विद्यार्थीसँगको वार्तापछि एक हप्ता पछि सारिए एमयुका परीक्षा
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी कायम रहेको भन्दै अनलाइन परीक्षा सञ्चालनको माग राखी आन्दोलनरत ६ वटा विद्यार्थी संगठनमध्ये दुई वटासँगको वार्ता सकारात्मक भएपछि विश्वविद्यालयले आजबाट सञ्चालन हुने भनिएको परीक्षा एक हप्ता पछि सारेको हो।
विद्यार्थी आन्दोलनबीच हिजो (सोमबार) विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै आज (मंगलबार)बाट स्नातक तह र भोलि (बुधबार)बाट स्नातकोत्तरका परीक्षा सञ्चालन गर्ने जनाएको थियो।
‘हामीले मंगलबारबाट गर्ने भनिएको परीक्षा एक हप्ताका लागि सारिएको छ,’ विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहले भने, ‘आन्दोलनरत मध्येका दुई विद्यार्थी संगठनसँग वार्ता सफल भएपछि एक हप्ताका लागि परीक्षा सारेका छौं। अन्य विद्यार्थी संगठनसँग पनि वार्ता गर्नका लागि ५ सदस्यीय वार्ता समिति गठन गरेका छौं।’
मानविकी संकायका डिन डा. लीलाधर तिवारीको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरिएको छ। जसको सदस्यमा सिभी रिजाल, विष्णु खड्का, कृष्ण चपाईं र वीरबहादुर पौडेल छन्।
विश्वविद्यालयमा शैक्षिक गुणस्तर बढाउन आफूहरू जस्तोसुकै सम्झौता गर्न पनि तयार रहने र विश्वविद्यालयको हितविपरीतका गतिविधिमा कुनै पनि सम्झौता गर्न नसकिने उनले बताए।
उनले आन्दोलनरत ६ वटा संगठनमध्ये दुई वटासँगको वार्ता सकारात्मक रहेको बताउँदै अन्य चारवटा संगठनसँग पनि वार्ता सकारात्मक हुने अपेक्षा विश्वविद्यालयले गरेको उपकुलपति सिंहको भनाइ छ।
कोरोना संक्रमण घट्दै गएको र निषेधाज्ञासमेत खुकुलो भएको भन्दै भौतिक उपस्थितिमै परीक्षा लिने विश्वविद्यालयले जनाएको छ।
भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिइसकेको परीक्षा व्यवस्थापन प्रमुख डा.आनन्दप्रसाद सुवेदीले जानकारी दिए।
भौतिक उपस्थितिमै हुने परीक्षामा कोरोना संक्रमतिले समेत दिन पाउने भएका छन्। संक्रमितलाई छुट्टै स्थानमा राखेर परीक्षा लिइने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ।
विद्यार्थीले अनिवार्यरूपमा मास्क प्रयोग गर्नुपर्ने, परीक्षा हुनुअघि कक्षा सेनिटाइज गरिनुपर्ने, विद्यार्थीबीचको दूरी दुई मिटर कायम गरिनुपर्ने जस्ता सावधानी अपनाइएको विश्वविद्यालयले जनाएको छ।
यसअघि आन्दोलनका क्रममा विद्यार्थी संगठनले यही साउन ७ गतेदेखि विश्वविद्यालयका केन्द्रीय क्याम्पस र सम्पूर्ण कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए।
साउन १२, २०७८ मंगलबार १८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।