लाग्यो। घरमै थियो एएलआर क्यामरा। घर नजिकैका फूल, चराचुरुंगीका फोटो खिचेर अभ्यास सुरु गरे।

विस्तारै घर छेउछाउ आइरहने गैँडा र हात्तीका फोटो खिच्न थाले। आफूले खिचेको तस्बिरमा झन् राम्रो देख्न थाले उनीहरूलाई।

फोटो खिच्दाखिच्दै वन्यजन्तुको आनीबानीबारे विस्तारै जान्न थाले। त्यसमा सघाउनै उनको बाबु छँदै थिए। र, आफैले अध्ययन पनि गर्न थाले। 

सागरको फोटो खिच्ने रहर परिष्कृत हुँदै गयो। पारिवारिक जमघटमा उनको माग हुन थाल्यो क्यामेरा पर्सनको रूपमा। ‘सागरले राम्रो खिच्छ’ भन्न थाले आफन्तले।

‘हाम्रो पारिवारिक जमघटको फोटोमा म निकै कम देखिन्छु,’ सागर भन्छन्, ‘मलाई अरुले खिचेको फोटो चित्तै नबुझ्ने। के मिलेको छैन लाग्ने सानैदेखि। घरकाले पनि अरुको भन्दा मैले नै खिचेको फोटो राम्रो हुन्छ भन्न थाले। अनि त म हाम्रो घरको अफिसियल फोटोग्राफर भइहालें।’

सबैले राम्रो खिच्छौं भन्न थालेपछि उनको मन क्यामरामा टाँसिँदै गयो। परिवारले पनि विस्तारै उनमा वन्यजन्तुको तस्बिर खिच्ने मोह बढाउँदै लगिदिए अनुकूल वातावरण बनाएर।

स्कुले जीवनबाटै फोटोग्राफीको अभ्यासमा उत्रिए पनि फोटोग्राफीलाई नै पेशा बनाउँछु भन्ने उनको सोच थिएन। त्यो केवल रहर थियो।

विस्तारै एनिमल प्लानेट, नेसनल जियोग्राफी जस्ता टेलिभिजन च्यानल हेर्दाहेर्दै उनलाई रमाइलो लाग्न थाल्यो। त्यसमा देखिने दृष्यभन्दा कहाँ कम थियो उनले देख्ने दृष्य पनि।

उनको मनमा बढेको चराचुरुंगी र वन्यजन्तुप्रतिको मोहबारे परिवार जानकार थियो। तर, सागरको भित्री सपना त्यसैसँग जोडिएला भन्नेचाहिँ थिएन। 

०००

सन् २०११ मा सागर अस्ट्रेलिया पुगे। लामै बसोबासको योजना बनाएका उनको मन धेरै अडिएन त्यता। सन् २०१४ मा नेपाल फर्किए। 

‘फोटो खिच्न मन पर्ने। तर, पेशा नै यही बनाउँछु भन्ने थिएन मनमा। मलाई त बाबाको व्यापार सम्हाल्दै, आफैं पनि व्यापार गर्नु थियो,’ सागर भन्छन्, ‘म विदेश गएपछि चराचुरुंगी र वन्यजन्तु खुब मिस हुन थाल्यो। हाम्रै देशको डाँडाकाँडाको झल्को आइरहने। जीवनमा ठूलै कुरा मिस गरिरहेछु भन्ने लागिरहने।’

सन् २०१४ मा उनी पढाइ बीचैमा छाडेर नेपाल फर्किए। छोरो लक्ष्य पूरा नगरी नेपाल फर्किँदा परिवारमा चिन्ता त भयो नै। तर, सागर नेपाल फर्कनुअगाडि किन फर्कने भन्नेमा प्रष्ट थिए। 

०००

नेपालमा प्रयोग हुने अधिकांश वन्यजन्तुको तस्बिर आफ्नै हो जस्तै नलाग्ने उनलाई। मिडियामा आउने तस्बिरमा देखिने बाघ पनि कताको हो कताको।

सरकारी कार्यालय गयो रूपरंगै नमिल्ने तस्बिरहरू। उनले नेपालमा वाइल्ड लाइफको फोटो खिच्ने कोही छन् कि भनेर खोजे। तर,  केहीले प्रोजेक्टका लागिबाहेक व्यावसायिकरूपमा वाइल्ड लाइफ फोटोग्राफी गरेको भेटेनन्। 

‘नेपाली मिडियाले हाल्ने फोटोमा धेरै समस्या देखें मैले। बाघको समाचार हुन्छ तर फोटो कताको हो कताको। हेर्दा जताको बाघ नि उस्तै लागे पनि हाम्रै हो कि अन्तको थाहा हुन्छ नि,’ उनले भने, ‘हाम्रो पैसामा पनि विदेशी हात्तीकै तस्बिर। बाघको फोटो हाल्न परे भारततिरको फोटो हाल्नु पर्ने।’

उनी आफै तात्तिए व्यावसायिक रूपमा वाइल्ड लाइफ फोटोग्राफी गर्न। परिवारलाई आफ्नो योजना सुनाए। र, मनाउन सफल पनि भए। 

तर, समस्या लगानीमा आयो। पहिला लगानी गरेपछि वन्यजन्तुको फोटोग्राफी गरेर आर्थिक रूपमा बलियो हुन सकिन्छ भनेर परिवारलाई मनाए। डिएसएलआर क्यामरा किने। उनको पहिलो फोटो नै सामाजिक सञ्जालमा भाइरल भयो। 

‘हातमा क्यामरा आउनुअघि नै मैले सैद्धान्तिक ज्ञान लिइसकेको थिएँ। साँझतिर काठमाडौंबाट क्यामेरा आइपुग्यो। गैंडा र जरायो चरिरहेको फोटो खिच्न पाएँ।

त्यो फोटो सामाजिक सञ्जालमा धेरैले मन पराए,’ सागर भन्छन्, ‘त्यसपछि मेरो झन् जोश बढ्यो। वन्यजन्तुको फोटो खिच्न थालें।’

सामाजिक सञ्जालमार्फत उनले खिचेका तस्बिर फैलन थाल्यो इन्टरनेटको दुनियामा। कतिले आफ्नो मोबाइलको वाल पेपर बनाएर राखे। कतिले ग्यालरीमा सेभ गरे। 

आफ्नो फोटोबारे राम्रो प्रतिक्रिया आउन थालेपछि उनले उपकरण बढाए। क्यामराका उपकरणसँगै सवारी साधन चाहिन्थ्यो। सबै जोडे ऋण गरेर।

ऋण लिएर सामान त किने। तर, त्यसको लागत गज्जबका फोटोहरूले पनि उठाउन सकेन। प्रशंसा त मनग्य पाए। तर, त्यसले मात्र ऋण तिरिँदैनथ्यो। फोटोग्राफी उनको सोख मात्र थिएन। व्यवसाय बनिसकेको थियो। तर, व्यवसाय सोखझैँ बनिदियो।

ज्यान जोखिममा पारेर लिएको तस्बिरको मूल्य सुन्दा उनको धेरै पटक चित्त दुखेको रहेछ। एउटा घटना बाँडे उकेरासँग।

चितवनमा नेपाल पर्यटन बोर्डको एक कार्यक्रममा पर्यटन बोर्डका एक वरिष्ठ पदाधिकारीले उनलाई मासिकरूपमा फोटो पठाउन प्रस्ताव गरे। ती अधिकारीले १५–२० वटा फोटो पठाए महिनाको ५ हजार दिने पो भने। उनको अर्को प्रस्ताव थियो– बोर्डको कार्ड बनाइदिने। सागरलाई यो प्रस्तावले नराम्रोसँग मन बिझ्यो। 

‘जंगल जाऊ, त्यहाँ बस। ज्यानको जोखिम मोल। एउटा फोटोको लागि कहिले त १ महिना पनि लाग्छ,’ उनले भने, ‘तर, नेपालको पर्यटन विकासको जिम्मेवारी बोकेकाले नै १५–२० तस्बिरको महिनाको ५ हजार पारिश्रमिक दिन्छु भन्दा साह्रै चित्त दुख्यो। बेकारमा नेपाल फर्किइएछ भन्ने लाग्यो। यो त मेरो पेशाको अपमानै हो नि।’

यो बीचमा उनले यस्ता धेरै घटना व्यहोरिसकेका रहेछन्। सित्तैमा तस्बिर माग्नेलाई मिल्दैन भन्दा जाबो एउटा तस्बिर दिन पनि यस्तो भाउ खोजेको भन्नेहरू टन्ने भेटेका रहेछन् उनले। क्यालेन्डरमा तस्बिर राख्न माग्ने। तर, पैसा दिन नचाहने। मिडियामा तस्बिर मागेर पैसा नदिने घटना त कति कति।

‘वाइल्डलाइफ फोटोग्राफी महँगो छ। लागानीको हिसाब त परको कुरा। यस्तै परे ट्राभल खर्च पनि उठ्दैन। तर, निजी क्षेत्र होस् वा सरकारी कुनै तहले पनि लगानी र दुःखै बुझिदिएन,’ दिक्कै मान्दै उनले भने।

कति दिन धैर्य गर्न सकिन्छ र। खै त कमाइ भन्ने परिवारको प्रश्नको उत्तर खोज्न उनले वाइल्डलाइफ फोटोग्राफीसँगै इभेन्ट फोटोग्राफी सुरु गरे। जंगलको बीचमा चल्ने औँला विवाहको भिडमा चलाउन थाले। कमाई ठिकै हुने रहेछ त्यसमा। तर, उनको मन भनेको उतै जंगलतिरै पुग्छ। जनावरको सौन्दर्यमा रमाउने उनको मनमा मान्छेको सुन्दरतामा अडिनै सकेको छैन।

ट्राभल एजेन्सी, विभिन्न पुस्तक, क्यालेन्डर बनाउनेले इन्टरनेटमा अर्कै देशका वाइल्डलाइफका तस्बिर राख्नुको साटो आफूजस्तैको तस्बिर लिइदिए आर्थिकरूपमा केही आड हुन्थ्यो कि भन्ने लाग्दो रहेछ उनलाई। 

सरकारी निकायले कता–कताको तस्बिर प्रयोग गर्नुको साटो आफ्नै देशको तस्बिर किनिदिए आडभरोसा हुने थियो। सामान्य विषय हुन् यी। तर, उनको नजरमा बडो जटिल।

बजेट भएको सरकारी कार्यालयका हाकिमले ‘जाउ त सागरसँग फोटो मागेर ल्याऊ। तिमीलाई त सित्तैमा देला’ भनेर पठाएका घटना सम्झदा दिक्क हुन्छन् उनी।  
‘मैले काम सुरु गर्दा ट्राभल एजेन्सी, सरकारी प्रयोजन, व्यक्तिगत प्रयोजन र अन्तर्राष्ट्रिय मिडिया मेरो फोटोको बजार हो भनेर बुझेको थिए। तर, नेपालभित्र सित्तैमा खोज्ने मात्र बढि रहेछन्,’ उनले भने, ‘न पेशाको कदर छ न मिहेनतको।’ 

उनलाई राष्ट्रिय निकुञ्ज विभागले वाइल्डलाइफ फोटोग्राफीमा प्रोत्साहन गरेको रहेछ। तस्बिर खिच्न निकुञ्जहरूमा जान अनुमति दिएकाले धेरै सजिलो बनाएको बताउँछन् उनी। तै पनि आर्थिक पक्ष सम्झदा भने दिक्क हुन्छन् उनी।

अहिले उनलाई लागिरहेको रहेछ, ‘नेपाल फर्कनु नै गल्ती थियो कि !’ 

उनले भने, ‘सायद, म अब फेरि विदेश नै जान्छु। बरु उतै खिच्छु वाइल्डलाइफ।’

साउन १४, २०७८ बिहीबार २२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।