वैकल्पिक राजनीति अर्थात् राजतन्त्रको अस्तु मिसिएको हिन्दु धर्मको कलश
अनेक प्रयास गर्दा पनि एमालेबाट उम्मेदवार बन्दै आएका प्रदीप नेपालले ढाल्न सकेनन् सिंहलाई। एमालेजन भन्थे– कांग्रेसले आफ्ना मतदाता भएका वडा मिलाएर क्षेत्र बनाएको छ अनि कसरी हार्छन् सिंह।
तर, त्यो बेला मिश्रले सिंहको मुटु हल्लाइदिएका थिए नराम्रोसँग। त्यसैले त उनी पार्टीको नेतृत्वमा रहेर पनि केवल एक उम्मेदवारको रूपमा आफ्नै क्षेत्र वरिपरि घुमिरहे।
तैपनि त्यो बेला कान्तिपुरवासीको अड्कल थियो, 'यो पालि सिंह परिवारको विरासत ढल्ने भो।'
माहौल त्यस्तै थियो।
२०७४ कात्तिक २४ गते पहिलोपोस्टमा किशोर नेपालले आफ्नो चर्चित कोलम 'कान्तिपुर गाथा'मा त्यही क्षेत्र नम्बर १ को माहौललाई हल्का फिक्सन अवतार दिएर लेखे, 'राजतन्त्र सकिएर गणतन्त्र आए पनि यो देशको कमान यहीका पुराना नयाँ शासकको हातमा छ। यो देशको डेमोक्रेसी इलिट–सेन्ट्रिक छ। पढे–लेखेका पाँच/सात दर्जन मानिस सहर–बजारमा बसेर हल्ला गरेपछि सत्ता हल्लिने अवस्था छ। राजनीतिक पार्टीका अहिलेका नेतासँग मानिस रिसाएका छन्। चाहे वामका हुन् अथवा लोकतन्त्रका हुन्– नेताहरूसँग मानिस उधुम रिसाएका छन्। तर, उनीहरूको छेउमा पुगेर किन रिसाएको ? भनेर सोध्ने हो भने उनीहरूले त्यसको जवाफ दिन जानेका छैनन्।'
त्यो बेला सिरिजकी पात्र थिइन् कनिका।
नेपालले अगाडि लेखे, 'कनिकाले थाहा पाइसकेकी थिई, यो चुनावमा मिश्रजीले जित्न गाह्रो छ भने अर्का प्रबल उम्मेदवार प्रकाशमानले हार्न पनि उत्तिकै गाह्रो छ। तर, लोकतान्त्रिक र वाम गठबन्धनको रेस्लिङमा दुवै उम्मेदवार चिप्लिएर मिश्रलाई औताली पर्न पनि सक्दछ। यो सम्भावनाको साधारण हिसाब मात्रै हो। सामान्य अङ्कगणित।'
लेखको अन्तिम लाइन थियो, 'मिश्रजीको समस्या छ। उनी विवेकशील पार्टीको उम्मेदवार भए पनि उनले साझाको बर्को ओढेका छन्। यो साझा भन्ने शब्द जतिसुकै सुखद सुनिए पनि यो सुखद लोकतान्त्रिक शब्द होइन। राजा महेन्द्रले संसदीय व्यवस्थाका विरुद्ध प्रयोग गरेको साझा अर्थ व्यवस्था अनेक पटक टाट पल्टिएको छ।'
पाँच दशकभन्दा बढी पत्रकारितामा खटिएर खारिएका नेपाललाई काठमाडौंको क्षेत्र नम्बर १ को अवस्थाबारे जानकारी नहुने कुरा थिएन। लेखमा मिश्रको पराजयको ठोकुवा गरिएको थियो। आख्यान शैलीमा उनको चरित्र चित्रण थियो।
त्यो बेला 'यो प्रकाशमानलाई जिताउन लेखेको' भन्दै चुस्की गफ पनि खुबै चल्यो।
मिश्र थोरै मत परिणामले पराजित भए।
मतान्तर हेरेर केहीले मुखै फोरेर भनेका थिए, 'किशोर नेपालको लेखले काम गरेछ।'
यो फ्याक्ट हो वा फिक्सन मतदाता नै जानुन्।
मिश्र पराजित भएपछि उनले नेपालको त्यो लेख सम्झिए या सम्झिएनन् कुन्नि। सम्झनु त पर्ने हो किनकि उनले आफ्नो पर्सनल साइटमै त्यो लेख साभार गरेर सुरक्षित राखेका रहेछन्।
सहरको मतदातालाई वैकल्पिक राजनीतिक शब्द अनि विवेकशीलसँगै जोडिएका युवा पुस्ताले केही गरिहाल्छन् कि भन्ने आस बढाए पनि मिश्रको 'मनुज चौधरी' अवतारबारे जानकार भने उनी कमल थापाको रिमिक्स भर्सन हुन् भन्थे।
सङ्घीयता भ्रष्टाचारको जरो, गणतन्त्र आयातित उपलब्धि अनि धर्म निरपेक्षता विदेशीको इशारामा भित्रिएको उनको अवधारणा पत्रले जसले उनको रिमिक्स भर्सनको दावा गर्यो त्यो गलत विश्लेषण रहेनछ भन्ने पुष्टि त भयो।
मिश्रको अवधारणालाई राप्रपाको सफलता भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापा त्यत्तिकै फुरुङ्ग भएका पनि हैनन् नि।
पुलकित हुँदै थापाले ट्विट गरे, 'सङ्घीयताको खारेजी, धर्मनिरपेक्षता जनमत सङ्ग्रह र राजसंस्था पुनः स्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक छ। विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेन्डाको पक्षमा जनमत बढ्दै जानु र ती विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो। हामी सही बाटोमा छौँ, प्रमाणित हुँदै छ।'
थापा खुसी हुनु स्वाभाविकै हो। उनले राजतन्त्रको अस्तु मिसिएको हिन्दु धर्मको कलश बोक्दाबोक्दै थाकेको काँध साट्ने नयाँ मित्र जो पाए।
साउन ११, २०७८ सोमबार २२:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।