सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार 

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार 

प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलको पहलमा आठबीस नगरपालिका–९, छेपाडीकी २५ वर्षीया जुना विकलाई बुधबार दिउँसो हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याइएको स्थानीय रेश्मा विकले जानकारी दिइन्।

ती महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको समन्वयमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकी समाज विकास महाशाखाका प्रमुख अनिता ज्ञवालीले बताइन्।

स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा मंगलबार बिहान दोस्रो सन्तानलाई जन्म दिएपछि विकलाई अत्यधिक रक्तश्राव भएको थियो। 

सुत्केरी भएलगत्तै हेलिकप्टरका लागि खबर गरे पनि मौसम प्रतिकूलका कारण आउन सम्भव नभएपछि उनलाई ठाँटीकाँध प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएर रोकथामको उपाय गरिएको थियो। मौसम अनुकूल भएपछि उनलार्य बुधबार दिउँसो हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पतालमा पुर्याएको हो। 

त्यसपछि अस्पतालमा उपचार थालिएकोमा अहिले रक्तस्राव रोकिएको अस्पतालका डा. केशर ढकालले जानकारी दिए।

साउन १३, २०७८ बुधबार १९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।