अभिनेत्री वर्षा सिवाकोटीको दाबी– चलचित्र क्षेत्रमा यौन दुर्व्यवहार हुन्छ भन्नु बकम्फुसे कुरा
काठमाडौं : ‘नाइँ नभन्नु ल २’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी वर्षा शिवाकोटी पहिलो चलचित्रबाटै निकै रुचाइएकी अभिनेत्री बनिन्। चलचित्र ‘पशुपति प्रसाद’ ले उनको अभिनय थप निखार्यो। त्यसपछि उनी चलचित्रसँगै म्युजिक भिडियोहरुमा व्यस्त भइन्। दर्जन बढी चलचित्रमा अभिनय गरेकी वर्षाका चलचित्रले व्यापार पनि ठिकठिकै गरेका छन्। उनी खाली बस्नु परेको छैन।
कहिलेकाहीँ चलचित्र क्षेत्रमा यौन दुव्र्यवहारका घटना हुन्छन् भन्ने हल्ला बाहिर आउँछ। तर अभिनेत्री वर्षालाई पत्यार लाग्दैन। उनी त्यस्ता हल्ला निराधार र बकम्फुसे भएको बताउँछिन्।
चलचित्रमा आउँदाको अनुभव, चलचित्रमा गरिने व्यवहार लगायतका विषयमा अभिनेत्री वर्षाले उकेराकर्मी भोला अधिकारीसँग बाँडेको अनुभवः
OOO
कलाकार नै बन्छु भन्ने मेरो सोच थिएन। तर कलेजमा हुने कार्यक्रम अनि सुन्दरी प्रतियोगिताहरुमा भाग भने लिन्थें।
काठमाडौंको एपेक्स कलेजमा बिबिए पढ्दै गर्दा कलेजमै ‘मिस्टर एन्ड मिस एपेक्स’ आयोजना भएको थियो। त्यो प्रतियोगितामा मैले मिस ट्यालेन्टको उपाधि मैले जितें। त्यसपछि मलाई चलचित्रको अफर आयो।
निर्देशक विकास आचार्यले मलाई ‘तिमी चलचित्रमा अभिनय गर्छौ’ भनेर सोध्नुभयो। भर्खर कलेज पढ्दै गरेको, चलचित्रमा काम गर्छौ भन्दा म त छक्क परें। विश्वास नै लागेको थिएन।
पछि फेरि उहाँले सोध्नुभयो। मैले घर–परिवारमा सोध्नुपर्छ भनें। घरमा कुरा राख्दा कसैले पनि हुँदैन भनेनन्। त्यसपछि म चलचित्र क्षेत्रमा आएँ।
‘नाई नभन्नु ल’ पहिलो चलचित्र भएकाले नर्भस हुने भइहाल्यो। क्यामेरा फेस नै पहिलो पटक थियो। अभिनय गर्दा कसरी गर्ने अनुभव थिएन। चलचित्रको युनिटले नर्मल बनाउन सघाउँथे। यसरी गर्नूस् भनेर पनि सिकाउँथे। तर पनि मनमा एक प्रकारको डर भने हुने रैछ। घरमा छोरी पढ्दापढ्दै चलचित्रमा लागी, कतै पढाइ बिगार्छे कि भन्ने चिन्ता त थियो। तर मेरो पढाइ राम्रो थियो। चलचित्रमा लाग्दा परिवारका कसैले नराम्रो प्रतिक्रिया दिनुभएन। बरु अझ राम्रो गर भन्नुहुन्थ्यो।
सेलिब्रेटी भएपछि गसिप त आउँछ नै
चलचित्रमा अभिनय गर्दै गएपछि दर्शकमाझ परिचित भएँ। विस्तारै समाचारहरु पनि आउन थाले। समाचार तालतालका आउने। गसिपहरु पनि टन्नै आउन थाले।
तर, मलाई गसिपले असर पारेको छैन। सेलिब्रिटी भएपछि अलिअलि गसिप त आइहाल्छ नि। नेपालमा मात्र हैन, हलिउड, बलिउडतिर पनि कलाकारका गसिप बन्छन्। त्यसैले गसिपलाई मैले सामान्य रुपमै लिने गरेको छु।
घर–परिवारलाई यो गसिप हो भनेर बुझाउन सक्नुपर्छ। उहाँहरुले पनि यस्ता कुरालाई नर्मल रुपमा लिनुहुन्छ।
अभिनेत्री भएपछि दर्शकको माया त पाएको छु नै देश तथा विदेश घुम्ने मौका पनि पाएको छु। नाम कमाएको छु। दाम पनि कमाएको छु। चलचित्रले दिएका यिनै हुन्।
अभिनेत्री भइसकेपछि बोल्दा चाहिँ अलि ध्यान पुर्याउनुपर्ने रहेछ। हामीले बोलेको कुरा धेरैले एसेप्ट गर्ने हुन्छ। चासो पनि हुन्छ। यस्तो बेलामा सचेत भएर, सोचेर बोल्नुपर्ने रैछ। म यस्ता कुरामा सचेत छु।
निषेधाज्ञापछि पनि काम
निषेधाज्ञापछि चलचित्रको खासै काम भएका छैनन्। घरमा बसेको समयमा चलचित्रहरु हेरें। नेपाली र विदेशी गरेर निकै चलचित्र हेरें। त्यसपछि केही किताब पढे। मलाई पोजेटिभ ऊर्जा दिने खालका किताब मन पर्छन्।
हल्लाफुल्का म्युजिक भिडियोको काम भइरहेको छ। केही विज्ञापनमा पनि काम गरें यो बेला। चलचित्रको छायांकन रोकिएका छन्।
मेरो आफ्नै विजनेस पनि छ। त्यहाँ पनि समय दिइरहेको छु। स्किन नेपाल मेडिसिटी हस्पिटल अन्र्तगत रहेको स्किन सिटीको सिइओ छु म।
छायांकनका क्रममा बिरामी
चलचित्र ‘वीर विक्रम २’ छायांकनका लागि मुस्ताङ पुगेका थियौँ। त्यहाँ पुगेपछि मलाई अत्यधिक ज्वरो आयो।
दुई दिन सुटिङ गरेपछि बेस्सरी ज्वरो आएर राजधानी फर्किनु परेको थियो। चलचित्रका लागि राम्रो दृश्य खिच्न मुस्ताङ पुगेको तर काम नै गर्न नसकी फर्किनुपर्दा नरमाइलो लाग्यो।
दुव्यर्वहार हुन्छ भन्नु बकम्फुसे कुरा
चलचित्र क्षेत्रमा यौन दुर्व्यवहार हुन्छ भन्ने गरेको सुन्छु। म चलचित्र क्षेत्रमा लागेको सात वर्ष भयो। यो बीचमा यौन दुर्व्यवहारको घटना भोग्नु परेको छैन।
अहिलेसम्म कसैले पनि मलाई त्यस्तो व्यवहार गरेका छैनन्। मलाई त चलचित्र क्षेत्रमा लागेपछि यौन दुर्व्यवहार हुन्छ भन्ने कुरा नै बेकारको हल्ला जस्तो लाग्छ। बकम्फुसे हो जस्तो लाग्छ ।
साउन ११, २०७८ सोमबार १३:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।