कर्णालीमा कांग्रेस महाधिवेशनको दौडधुप : देउवा र पौडेल पक्षबीच नेतृत्वको होडबाजी
१० जिल्ला रहेको कर्णालीमा खासगरी वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता-कार्यकर्ताको प्रभाव छ। अहिले यी दुवै पक्षका नेता-कार्यकर्ता स्थानीय तहदेखि जिल्ला सदरमुकामसम्म क्रियाशील सदस्य र कार्यकर्ता भेटघाटमैं व्यस्त छन्।
कर्णालीमा पनि देउवा (संस्थापन) र वरिष्ठ नेता पौडेल समूहबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ।
अघिल्लो महाधिवेशनमा पौडेल पक्षले यस प्रदेशका १० मध्ये अधिकांश जिल्लामा वर्चश्व कायम गरेको थियो। तर आउने अधिवेशनमा भने पौडेल पक्षलाई देउवा पक्षले धक्का दिनसक्ने संस्थापन पक्षका नेताहरुको दावी छ।
दुवै समूहबाट जिल्ला सभापतिका लागि आकांक्षा राख्ने नेताहरु दौडधुप गरिरहेका छन्।
पौडेल पक्षका नेताहरु कर्णालीका १० जिल्लामध्ये हिमाली जिल्ला हुम्ला बाहेकका अन्य जिल्लाहरुमा पौडेल पक्ष बलियो रहेको बताउँछन्। हुम्लामा भने कांग्रेस नेता जीवनबहादुर शाहीको गृहजिल्ला भएकाले संस्थापन पक्ष बलियो देखिएको उनीहरुको भनाइ छ।
सल्यानमा दुवै पक्ष कडा प्रतिस्पर्धामा उत्रिएका छन्। वडा तहको अधिवेशन सर्ने देखिएपछि कांग्रेसका नेता कार्यकर्ताहरु गाउँ केन्द्रित भएका छन्।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा कांग्रेस महाधिवेशनको चुनावी माहोल झनै तातेको छ। सुर्खेतमा पार्टी सभापतिका लागि कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी र बहालवाला महामन्त्री पूर्णबहादुर खड्का प्यानलबीच कडा प्रतिपस्पर्धा हुने देखिएको छ। थानी पौडेल पक्षधर नेता हुन् भने खड्का संस्थापन पक्षधर हुन्। जिल्लामा दुवै पक्ष उत्तिकै बलिया छन्।
बहालवाला पार्टी सभापति कमलराज रेग्मीले दोस्रो पटक पनि सभापतिमा उम्मेदवारी दिने भएका छन्। उनी थानी प्यानलका हुन्। खड्का प्यानलबाट सभापतिमा आकांक्षीहरुको सूची लामै छ।
मुख्यगरी यज्ञबहादुर बुढा क्षेत्रीको उम्मेदवारीको सम्भावना बढी छ। उनी कर्णाली हाल प्रदेशका सामाजिक विकास मन्त्री समेत हुन्। उनी १३औं महाधिवेशनमा आफ्नै गुटभित्रका नेताहरुले धोका दिएपछि हालका बहालवाला सभापति रेग्मीसँग ३ मतले पराजित भएका थिए।
यस्तै टोपबहादुर रावत, उपेन्द्र थापा लगायतका नेताहरुले पनि सभापतिमा आकांक्षा राखेका छन्।
संस्थापन पक्षका नेता तप्तबहादुर विष्टको निधनपछि उक्त पक्षको नेतृत्व बुढाक्षेत्रीले नै गरिरहेका छन्। त्यो हिसाबले पनि खड्का प्यानलले सभापति जित्नसक्ने दावी गरिएको छ। तर, खड्का पक्षमा आकांक्षी भएकाले थानी प्यानलको पनि जित्ने सम्भावना उत्तिकै छ।
यस्तै दैलेखमा एउटै क्षेत्रका दुई नेताहरु भिड्ने देखिन्छ। फरक गुटबाट एउटै क्षेत्रका दुई नेताको कडा प्रतिस्पर्धा हुने सम्भावना छ।
पार्टी सभापतिका लागि संस्थापन खेमाबाट एक्ला उम्मेदवार घनश्याम भण्डारीको नाम चर्चामा छ भने पौडेल खेमाबाट तीन जनाको नाम चर्चामा छ।
पौडेल खेमाबाट वहालवाला पार्टी सचिव भुपेन्द्रबहादुर शाही, मणिराम रेग्मी, गणेश उपाध्यायको चर्चा छ। पौडेल पक्षका भुपेन्द्र शाही र संस्थापन पक्षका घनश्याम भण्डारी दैलेख क्षेत्र नं.२ का नेता हुन्।
भण्डारी सो क्षेत्रका क्षेत्रीय सभापति र दुल्लु नगरपालिकाका मेयर पदमा छन्। शाही जिल्ला पार्टी सचिव हुन्।
हालका सभापति कृष्णकुमार बिसी पौडेल निकट नेता हुन्। उनले दुई कार्यकाल पार्टी सञ्चालन गरिसकेका छन्।
पूर्वपर्यटनमन्त्री तथा कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका जीवनबहादुर शाहीको गृहजिल्ला हुम्लामा पनि अधिवेशनको सरगर्मी बढेको छ।
यसअघि लगातार संस्थापन पक्षको हातमा परेको पार्टी सभापतिको सिट पुनः सोही पक्षकै हातमा पर्न सक्ने सम्भावना बढी छ।
जीवनबहादुर शाहीको हुम्ला जिल्लामा राम्रो छाप भएकाले पनि धेरैको आकलन संस्थापन पक्ष नै अगाडि आउनेतर्फ छ। हालका पार्टी सभापति जयपति रोकायाको दुई कार्यकाल सकिएको छ।
सभापति पदका लागि देउवा पक्षबाट हालका पार्टी सचिव मोहनविक्रम सिंह, पदमबहादुर लामा, कर्ण रावल लगायतका नेताहरुको नाम चर्चामा छ। यस्तै पौडेल प्यानलबाट थानबहादुर रोकाया, मंगलबहादुर शाही लगायतका नेताहरुले आकांक्षा देखाइरहेका छन्।
कालिकोटमा सभापतिका लागि देउवा खेमाबाट दमनबहादुर शाहीको दावेदारी रहने छ। यस्तै हिक्मत विष्ट, मोतीराज बम, दानबहादुर बमको नाम पनि चर्चामा छ।
कालिबहादुर सहकारी र विष्टको समर्थनमा दमन शाही नै सभापतिको उम्मेदवार हुने सम्भावना छ।
पौडेल पक्षबाट शंकर उपाध्याय सभापतिका लागि कस्सिएका छन्। यस्तै पौडेल खेमाबाटै अम्बरबहादुर शाहीको पनि दावेदारी छ भने वर्तमान पार्टी सभापति हर्षबहादुर बमले पनि पुनः सभापतिमा आकांक्षा राखेका छन्।
कालिकोटमा पौडेल पक्षका युवा नेता भुपेन्द्रजङ शाहीको पनि राम्रो छाप छ। त्यसैले सभापतिका लागि पौडेल पक्ष र संस्थापन पक्षको कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
डोल्पामा हालका सभापति अंगतकुमार बुढाले सभापतिका लागि फेरि पनि आकांक्षा राखेका छन्। उनी पौडेल पक्षका नेता हुन्।
पौडेल पक्षबाट वहालवाला सभापति, जयस उपाध्याय र दिलबहादुर विष्टको नाम चर्चामा छ। यद्यपि, यो पक्ष एक आपसमा सहकार्य गरेर वर्तमान पार्टी सभापतिलाई नै अगाडि सार्ने मोडमा छ।
देउवा पक्षबाट देवकुमारी हमाल, गौरीशंकर उपाध्याय, टंकप्रसाद उपाध्याय लगायतका नेताहरुले सभापतिका लागि आकांक्षा देखाएका छन्।
जुम्लामा पार्टी सभापतिका लागि अहिलेसम्म तीन जनाको नाम सतहमा छ। हालका पार्टी सभापति जीतबहादुर शाहीले पनि दोहोरिने संकेत गरेका छन्।
उनी पौडेल पक्षका नेता हुन्। यस्तै संस्थापन पक्षबाट हालका पार्टी सचिव कर्णबहादुर शाहीको नाम चर्चामा छ भने सोही पक्षबाट नै कान्तिका सेजुवालको पनि उम्मेदवारी रहने सम्भावना देखिएको छ। सेजुवाल चन्दनाथ नगरपालिकाका मेयर हुन्।
यस्तै रुकुम पश्चिममा पौडेल निकट बहालवाला सभापति प्रेमप्रकाश ओलीलाई नै पुनः दोहो¥याउने की भन्ने ‘लबिङ’ भइरहेको नेताहरु बताउँछन्। संस्थापन पक्षबाट भने २०७२ सालमा पराजित भएका कृष्णबहादुर रोकायालाई अगाडि सार्ने देखिएको छ। यस्तै मानबहादुर नेपालीको नाम पनि सभापतिका लागि चर्चामा छ।
जाजरकोटमा पनि कांग्रेस अधिवशेनको माहोल तात्तिएको छ। यहाँ संस्थापन पक्षभन्दा पौडेलपक्ष बलियो छ। यद्यपि, पछिल्लो समय देउवा पक्षका नेता राजीवविक्रम शाहको प्रभाव पर्न सक्ने देखिएको छ। यसअघि पौडेल पक्षमा उभिएका धेरैजसो जिल्ला तहका नेताहरुको शाहतर्फ झुकाव देखिएको छ।
जाजरकोटमा बहालवाला सभापति दीपकजंग शाहले पुनः सभापतिका लागि आकांक्षा राखेका छन्। शाह पौडेलपक्ष नजिक मानिन्छन्।
मुगुमा पनि सांगठानिक रुपमा पौडेल पक्ष नै बलियो देखिन्छ। यहाँ पनि बहालवाला सभापति खड्गबहादुर शाहीले पुनः दोहोरिने संकेत गरेका छन्।
पौडेल पक्षबाट नै खगेन्द्रबहादुर मल्ल, हरिजंग शाहीले पनि सभापतिका लागि आकांक्षा देखाएका छन्। संस्थापन पक्षबाट ऐनबहादुर शाही र पदमबहादुर रावलको नाम चर्चामा छ। यस्तै बहालवाला सभापतिसँग यसअघि पराजित भएका पदमबहादुर रावलको पनि उम्मेदवारी पर्ने देखिन्छ।
सल्यानमा हाल सभापति गणेश चन्द छन्। उनी पौडेल खेमाका हुन्। यस जिल्लामा एउटै गुटका दुई जना दुई पक्षमा विभाजित भएर चुनावी मैदानमा उत्रिँदैछन्। देउवा पक्षको समर्थनमा संस्थापन पक्षबाट केशवबहादुर विष्ट सभापतिको चुनावी मैदानमा होमिने चर्चा चलेको छ।
साउन ११, २०७८ सोमबार १२:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।