उपेन्द्रलाई महन्थ पक्षको जवाफ : हामीले अर्को पार्टी खोजेको होइन

उपेन्द्रलाई महन्थ पक्षको जवाफ : हामीले अर्को पार्टी खोजेको होइन

काठमाडौँ : निर्वाचन आयोगमा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षमा ५१ मध्ये १६ जना केन्द्रीय कार्यकारिणी सदस्यले सनाखत गरेका छन्।

निर्वाचन आयोगले सनाखत गराउने समय साँझ ५ बजेसम्म रहेको जनाएको छ। आयोगका सह प्रवक्ता कोमल धमलाले साँझ ५ बजेसम्म आयोगमा आएर सनाखत गर्ने समय रहेको जानकारी दिए। 

कारागारमा रहेका रेसम चौधरी पनि निर्वाचन आयोगमा आएर सनाखत गर्ने सह प्रवक्ता धमलाले बताए। 

सनाखत गरेपछि नेता शरदसिंह भण्डारीले महन्थको पक्षमा १६ जना कार्यकारिणी सदस्य रहेको जानकारी दिए। 

उनले निर्वाचन आयोगमा निष्ठाको सनाखत भएको बताए। ‘राजपा र समाजवादी एकीकरण भएर जसपा बनेको हो,’नेता सिंहले भने,‘आज निष्ठाको सनाखत भएको छ।’ 

उनले आधिकारिकता पाउने कुरा ठुलो नभएको बताए। ‘निष्ठामा रहने १६ जना छौँ,’उनले भने,‘हामीले अर्को पार्टी खोजेको होइन।’

उपेन्द्र यादव पक्षले महन्थ ठाकुर र राजेन्द्र महतोलाई कारबाही गरेपछि विवाद आएको उनले बताए। ‘उपेन्द्रको अनुहार हेरेर पार्टी एकता गरेको होइन,’उनले भने,‘त्यति वेला हामीले उपेन्द्रलाई रेस्क्यु गरेका हौ।’

नेता सिंहले आफूहरूको लडाई पार्टीमा नभएर राज्यसँग भएको बताए। ‘हामी माग र मुद्दामा राज्यसँगको लडाइमा छौ, अहिले शेरबहादुरको राज्य छ,’उनले भने,‘उहाँसँग पनि कुरा भएको छ।’ जसपाको महन्थ पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन पेस गरेको प्रस्तावको पक्षमा मत दिएको थियो। 

उनले पार्टी एकता गर्दा जसपालाई वैकल्पिक शक्ति बनाउने लक्ष्य रहेको सुनाए। पार्टीको आधिकारिताको विषयमा आयोगले दिने निर्णयमा पछि छलफल गर्ने उनले बताए। 

उपेन्द्र पक्षले महन्थ पक्ष प्रतिगमनको मतियार बनेकोमा आत्मालोचना गरे सोच्न सक्ने बताएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले देउवालाई विश्वासको मत दिएको विषय भने फरक भएको बताए। 

तर, महन्थ पक्षका शरदसिंह भण्डारीले आफूहरूले कुनै गलत नगरेको बताए। उनले माग र मुद्दामा जनताले निर्णय गर्ने उल्लेख गरे।

साउन ११, २०७८ सोमबार १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।