वीर अस्पतालले ३९ करोडमा किनेको टोमोथेरापी मेसिन प्रयोग नै नगरी थोत्रियो
अस्पतालमा ठाउँ तयार नभएकाले साढे दुई वर्ष अघिदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको चौरमा दुई वटा कन्टेनरमा मेसिन राखिएको छ। मेसिन राखिएकै ठाउँमा बिग्रिएको छ। स्रोतका अनुसार कन्टेनर प्वाल परी मेसिनको पाटपुर्जामा खिया लागेको छ।
‘टोमोथेरापी’ मेसिन नहुँदा वीर अस्पतालमा क्यान्सरका बिरामीले सेवा लिन पाएका छैनन्। अर्कातर्फ मेसिन नै बिग्रिएकाले नयाँ ल्याउनुपर्ने अवस्था निम्तिएको अस्पतालले जनाएको छ।
कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी प्राडा जागेश्वर गौतमले मेसिनमा पानी पसेर खिया लागेर बिग्रिएकाले सप्लायर्सलाई नयाँ मेसिन नै ल्याइदिन पत्र लेखिसकेको जानकारी दिए।
‘त्यस (मेसिनमा) पानी पसेर खिया लागेर बिग्रिएको छ भनेर अर्को मेसिन नै रिप्लेस गरिदिन पठाएको छौं,’ डा. गौतमले भने, ‘तिम्रो बिग्रिएको मेसिन लिएर जाऊ, हामीलाई नयाँ मेसिन देऊ भनेर लेखेर पठाएको छौं। सायद उनीहरुले त्यो मेसिन लगेर नयाँ ल्याइदिन्छन् होला। त्यही लाइनबाट कुराकानी भइरहेको छ।’
सप्लायर्स कम्पनीका इन्जिनियरले हेर्दा मेसिनका पार्टपुर्जा बिग्रिएको पाइएपछि नयाँ ल्याइदिनका लागि पत्र लेखेको उनले जानकारी दिए।
डा. गौतमले भने, ‘इन्स्टल गर्ने इन्जिनियरहरुले हेरे। डिफेक्ट देखेपछि त्यस्तो मेसिन ल्याएर यहाँ जोड्ने कुरा आएन नि। हामीलाई त पैसा तिरेपछि ब्राण्ड न्यु राम्रो काम गर्ने मेसिन चाहियो।’ सप्लायर्सले नयाँ मेसिन नै ल्याइदिने वचन दिएको डा. गौतमले बताए।
मेसिन सप्लाई गर्ने नेपाली एजेन्टलाई बोलाएर अस्पतालले चाँडै ल्याइदिनु भनेको डा. गौतमले जानकारी दिए। उनले भने, ‘नेपाली एजेन्टलाई बोलाएर हामीलाई छिटो मेसिन चाहियो। छिटो रिप्लेस गर्नुहोस् भनेका छौं। उनीहरु (सप्लायर्स) ले कम्पनीलाई पत्र लेखिदिनुहोस् भनेर हामीले लेखिदिएका छौं। हामीले फलोअप गरिरहेका छौं।’
आफू युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा नियुक्ति भएर जानेवित्तिकै मेसिन राख्नका लागि पहल गरेपछि सप्लायर्सले नयाँ मेसिन ल्याउनका लागि ३ महिनाको समय मागेको डा. गौतमले बताए। उनले भने, ‘म आउने वित्तिकै पहल सुरु गरेको हो। ३ महिनाको समय मागेको थियो। अहिले फलोअप गर्दैछु।’
संरचान नै तयार नभई किनियो
कमिसनको चक्करमा वीर अस्पताल व्यवस्थापनले मेसिन राख्ने संरचना नै तयार नभई हतार-हतार मेसिन किनेको थियो।
करिब ५ महिनाअघि नै अस्पतालकी तत्कालीन खरिद प्रमुख नर्स भगवती थपलियाले मेसिन राख्ने संरचना बन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी थिइन्। तर अझैसम्म बंकर तयार भइनसकेको डा. गौतमले जानकारी दिए। उनले भने, ‘तयार हुँदैछ बंकर। कम्प्लिट भएको छैन। अहिले पनि काम भइरहेको छ।’
‘टोमोथेरापी’ मेसिन लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालिसँग २०७४ सालमा ३९ करोड रुपैयाँमा अस्पतालले खरिद गरेको वीर अस्पतालले जानकारी दिएको छ। केही महिनाअघि अस्पतालमा सम्पर्क गर्दा तत्कालीन खरिद प्रमुख थपलियाले मेसिन करिब ३९ करोडमा किनेको पुष्टि गरेकी हुन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका तत्कालीन उपकुलति डा. गणेश गुरुङ र अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतको पालामा यो मेसिन खरिद भएको थियो। उनीहरुले मेसिन राख्ने बंकर नै तयार नभई हतार-हतार मेसिन खरिद गरेका थिए।
डा. गुरुङपछि प्रतिष्ठानको उपकुलपतिमा प्राडा. देवनारायण (डिएन) साह नियुक्त भए। बस्नेतपछि अस्पतालको निर्देशक डा. केदारप्रसाद सेन्चुरी भए। तर न उपकुलपति साहले अस्पतालमा मेसिन जडानका लागि पहल गरे। न निर्देशक सेन्चुरीले नै पहल गरे। प्रतिष्ठानको वृद्धि-विकासमा डा. साह निष्क्रिय जस्तै देखिन्छन्।
कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा प्रमुख प्रशासकीय अधिकारीका रुपमा डा. गौतम नियुक्त भएपछि भने उनले मेसिन जडानका लागि पहल गरेको अस्पताल स्रोतले जानकारी दियो। बिरामीले दुःख पाएकाले मेसिन जडानको पहलका लागि क्यान्सर विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले डा. गौतमसँग अनुरोध गरेका थिए। त्यसपछि मेसिन जडानको पहलले गति लिएको अस्पताल स्रोतले जनाएको छ।
डा. बस्नेत संरचना नै तयार नभई हतार-हतार मेसिन खरिद गर्ने निर्णय प्रक्रियामा सामेल भएका चिकित्सक हुन्। मेसिन अस्पतालमा जडान भएर चलेपछि मात्रै सप्लायर्सबाट हस्तान्तरण हुने उनले बताए। डा. बस्नेत भन्छन्, ‘त्यो त उनीहरुको जिम्मेवारी हो। हाम्रोमा ल्याएर नचलेसम्म त हाम्रो टाउकोमा छँदै छैन नि। अहिलेसम्म त हाम्रो जिम्मेवारीमा आएकै छैन।’
प्रमुख प्रशासकीय अधिकारी डा. गौतम पनि मेसिन चलेर सही तरिकाले काम गर्यो भने मात्रै अस्पतालको जिम्मेवारी हुने नत्र सप्लायर्सले जिम्मेवारी लिनुपर्ने बताउँछन्।
पुरानो मेसिन विसर्जन नगरी नयाँ मेसिन किन?
अस्पतालमा करिब २५ वर्ष काम गरेको ‘कोबाल्ट-६०’ मेसिन बिग्रिएपछि ‘टोमोथेरापी’ मेसिन किनिएको थियो। अस्पतालको रेडियोलोजी विभागका अनुसार ‘कोबाल्ट–६०’ मेसिन २०७२ सलतिर बिग्रिएको हो। त्यो मेसिन बिग्रिएपछि साढे ५ वर्षयता अस्पतालमा क्यान्सरका बिरामीले रेडियो थेरापी सेवा लिन पाएका छैनन्। बिरामीले रेडियो थेरापी गर्न अन्य अस्पताल जानुपरेको छ।
मेसिनको आवश्यकता भए पनि वीर अस्पतालको व्यवस्थापन पक्षले क्यान्सर विभागका विभागीय प्रमुखको असहमतिकै बीच हतार-हतार मेसिन खरिद सम्झौता गरेको अस्पताल स्रोतले बताएको छ।
स्रोतका अनुसार क्यनसर विभाग प्रमुख डा. विवेक आचार्यले पहिलेकै बंकरमा अट्ने किसिमको मेसिन किन्न सुझाव दिएका थिए। उनले नयाँ मेसिन किन्ने भए मापदण्ड अनुसार पहिले संरचना बनाउन सुझाएका थिए। तर डा. विवेक विदेश गएको मौका छोपेर अस्पताल प्रशासनले हतार-हतार मेसिन खरिद प्रक्रिया अघि बढाएको थियो।
व्यवस्थापन पक्षले मेसिन खरिद सम्झौता गर्दा न संरचना निर्माणलाई प्राथमिकता दियो न त मापदण्डकै ख्याल गर्यो। खरिदकर्तालाई अस्पतालले ७० प्रतिशत रकम भुक्तानी गरिसकेको छ। तर मेसिन अहिलेसम्म सशस्त्रको चौरमा खुला आकासमा पानीमा रुझिरहेको छ। खियाले मेसिन थोत्रिँदैछ। यता अस्पतालमा बिरामीले सेवा लिनबाट बन्चित हुनुपरेको छ।
रेडियो थेरापी गर्नुपूर्व सिटी स्क्यान गरिने मेसिन भने जडान भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
अस्पतालको क्यान्सर विभागका प्रमुख डा. आचार्यका अनुसार क्यान्सर कहाँसम्म फैलिएको छ भनेर सिटी स्क्यान गरिन्छ। त्यसैको आधारमा बिरामीलाई रेडियो थेरापी दिइन्छ। तर ‘टोमोथेरापी’ मेसिन प्रयोग नभई सिटी स्क्यान मेसिन मात्रै जडान गरेर काम नहुने चिकित्सक बताउँछन्।
सप्लायर्सले पुरानो मेसिन विसर्जन गर्ने र संरचना तयार गरेर नयाँ मेसिन ल्याउने सम्झौता भएको अस्पतालका तत्कालीन निर्देशक डा. बस्नेतले जानकारी दिए।
डा. बस्नेत उल्टै मेसिन ढिलो जडान हुनुमा अस्पताल र मेसिन सप्लायर्स कम्पनीको दोष नभएको भन्दै पन्छिए। नयाँ मेसिन ल्याउने सप्लायर्सले अस्पतालमा भएको पुरानो ‘कोबाल्ट-६०’ मेसिन विसर्जन गर्न लान नसक्दा नै नयाँ मेसिन चाँडै जडान हुन नसकेको डा. बस्नेतको तर्क छ। डा. बस्नेत भन्छन्, ‘हाम्रो अस्पतालमा भएको कोबाल्ट-६० फाल्न सकिएन। समस्या त मेसिन (नयाँ) ले गरेको हैन। हाम्रो भएको सोर्स फाल्न हाम्रोमा न्युक्लियर ऐन थिएन। अहिले पनि छैन।’
अमेरिका लगायत मेसिन लाने बाटोका मुलुकमा पनि अनुमति लिनुपर्ने भएकाले कोबाल्ट-६० विसर्जन गर्न ढिला भएको डा. बस्नेतको तर्क छ। जुन प्रक्रिया मिलाउँदा-मिलाउँदै कोरोना भाइरस सुरु भएर काम ढिला भएको उनको दावी छ।
‘ऐन-कानुनले गर्दा डिस्पोज गर्न उसलाई (सप्लायर्सलाई) ढिला भयो। न्युक्लियर मेट्रियलको त नेपालमा कानुन छैन, मान्छेले बुझेकै छैनन्। न्युक्लियर ऐन कडा छ नि बाहिरको लागि त,’ डा. बस्नेतले भने, ‘यसमा सप्लायर्सको पनि केही गल्ती छैन। हाम्रो पनि गल्ती छैन। कसैलाई दोष दिन हुन्छ जस्तो त मलाई लाग्दैन।’ नियम, कानुन र महामारीले गर्दा केही ढिला भएको उनको तर्क छ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को गाइडलाइन अनुसार टोमोथेरापी मेसिन राख्ने संरचना बनाउनुपर्ने हुन्छ। गाइडलाइन विपरीत संरचना बनाए रेडियसनको चुहावट हुँदा मानव स्वास्थ्यका लागि घातक हुन्छ।
त्यसो त अस्पतालले टोमोथेरापी मेसिन राख्ने संरचना (बंकर) निर्माण गर्न र बिग्रिएको पुरानो मेसिनको ‘रेडियो आइसोटप’ धातु विसर्जन गर्नका लागि टोमोथेरापी मेसिन खरिद गर्ने कम्पनीलाई अस्पतालले ६ करोड ६६ लाख ६६ हजार ४ सय ३० रकम दिने निर्णय नै गरेको थियो। जसमध्ये कम्पनीले ३ पटकमा २ करोड ५० लाख रकम लिइसकेको र बाँकी रकम बंकर तयार भएपछि मात्रै भुक्तानी हुने अस्पतालले गत फागुनमा बताएको थियो।
सप्लायर्सले बिग्रिएको पुरानो मेसिनको रेडियसन क्यानडा लगेर डिस्पोज गरिसकेको यसअघि नै अस्पतालले बताइसकेको छ। पुरानो भवनको त्यही पुरानै मेसिन राखेको ठाउँमा नै नयाँ मेसिन राख्ने बंकर बनेको हो। पुरानो मेसिन निकालेर बंकर खाली नगरी नयाँ मेसिन ल्याउँदा समस्या निम्तिएको हो।
डा. गौतम भन्छन्, ‘पुरानो मेसिन ननिकाली नयाँ राख्न नमिल्ने। त्यो पुरानो मेसिन जसले सप्लाई गरेको उसले मात्रै लान पाउने रहेछ। त्यो बेला बाहिर लान प्रविधिक रुपमा गाह्रो भएको रहेछ। त्यसैले बंकर बनाउन ढिला भएछ। व्यवस्थापनकै कुरा थियो त्यसमा। यदि बंकर रेडी छैन भने किन मेसिन ल्याइहाल्ने?’
खरिदमा त्रुटि
२०७१ जेठ १८ गते प्रतिष्ठानका उपकुलपति गुरुङको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा उपकरणहरु खरिद गर्ने निर्णय गरेको थियो।
त्यसपछि टोमोथेरापी मेसिन खरिद गर्नका लागि ‘कस्ट इस्टिमेट एन्ड स्पेसिफिकेसन’ समिति गठन भएको थियो। यो मेसिनको लागत तयार गर्न अस्पतालको क्यान्सर विभागकी डा. आरती शाहको संयोजकत्वमा डा. कञ्चन अधिकारी र बायोमेडिकल इन्जिनियर स्मृति काफ्ले गरी ३ सदस्यीय समिति गठन भयो।
सो समितिले मेसिन खरिद गर्नका लागि लागत तयार गर्नुका साथै समितिले ३ वटा फर्मसँग मेसिनको लागतको दररेट माग गरेको थियो। प्राप्त तथ्यांक अनुसार ३ वटा नै फर्मले अमेरिककाको ‘एक्युर मेडिकल’ ले उत्पादन गरेको टोमोथेरापी मोडलको मेसिन उपलब्ध गराउने भन्दै दररेट अस्पतालमा पेस गरे।
दररेट पेस गर्ने क्रममा ‘लाइफ ट्रेड इन्टरनेसनल प्रालि’ ले ४३ करोड ४० लाख ४० हजार अमेरिकी उपलब्ध गराउन सकिने भनेको थियो। त्यसैगरी ‘ग्लोबल मेडिटेक इन्टरनेसनल प्रालि’ ले ४३ लाख २५ हजार डलरमा मेसिन उपलब्ध गराउने गरी दररेट पेस गरेको थियो भने ‘हस्पिटेक इन्टरनेसनल प्रालि’ले ४३ लाख १० हजारमा मेसिन उपलब्ध गराउन सकिने गरी दररेट पेस गरेको देखिन्छ।
प्राप्त तथ्यांक अनुसार ३ वटा फर्मले पेस गरेको दररेटलाई आधार बनाएर अस्पताल प्रशासनले मेसिन खरिदका लागि भ्याट बाहेक ४० करोड ३३ लाख ३८ हजार ४ सय लागत अनुमान स्वीकृत गरेको थियो।
लागत अनुमान स्वीकृत भएपछि गोरखापत्र दैनिकमा २०७४ साल जेठ २१ गते मेसिन खरिदका लागि बोलपत्र आह्वानको सूचना प्रकाशित भएको थियो। सूचना प्रकाशित भएपछि मेसिन खरिदका लागि ‘इस्ट वेस्ट कन्सर्न’ र ‘लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालि’ले मात्र बोलपत्र पेस गरेका थिए। ‘ग्लोबल मेडिटक इन्टरनेसनल प्रालि’ले बोलपत्र पेस गरेन।
दुई वटा बोलपत्र पेस गर्ने फर्ममध्ये पनि ‘इस्ट वेस्ट कन्सर्न’ ले त जमानत वापतको रकम नराख्दा उसको बोलपत्रले कानुनी मान्यता नै पाएन। जसले गर्दा ‘लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालि’ले नै टोमोथेरापी मेसिन खरिद गर्ने मौका पायो।
वीर अस्पताल प्रशासन र सप्लायर्स (फर्म) बीच २०७४ असार २९ गते खरिद सम्झौता भएको थियो। सोही दिन नै एलसी खोलेर अस्पतालबाट खरिदकर्ताले मेसिन खरिदका लागि करिब ७० प्रतिशत रकम लगेको थियो।
अस्पतालमा टोमोथेरापी मेसिन खरिद प्रक्रियामा त्रुटि औंल्याउँदै राष्ट्रिय सतर्कता केन्द्रले अध्ययन प्रतिवेदन समेत तयार गरेको छ। केन्द्रले अनियमितता भए/नभएकोबारे थप अध्ययन गर्नुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन पेस गरे पनि यस विषयमा अख्तियारले अहिलेसम्म कारबाही गरेको छैन।
साउन १४, २०७८ बिहीबार ०७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।