विवादित भगवतीलाई वीरको खरिद एकाइबाट हटाइयो
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का उपनिर्देशक डा. नवीन पोख्रेलले करिव १५ दिनअघि थपलियालाई खरिद एकाइ प्रमुखबाट हटाइएको जानकारी दिए।
सरकारले हालसालै जारी गरेको निर्देशिका अनुसार थपलियालाई खरिद प्रमुखको जिम्मेवारीबाट हटाइएको उनको दाबी छ। उनले भने, ‘निर्देशिकामा कार्यालय प्रमुखभन्दा एक तह तल्लो कर्मचारीलाई खरिद एकाइ प्रमुखको जिम्मेवारी दिने प्रावधान छ। त्यही अनुसार नै हामीले खरिद प्रमुख चेन्ज गर्याैं।’
थपलियाले भने आफू व्यस्त हुने भएकाले खरिद एकाइ प्रमुखको जिम्मेवारीबाट बाहिरिएको दाबी गरिन्। उनले भनिन्, ‘म न्याम्सको कर्मचारी हो। करिव ६ वर्ष खरिदमा काम गरेँ। घरायसी व्यस्तताले गर्दा खरिद एकाइको जिम्मेवारीमा बसिनँ।’
थपलियामाथि अस्पतालमा विभिन्न सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लाग्दै आएको छ। उनी इकाइ प्रमुख भएपछि भएका अधिकांश खरिद विवादीत छन्। ३९ करोडमा खरिद गरिएको टोमो थेरापी मेसिन खरिद, इन्ट्रा अपरेटिभ मेसिन खरिद विवादित भएकी थिइन् उनी। उनी ६ वर्षदेखि नै अस्पतालको खरिद इकाइमा कार्यरत थिइन्। उनी नर्स हुन्।
वीर अस्पतालमा भएका अनियमितता सम्बन्धी अनुसन्धान गर्न स्वास्थ्य मन्त्रालयले गठन गरेको समितिले वीरले गरेको अधिकांश खरिद प्रक्रिया अपारदर्शी देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानबिन गर्नुपर्ने सुझाव दिएको थियो।
वीरमा जति पटक निर्देशक बदलिए पनि भगवतीले भने सधैँ खरिद इकाइकै जिम्मेवारी पाउँदै आएकी थिइन्। वीरको खरिद लगायतका विषयमा राष्ट्रिय सतर्कता केन्द्रले समेत छानबिन गरिरहेको छ।
यता नवनियुक्त खरिद इकाई प्रमुख मिश्रले निर्देशिका बमोजिम आफूले जिम्मेवारी पाएको दाबी गरे। उनले उकेरासँग भने, ‘साउन १ गतेबाट खरिद एकाइको जिम्मेवारी सम्हालेको हो।’
अस्पतालको प्रमुख प्रशासकीय अधिकारी स्तरीय निर्णय अनुसार आफूले खरिद एकाइको जिम्मेवारी सम्हालेको उनले बताए। उनका अनुसार गत असार २३ गते सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त निर्देशिका जारी गरेको थियो।
अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम छन्।
वीर अनियमितता सम्बन्धी उकेराका सामाग्री
साउन १३, २०७८ बुधबार २२:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।