...त्यसपछि सञ्चो भयो सञ्चोमायाको मन
सञ्चोमाया लिम्बुलाई आजकल त्यति सञ्चो छैन। उमेरले भर्खरै ३८ वर्ष पुगेकी उनलाई थोरै भारी बोक्दा कम्मर दुख्छ। पानीसँग चलिरहँदा हातका जोर्नी करकर खान्छ।
झापाको दमक, बाह्रगोठेबाट विवाह लगत्तै २० वर्षअघि काठमाडौं आएकी हुन् सञ्चोमाया।
उनका श्रीमान् पाटन दरबार क्षेत्रको संग्रहालयमा पिउन थिए। उनको पहिलो सहर बसाइ नै ऐतिहासिक क्षेत्रमा भयो। तर धेरैको मन रम्ने पाटन दरबार क्षेत्रमा सञ्चोमायाको मनलाई भने सञ्चो भएन। उनी रमाउनै सकिनन्।
पाटन बस्दा उनलाई गाउँ नै फर्किन पाए हुने जस्तो लागिरहन्थ्यो। श्रीमान् साथै थिए। श्रीमानको जागिर नै उनी सहर आउनुको कारण थियो। त्यसैले श्रीमानको साथमा नबसी पनि त सुख थिएन।
सञ्चोमायाको मन सञ्चो बनाउन मातृत्वले दबाइको काम गर्यो। काठमाडौं आएपछि उनी गर्भवती भइन्। छोरी जन्मिइन्।
सञ्चोमाया छोरी सम्हाल्न लागिन्। लगातर उनका तीन सन्तान भए २०५७ पछि। २०६२ सालसम्म संञ्चोमायाको जीवन तीन सन्तानको सञ्चोबिसञ्चो ख्याल गर्दैमा बित्यो।
२०६३ सम्म जेठी छोरी हुर्किसकेकी थिइन्। दुई भाइलाई खुवाउन सक्ने भइन्। सञ्चोमाया बुढाको कमाइबाट खान–लाउन पुगेकोमा सन्तुष्ट थिइन्। तर गाउँमा काम गरिहरको बानी, सहर छिरेर ज्यानलाई आराम त भयो, मनमा भने आराम भएन। कारण, उनी आफैं पनि काम गर्न चाहन्थिन्। बुढाको कमाइमा थपथाप गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो। तर सन्तान साना भएकाले श्रीमानले काम नगर्न सञ्चोमायालाई सुझाइरहन्थे।
‘बस्न संग्रहालय भित्रै व्यवस्था थियो। बुढाको कमाइले पुगेकै थियो। बच्चाहरु हुर्कंदै गएपछि मलाई काम गर्ने मन भयो,’ सञ्चोमाया भन्छिन्, ‘संग्रहालयभित्र नै बस्ने भएकाले चिनजान राम्रो थियो, आसपासका मान्छेसँग। मैले काम गर्न चाहिरहेको छु भन्ने मान्छेहरुलाई थाहा थियो।’
काम गर्न रुचि भए पनि के गर्ने भन्ने निश्चित थिएन। पढाइ नभएकाले शारीरिक श्रम गर्ने बाहेकको विकल्प थिएन उनमा।
काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी)को कार्यालय संग्रहालय नजिकै थियो। त्यो कार्यालयसँग उनको परिचय पनि थियो।
‘मजदूरी त गर्ने तर बाहिर अरुले गरे जस्तो काम गर्न सकिँदैन। बाल–बच्चा पनि छन्। उनीहरुलाई पनि समय दिनुपर्यो,’ सञ्चोमाया भन्छिन्, ‘केभिपिटीको एक जना दाइले काम गर्छौ भने गर भन्नुभयो।’
सहर छिरेको ८ वर्षसम्म काम गर्न नपाएर सञ्चो नभएको सञ्चोमायाको मन बल्ल सञ्चो भयो। काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टले काठमाडौं भ्याली भित्रका ऐतिहासिक संरचनाको मर्मत र पुनःनिर्माण गर्ने काम गर्दै आइरहेको थियो। सञ्चोमायाले त्यहीँ काम गर्ने पक्का भयो।
‘पढे–लेखेका मान्छेले जस्तो १० बजे अफिस गएर ५ बजे घर फर्कन पाइन्थ्यो हाम्रो अफिसमा,’ उनी भन्छिन्, ‘मलाई त काइदा भयो। बिहान–साँझ बच्चा पनि हेर्न पाइयो। काम पनि भयो।’
काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टको कर्मचारी भइन् सञ्चोमाया। ट्रस्टले पुनःनिर्माण वा मर्मत गर्ने ऐतिहासिक संरचनामा उनको ढाडमाथि बसेर इँटाहरु भित्तामा सजिन थाले। पुराना टुँडाल र आँखी–झ्यालहरु उनको हातको स्नेहले सफा देखिन थाले। थरीथरीका माटोमाथि पनि सञ्चोमायाका खुट्टा दौडिए।
‘१३ वर्ष भो मन्दिर बनाउने, पुराना संरचनाको मर्मत गर्ने काम गरेको,’ उनी सुनाउँछिन्, ‘बाहिर ज्यामी काम गर्ने भएको भए त म यतिका वर्ष कसरी पो टिक्न सक्थें र। यहाँ त सजिलै छ। ज्यानले सकेको काम गर्दा भयो। शनिबार बिदा पनि पाइन्छ।’
सञ्चोमायालाई आफूले काम गरेका हरेक संरचनाप्रति उत्तिकै माया छ। आफैं बस्दै आएको पाटन दरबार संग्रहालय होस् वा हनुमान ढोकाको कागेश्वरी मन्दिर वा पाटन भित्रकै हरिशंकर वा कृष्ण मन्दिर। चार नारन होस् वा विश्वनाथ, राधाकृष्ण होस् वा हाल काम गरिहरको भीमसेन मन्दिर। मानिसहरु ती संरचनासँग रमाइहँदा उनको मनमा असीमित सञ्चोपन आउँछ। उनी आफ्नो पसिनाले सार्थकता पायो भन्ने सोच्छिन्।
‘पाटन दरबार भित्रका पाटीहरु पनि बनायौं हामीले। भूकम्पपछि त हामी पाटन दरबार भित्रै छौं,’ सञ्चोमाया हौसिन्छिन्, ‘हामीले बनाएका मन्दिरको पिँढी, सत्तलमा मान्छेहरु आरामले बसेको देख्दा काम गर्न पनि जोश आउने भन्या।’
पैसाको लागि बगाएको पसिनाले पनि पैसाले भन्दा बढी सन्तुष्टि दिन्छ भन्ने महसुस गर्दैछिन्, सञ्चोमाया भीमसेन मन्दिरको पुरानो आँखीझ्याल सफा गर्दै। उनलाई अब भूकम्पले बिगारेको डेकु तलेजुको मर्मत चाँडै गर्नै पाए हुन्थ्यो भन्ने लाग्न थालिसक्यो।
‘भीमसेन मन्दिरको काम सकिनै लाग्यो। जतिसक्दो चाँडो सबै बनाउन पायो भने मान्छेहरु धेरै आउँछिन्। हामीले बनाएको कुरा देखेर मख्ख पर्छन्,’ सञ्चोमाया खुसी हुन्छिन्।
पाटन दरबार क्षेत्र घुम्न आउने लाखौं मानिस सञ्चोमायाका आँखामा ठोक्किसके। अब पाटन दरबार क्षेत्र उनलाई आफ्नो घर जस्तो लाग्न थालिसक्यो। उनी भन्छिन्, ‘बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म यहीँ हो। अब त मेरो घर नै भइसक्यो यो ठाउँ।
आफ्नो घर परिसरमा आफू जस्तै श्रमिकको बेरोजगारी र भोकमरी देखेकी सञ्चोमायालाई श्रमिकको दुःख देखेर चिन्ता लाग्ने रहेछ।
‘कोरोनाले काम नपाएर मान्छेको कत्रो बिजोग भएको छ। बाहिर काम गर्ने भएको भए त मेरो पनि त्यस्तै हाल हुन्थ्यो होला,’ सञ्चोमाया श्रमिकको चिन्ता गर्छिन्, ‘बाहिर काम गर्नेलाई त ठेकेदारले पनि समयमा पैसा दिँनैनन् रे। धन्न हाम्रो चाहिँ दुई हप्तामा ट्याक्कै पैसा आँउछ।’
कोरोनाकाले देशैभरि धेरै श्रमिकको रोजीरोटी खोस्यो। तर सञ्चोमाया भने भाग्यमानी ठहरिइन्। कोरोनाको बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टले संरचना निर्माणको काम जारी राख्यो। फलतः सञ्चोमायाको कमाइमा खासै असर परेन।
श्रीमानले अवकाश पाउने समय नजिकिँदै गएपछि भने उनको मनमा चिन्ता थपिएको छ। आफूभन्दा उमेरमा झन्डै डेढ दशक जेठा पति र तीन बच्चा संग्रहालयबाट निस्किएपछि के गर्ने?, कहाँ जाने? भन्ने चिन्ताले उनलाई सताएको छ।
त्यसपछि सञ्चोमायासँग दुई विकल्प रहेछन्। एक, गाउँ जाने। बारी खन्ने, बुढ्यौली बिसाउने। दुई, पाटनमै कतै भाडामा बस्ने पाटन दरबार नछोड्ने।
उनको मन भने दोस्रो विकल्प रोज्ने की भन्नेमा छ। उनलाई आफ्नो पसिना र मिहिनेत बगेको ठाउँले गुन बिर्संदैन भन्ने लाग्छ।
तामामाथि लगाइएको सुनको जलपको खिया बाँसका छेस्काले हटाउँदै सञ्चोमाया भन्छिन्, ‘भोकै त मर्न पर्दैन होला क्यारे। बाँकी जे पर्छ व्यहोरुँला। यतिका भगवानको मन्दिर बनाइयो। पाटी बनाइयो। भगवानले हेर्लान् नि।’
भगवानले हेरेनछन् भने पनि उनलाई गुनासो भने छैन। आफूले बनाएको पाटी र सत्तलमाथि सधैं ठाउँ रहन्छ। सञ्चोमायालाई यस्तै लाग्छ।
साउन ११, २०७८ सोमबार १५:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।