ब्याच नम्बर ६९ : जर्मन अदालतको त्यो बहस जसले पानी-पानी बनायो

ब्याच नम्बर ६९ : जर्मन अदालतको त्यो बहस जसले पानी-पानी बनायो

पहिलो भागमा सूचना कसरी आयो र उनीहरुलाई कसरी खोजियो भन्ने उल्लेख गरेको थिएँ। दोस्रो भागमा उनीहरु काठमाडौँमा कहाँ बसेका थिए अनि उनीहरुको गाडीबाट कसरी चरेस फेला पर्यो भन्ने उल्लेख गरेको थिएँ। त्यही घटनाको यो अन्तिम भाग हो।

OOO
यता नेपालमा अनुसन्धान चलिरहेकै थियो। नेपालमा पक्राउ परेका चार जना, जर्मनकै समूहका पाँच जना उता जर्मनीमा पक्राउ परेर अदालती प्रक्रियामा गइसकेको थियो। उनीहरु पक्राउको आधार नेपालमा पक्राउ परेका जर्मन र साढे २ सय किलो चरेस नै थियो।

अनुसन्धानकर्ताको रुपमा अदालतमा बयान दिन जर्मनीमै जानुपर्ने भयो। यसरी जाँदा सबै व्यवस्था उनीहरुले नै गर्छन्। मेरो सबै व्यवस्था जर्मनीको अदालतले गरेको थियो। आते-जाते विजनेस क्लासको प्लेन टिकट। उता बस्ने होटल, गाडी, सबै उनीहरुकै।

पक्राउ परेका पाँच जना जर्मन नागरिकको केस जर्मनीस्थित अक्सवर्गको अदालतमा चलेको थियो। म वकपत्रका लागि जानुपर्ने त्यहीं थियो। काठमाडौंबाट सिधा उडान भनेको त फ्र्यांकफ्रट थियो। त्यही गएँ।

विमास्थलमा उत्रिए लगत्तै सहयोग गर्न विमानस्थलभित्रै जर्मन प्रहरी आए। उनीहरुले अध्यागमनको सबै काम फटाफट सक्काइदिए। अनि बाहिर निकाले।

बाहिर २ वटा गाडी थिए मेरा लागि। एउटा बिएमडब्लु अनि अर्को फोर्ड।

उनीहरुले सोधे, 'कुन चाहिँ चढ्ने?'

फोर्ड त चढेकै गाडी हो। बिएमडब्लु चढेको थिइनँ। एक पटक चढिहालौं न भन्ने भयो।
भनें, 'बिएमडब्लु।'

फोर्डमा अरु नै चढे। म बिएमडब्लुमा छिरें। बढो मजाको गाडी। रमाइलो लाग्यो।

जर्मन प्रहरीबाट एक जना महिला पनि आएकी थिइन्। उनी चैँ विसब्याडनतिर लागिन्। त्यहाँ जर्मनीको संघीय प्रहरीको हेडक्वाटर थियो। अक्सवर्गको वकपत्र सकाएपछि म पनि त्यतै जाने कार्यक्रम पनि थियो।

OOO
पहिलो दिन होटलमा बसेर आराम गरें। दोस्रो दिन वकपत्रका लागि अदालत जानुपर्ने थियो। जर्मन प्रहरीले होटलबाट अदालत लिएर गए। वकपत्रको तयारी भइरहेको थियो।

यसो हेरेको त पक्राउ परेकाहरुको तर्फबाट बहस गर्न चार-चार जना वकिल तम्तयार भएर बसेका थिए। यिनीहरुले आज र्याखर्याख्ती पार्ने भए भन्ने त लागिहाल्यो। म पनि उनीहरुलाई ठिक पार्न मानसिक रुपमै तयार भइसकेको थिएँ।

अदालत जानु अगाडि जर्मन फेडरल प्रहरीका एक जनाले पक्राउ परेकाहरुको वकिलबारे जानकारी गराएका थिए। कस्ता छन्, के-के गर्छन् भनेर सबै जानकारी गराएका थिए।

चार जनामध्ये एक जना प्राय: हरेक लागुऔषधको केसमा बहस गरिराख्ने वकिल रहेछन्। उनको काम वकपत्र गर्नेलाई छेउ न टुप्पोको प्रश्न सोधेर हैरान पार्ने।
कन्फ्युज बनाउने पूरै। बिच्कियोस्, रिसाओस् अनि वकपत्रमा कुनै कमजोरी फेला परोस् भन्ने हुने रहेछ उसको लक्ष्य।

पहिलोले बहस गर्दा वकपत्रमा कुनै चुक भए अनि अन्य वकिलले त्यही कमजोरी समातेर र्याखर्याख पार्ने। बडो रणनीतिक।

नेपालमा भने यस्तो हुन्न। नेपालमा वकपत्र भन्यो, लिखित प्रश्नहरु हुन्छन्। उत्तर लेख्यो। प्रत्यक्ष बहस नै कमै हुन्छ। तर त्यहाँ त अदालतमै प्रत्यक्ष सवाल-जवाफ। पूरै फिल्मी पाराकै। प्रश्न सोधेका छन्। उत्तर दियो। फेरि घुमाएर सोध्छन्। अन्टसन्ट प्रश्न गर्छन्। पानीपानी बनाउने।

बहस यस्तै हुने पक्का थियो।

OOO
म मानसिक रुपमा उनीहरुको प्रश्नको सामना गर्न तयार भइसकेको थिएँ। उनीहरु पनि मलाई अत्याउन तयार थिए। अदालतमा इन्टरप्रेटरका लागि मलाई सघाउन २ जना सहयोगी ल्याइएको रहेछ। पहिलो नेपाली भाषा बोल्ने अनि दोस्रो हिन्दी भाषा बोल्ने।

दुवै जनासँग कुरा गर्दा मलाई हिन्दी भाषा बोल्ने अलि म्याच्योर्ड लाग्यो। मैले हिन्दीभाषी सहयोगी नै रोजे।

जर्मन पनि जानेको अनि नेपाली भाषा पनि जानेको एक जना नेपाली महिला मलाई सघाउन आएकी थिइन्। मैले उनलाई 'नरिसाउनु होला है मलाई हिन्दी नै अलि सहज लाग्छ' भनें। उनले सहज रुपमै लिइन्।

वकपत्र सुरू भयो। पाँच जना न्यायाधीश थिए। उनीहरुको चार जना वकिल। जर्मन प्रहरी अनि म। मलाई बोलेको रेकर्ड गर्न रेकर्डर पनि दिएका थिए।

पक्राउ परेका जर्मन नागिरक पक्षका वकिलहरुले प्रश्नको छर्रा हान्न थालिहाले। अत्याउने गरी सवाल गर्न थाले। आच्छु-आच्छु पारे। तर म डराइनँ है।

बहस गर्दागर्दै एक जना वकिलले मैले गलत बोलिरहेको दावी पो गरे। उनको तर्क थियो 'योसँग कुनै कागजपत्र नै छैन। फटाफट बोलिरहेको छ। यसले भनेको कसरी पत्याउन सकिन्छ?'

हुन पनि मैले कुनै कागजपत्र बोकेर लगेको त थिइनँ। उनले जे सोधे फटाफट जवाफ दिइरहेको थिएँ। कुनै कागजपत्र लैजानुपर्ने कारण पनि थिएन। अरुले अनुसन्धान गरेको अनि म वकपत्र गर्न गएको भए पो के-के भएको रहेछ भनेर सम्झन कागजपत्र बोक्ने हो। अब सबै अनुसन्धानमा आफैं संलग्न भएकाले सम्झनलाई कुनै कागजपत्र हेर्नुपर्ने अवस्थै थिएन।

जुन वकिलले यसले भनेको कसरी पत्याउने भनेका थिए, उसैलाई भनें 'मैले भनेको पत्यार नलागे फेरि सोध। म फेरि भन्छु। मलाई केसबारे के-कति थाहा छ, मैले भनेको कतिको सत्य छ भन्ने थाहा भइहाल्छ।'

त्यसपछि ती नरम भइहाले।

एक घन्टा भइसक्यो सवाल-जवाफ भइरहेको। प्रश्न सोधेको सोध्यै। पानी खाउँ-खाउँ बनाइरहेका थिए। एउटाको सोध्न सक्काएको छैन अर्को आइहाल्ने।

कहाँनिर चुक्छ भनेर उनीहरु सोधेको सोध्यै।

नेपालमा जो पक्राउ परे उनीहरु चरेस कारोबारी हुन् भन्ने आधार के छ?, फेला परेको चरेस त्यही गाडीको हो भन्ने आधार के छ?, उनीहरुले नै चरेस ल्याएका हुन् भन्ने आधार के?, पर्यटन भिसामा नेपाल घुम्न गएकाहरु चरेस तस्करीका लागि गएको भनेर किन फसाएको?

यस्तै यस्तै थिए प्रश्नहरु।

म पनि जवाफ दिएको दियै।

किनकी प्रमाण टन्नै थिए नेपालमा पक्राउ परेकाहरु चरेसका कारोबारी नै हुन् भन्ने।

दिनभरि नै बहस हुन सक्थ्यो। तर एक घन्टा भएपछि न्यायधीशले अब पुग्यो भनेर रोके। धन्न सकियो। इजलासबाट बाहिर निस्केर एक बोतल पानी घटघट खाएँ।

उनीहरुको प्रश्न गर्ने शैली र रणनीति देख्दा कतै मुद्दा हारिन्छ कि क्या हो झैँ नलागेको हैन। मुद्धा हार्यो भने इकाइको अनुसन्धानमाथि नै प्रश्न उठ्थ्यो नि। त्यसले नेपालले गर्ने अन्य अनुसन्धानमाथि नै शंका हुन्थ्यो।

नेपालमा मात्र मुद्दा चल्ने मुद्दाको परीक्षण त नेपालमै मात्र हुने हो नि। नेपालमा भएको अनुसन्धान जसको अन्य देशमा पनि परीक्षण हुन्छ नि त्यसले धेरै सिकाउँछ पनि। आफ्नो हैसियत थाहा हुन्छ यस्तोमा।

अन्य देशमा वकपत्रका लागि जाँदा उनीहरुको कस्तो खालको कानुन छ, कोर्टले कस्तो व्यवहार गर्छ, अनि प्रहरीले कसरी काम गर्छ, बहस कस्तो हुन्छ भन्ने अनुभव हुन्छ। यस्ता घटनाले आफ्नो हैसियत त देखाउँछ नै अनुभव पनि गराउँछ।

OOO
भोलिपल्ट म विसब्याडन जानुपर्ने थियो। उतै गएँ।

भोलिपल्टै फोन आयो, 'पाँचै जनालाई कैद भयो।'

पाँच जनामध्ये एक जनाले 'राइट अफ साइलेन्स'को अधिकार लिएका थिए। उसलाई ६ वर्ष कैद सजाय भयो। अन्य ४ जना जसले अपराध स्वीकार गरेका थिए। उनीहरुलाई चार वर्ष कैद सजाय भयो।

नेपालको अनुसन्धान अनि मेरो वकपत्र दुवै सफल भयो। जर्मन प्रहरीहरु खुसी भए।

म एक साता जर्मनी बसेर नेपाल फर्किएँ।

OOO
यता नेपालमा पक्राउ परेका चार जना जर्मनहरुको पनि अनुसन्धान र अदालती प्रक्रिया सकिएर फैसला आयो। चारै जनालाई कैद भयो। उनीहरुविरुद्ध जर्मनीमा पनि केस चलिरहेको थियो। उनीहरुलाई कैद सजाय भएपछि जर्मन प्रहरीले फोन गरेर उनीहरु छुट्ने बेला खबर गर है हामी लिन आउँछौँ भनेका थिए।

ठ्याक्कै उनीहरुलाई कति वर्ष कैद सजाय भयो भन्ने चाहिँ बिर्सिएँ।

उनीहरु जेल पुगे। सजाय सकिने बेला आएपछि जर्मनीमा जानकारी गरायौँ। यी चार जनालाई लिन फेडरल प्रहरीको टोली नेपाल आयो।

उनीहरु नेपालै आए पनि विमानस्थल बाहिर उनीहरुले केही गर्न पाउँदैनन्।

उनीहरुलाई विमानभित्र समेत लैजाने जिम्मेवारी हाम्रै हुन्छ नि। चारै जना छुटेपछि उनीहरुलाई नियन्त्रणमा लिएर विमानस्थल लगेर जर्मन प्रहरीलाई जिम्मा लगायौँ। चारै जनालाई लिएर गयो जर्मनी टोली।

OOO
७० को दशकतिर जर्मनी या बेलायतबाट इरान, अफगानिस्तान अनि भारत हुँदै चरेस कारोबारीहरु पर्यटक बनेर नेपाल आउँथे स्थलमार्गबाटै। अनि जर्मनी समूहझैँ गाडीमा चरेस राखेर फर्कन्थे। जब अफगानिस्तानमा तालिवान बलियो हुँदै आयो स्थलमार्गको यात्रा जोखिमपूर्ण भयो।

त्यस्ता समूह अब भारतसम्म प्लेन र पानी जहाजमा आएर त्यताबाट चाहिँ गाडीमा नेपाल आउन थाले। उनीहरुले गाडी पानी जहाजमा राखिदिन्थे र आफू चाहिँ प्लेनबाट आउने। कलकत्ता गयो, गाडी निकाल्यो, नेपाल आयो। यताबाट स्थलमार्गबाटै भारत गयो। गाडL पानी जहाजमा राख्यो। आफू प्लेनमा गयो।

उनीहरुले चरेस लुकाउने ठाउँ चाहिँ उतै जर्मनीमै बनाएर ल्याएका थिए, बढो चलाखीका साथ। उनीहरुले जसरी धादिङको छत्रे देउरालीमा घर बनाइरहेका थिए त्यसले संगठित रुपमा ठुलो परिमाणमा लामो समयसम्म चरेस तस्करी गर्ने तयारी थियो भन्ने देखायो नै।

यदि उनीहरु नेपालमा पक्राउ नपरेको भए जर्मनी र चिलीको समूह भत्काउन गाह्रै थियो। जर्मनीबाट आएको सूचना पच्छ्याउँदै गरेको अनुसन्धान सफल हुँदा एउटा ठूलो तस्कर समूह भत्कियो।

ब्याचका पुराना अंक

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

साउन १३, २०७८ बुधबार २०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।