कांग्रेसको भव्य महलमा पुस्तकालयको यो बेहाल

कांग्रेसको भव्य महलमा पुस्तकालयको यो बेहाल

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा रहेको पुस्तकालयको भित्तामा टाँगिएका छन्, संस्थापक नेता तथा पार्टीका पूर्वसभापतिहरु बिपी कोइराला, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका तस्बिर। अर्को भित्तामा छन्, सहिद सरोज कोइराला र उनकै छेउमा सादगी नेता भीमबहादुर तामाङका तस्बिर।

धुलोले छोपिएका ती सबै तस्बिर आकार हेरेर ठम्याउनुपर्छ। १८१६ ताकाको बृहत नेपालको नक्सा पनि छ भित्तामा। अर्को कुनामा छ, एक थान कम्प्युटर र दराजमा धुलोले छोपिएका असरल्ल पुस्तक। 

कोठा नजिकै किताबको स्टोर रुम पनि छ। निकै सानो। स्टोर रुमभित्र पार्टी घोषणापत्रका बण्डल छन्। कुनापट्टि केही स्मारिका छन्, ती पनि धुलाम्मे। पार्टीको झण्डाको हालत पनि उस्तै छ। वर्षौंदेखि भुइँमा कुचो नपरेको प्रष्टै देखिन्छ।

कांग्रेसका संस्थापक नेताहरुलाई निकै अध्ययनशील मानिन्छ। अहिले पनि उनीहरुको अध्ययनशीलताको चर्चा भइरहन्छ। बिपी कोइराला त अब्बल अध्येता नै भइहाले। तर बिपीकै नाममा स्थापित कार्यालयमा रहेको पुस्तकालयको अवस्था भने निकै दयानीय छ। 

सानेपास्थित नेपाली कांग्रेसको भव्य बंगलामा रहेको केन्द्रीय कार्यालयको पुस्तकालय पुग्दा यस्तै दृश्य देखिए। पुस्तकालय छिर्दा जडौरी सामान थन्क्याउने गोदाम हो की ज्ञान बढाउने पुस्तकालय, छुट्टयाउनै मुस्किल पर्छ।

२००७ सालदेखि २०६२/०६३ सम्मको आन्दोलनको नेतृत्वकर्ता पार्टीको इतिहास खोतल्न कार्यालय पुग्दा बेहाल देखियो। गौरवमय इतिहास भेटिने कोठा पुग्दा धुलोले छोपिएका केही थान पुस्तक अनि यत्रतत्र छरिएका पत्रिका बाहेक केही भेटिएन। कांग्रेसका दस्तावेजहरु त कता हो कता।

सभापति भएपछि पुस्तकालय छिरेका छैनन् देउवा

२०७२ फागुन २५ मा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भए शेरबहादुर देउवा। त्यसयता नगन्य मात्रै पार्टीको केन्द्रीय समीतिको बैठक पार्टी कार्यालय सानेपामा बसेको छ। 

सभापति देउवा कमै पुग्छन् पार्टी कार्यालय। अधिकांश बैठक आफ्नै निवास बुढानीलकण्ठमा राख्ने उनले पार्टी सभापति भएको साढे पाँच वर्ष पुगिसक्दा एक पटक पनि पाइला टेकेका छैनन् पुस्ताकालयमा। 

‘सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएको पाँच वर्ष पुग्यो, अहिलेसम्म पुस्तकालय आउनुभएको छैन,’ पुस्तकालयका प्रमुख विष्णुदेव ठाकुरले भने, ‘उहाँलाई चाहिने पुस्तक उहाँकै कोठामा पनि छन्। त्यही भएर आउनु भएन होला।’

ठाकुरका अनुसार अधिकांश केन्द्रीय सदस्य समेत जाँदैनन् पुस्ताकालय। ८५ जना प्रत्यक्ष निर्वाचित केन्द्रीय सदस्य छन् पार्टीमा। ५० प्रतिशतले पनि पुस्तकालयमा पाइला नटेकेको दावी गर्छन् ठाकुर। 

झन्डै आठ वर्ष भयो ठाकुरले पुस्ताकालय सम्हालेको। सुशील कोइराला सभापति भएको बेलामा उनी पुस्ताकालयमा आएर गफ गर्ने गरेको सम्झिन्छन् ठाकुर। 

‘सुशीलदा छउन्जेल कहिलेकाहीँ आउनुहुन्थ्यो,’ उनले भने, ‘पत्रिका पढ्ने र गफ गरेर फर्कनुहुन्थ्यो उहाँ।’ त्यस्तै कोइराला सभापति भएको बेला महामन्त्री रहेका प्रकाशमान सिंह पनि बेला-बेला पुस्तकालय गइरहन्थे। 

अहिले पुस्तकालय गइरहनेमा कांग्रेस केन्द्रीय सदस्यमा गगनकुमार थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे अनि प्रवक्ता विश्वप्रकाश शर्मा पर्ने रहेछन्। 

आक्कल–झुक्कल पुस्तकालयमा जानेमा महामन्त्री शशांक कोइराला पनि पर्छन्। ‘शशांक दाइले महामन्त्री निर्वाचित भएलगत्तै पुस्ताकालय राम्रो बनाउनुपर्छ भन्नुभएको थियो। पछि खै के भयो, काम हुन सकेन,’ ठाकुरले भने, ‘उहाँ पनि पार्टी कार्यालय धेरैजसो आउनुहुन्न। आएको बेला पुस्ताकालय भने छिर्नुहुन्छ। सञ्चो-विसञ्चो सोध्नुहुन्छ।’

पुस्तकालयलाई छैन बजेट

पुस्तकालय प्रमुख ठाकुरका अनुसार बिपी कोइरालाबारे थेसिस गर्ने विद्यार्थीहरु अनि कांग्रेसबारे अनुसन्धान गरिरहेका केही अनुसन्धानकर्ताहरु सहयोगी सामग्री खोज्दै पुस्तकालय आउँछन् तर केही नभेटेर निराश भएर फर्कन्छन्।

ठाकुरका अनुसार पुस्ताकालयमा ६ हजार पुस्तक दर्ता छन्। कर्मचारीलाई तलब बाहेक पुस्तक किन्न छुट्टै बजेट छैन। ‘पुस्तक किन्न कुनै बजेट छुट्याइएको छैन,’ उनले भने, ‘जति किताब छन्, सित्तैमा आएका हुन्।’

ई-लाइब्रेरीमा कम्युनिष्ट घोषणापत्र छ तर कांग्रेसको दस्तावेज छैन 

नेपाली कांग्रेसले अफिसियल वेबसाइटमा पहिलेको तुलनामा केही नयाँ प्रयास गरेको देखियो। अनलाइन लाइब्रेरी पनि छ त्यसमा। लाइब्रेरीमा बाराक ओबामाको ‘ड्रिम्स फ्रम माई फादर’, लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल महाकाव्य’, माक्र्स र एंगेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ अर्मत्य सेनको विश्व चर्चित पुस्तक ‘दी आइडिया अफ जस्टिस’ लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’, ‘दोषी चस्मा’ र ‘श्वेतभैरवी’का ई-बुक छन्। तर पार्टीका घोषणापत्र लगायतका दस्तावेज छैनन्।

पुस्तकालय प्रमुख ठाकुर परीक्षणको रुपमा केही पुस्तक राखिएको र अन्य काम अघि नबढेको बताउँछन्। 

‘किताबहरु डिजिटलाइजेसन गरेर अनलाइनमा राख्ने कुरा भएको हो। अहिले भएका ट्रायलमा राखिएको हो,’ ठाकुरले भने, ‘त्योभन्दा अघि जान सकिएन।’ 

ई-लाइब्रेरीमा कम्युनिष्ट पार्टीको घोषणापत्र राखेको कांग्रेसले आफ्ना पुराना दस्तावेज भने डिजिटलाइजेसन गर्न सकेको छैन। 

चल्न छोड्यो घडी 

पुस्तकालयकै एक छेउमा पुरानो घडी छ। त्यो घडी पार्टी सभापति गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदासम्म सभापतिकै कार्यकक्षमा रहन्थ्यो। देउवा सभापति भएपछि भने उक्त घडी हटाए। त्यो घडी अहिले पुस्ताकालयको कुनामा थन्किरहेको छ। 

‘यो घडी सभापतिको कोठामा राख्ने चलन थियो। शेरबहादुर देउवा आएपछि सभापतिको कार्यकक्षमा घडी नराख्ने कुरा भयो,’ ठाकुरले भने, ‘यहाँ घडी त राखियो तर चाबी हराएछ। त्यसपछि घडी नै चलेको छैन।’ 

साउन १२, २०७८ मंगलबार ०७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।