कैलालीमा साउन २१ गतेसम्म थपियो निषेधाज्ञा
काठमाडौं : कैलालीमा साउन २१ गतेसम्म निषेधाज्ञा थपिएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज (साेमबार) आदेश जारी गर्दै साउन २१ गतेसम्म निषेधाज्ञा थपिएको जनाएका छन्।
आदेशमा पूर्वनिर्धारित लिखित तथा प्रयोगात्मक परीक्षा एउटा कोठा वा हलमा २५ जनाभन्दा बढी व्यक्ति नहुने गरी दिने व्यवस्था मिलाउने उल्लेख छ। साथै एउटा सिफ्टका परीक्षार्थी बाहिरिएपछि मात्र अर्को सिफ्टका परीक्षार्थी राख्ने मिल्ने गरी व्यवस्था मिलाउन आदेशमा भनिएको छ।
विभिन्न गोष्ठी तथा तालिम, सेमिनार, बैठक, प्रशिक्षणजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गराउने, भौतिकरूपमा उपस्थित हुनुपर्ने अवस्था भए २५ जनामध्ये बढी मानिस सहभागी नगराउने आदेशमा भनिएको छ। यस्तै, घरबाहिर निस्किँदा अनिवार्य दुई मिटरको दूरी कायम गर्दै मास्कको प्रयोग गर्न पनि आदेशमा उल्लेख छ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीमा वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा त्यसयता पटक–पटक थपिएकाे हाे।
साउन ११, २०७८ सोमबार १६:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।