मनकला मृत्यु प्रकरण : भतिजोसहित दुई किशाेर पक्राउ, एक नियन्त्रणमा

मनकला मृत्यु प्रकरण : भतिजोसहित दुई किशाेर पक्राउ, एक नियन्त्रणमा

सुर्खेत : मकैबारीमा मृत भेटिएकी रुकुम पश्चिमकी मनकला खड्काको मृत्यु प्रकरणमा भतिजो (जेठाजुकाे छाेरा)सहित दुई किशाेर पक्राउ परेका छन्। 

कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका अनुसार उनीहरूलाई मंगलबार राति पक्राउ परेको जनाएको छ।

प्रहरीसँगको बयानका क्रममा भतिजोसहित दुई जना किशोरले हत्या गरेको स्वीकार गरेपछि प्रहरीले उनीहरूलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो। 

प्रदेश प्रहरी कार्यालय, सुर्खेत र जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले मनकलाको साथबाट गहनालगायत सामान लिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

उक्त घटनामा साेधपुछका लागि एक जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ। ती व्यक्तिकाे भने परिचय खुलाइएकाे छैन। 

त्रिवेणी गाउँपालिका–४, छहरे गाउँकी २६ वर्षीया मनकला खड्का सोमबार राति मृत भेटिएकी थिइन्। 

सोमबार बेलुका ६ बजेतिर भैंसीलाई घाँस हाल्न गोठमा गएकी उनी रातीसम्म पनि नफर्किएपछि परिवार र आफन्तले खोज्ने क्रममा मकै बारीको कान्लामा मृत भेटिएकी थिइन्।

साउन १४, २०७८ बिहीबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।