जुत्ता–चप्पल सिलाउनेको दुखेसो– सडक छेउमा बसे नगरपालिकाले धपाउँछ, हामी कहाँ जाऔं ?
छोराले छाडेपछि श्रीमतीसँगै बस्दै आएका उनकाे यहीको कमाइबाट घरखर्च चलेको छ।
तर, पछिल्लो समय नगरपालिकाका कर्मचारी र ट्राफिक प्रहरीले सडक छेउमा बसेर काम गर्न रोकटोक गर्न थालेपछि काम नभएर घरखर्च चलाउन समस्या पाे हुने हाे कि भन्ने चिन्तामा छन् उनी।
‘पहिले यहाँ बसेर काम गर्दा कसैको रोकटोक थिएन। अहिले नगरपालिकाका कर्मचारी र ट्राफिक प्रहरीले सडकमा नबस् भन्न थालेका छन्,’ उनले दुखेसो पोखे।
त्यति मात्रै होइन, खुला आकासमुनि बसेर काम गर्नुपर्दा हावाहुरी वा पानीले पनि अवरोध गरेको उनले सुनाए। ‘कहिले नगरपालिकाले धपाउँछ त कहिले हावाहुरी र पानीले,’ उनले भने।
उनी मात्र होइनन्, यस्तो सास्ती खेप्ने वीरेन्द्रनगरको सडक छेउमा बसेर जुत्ता सिलाउँदै आएका अन्य १७ जना पनि छन्।
तिनैमध्येका एक शक्ति रोकाय, सडक छेउमा बसेर काम गर्न नदिइएको पीडा पोख्छन्। परम्परादेखि गर्दै आएको पेसालाई घर नजिकका सरकारले पनि संरक्षण नगरेको उनको गुनासो छ।
‘हामी यही चोकमा विगतदेखि जुत्ता सिलाउँदै आएका छौं। यही चोकमा नेता र मन्त्री आएर यसो–उसो गर्छाैं भन्छन्। तर, हामीलाई ढुक्कले काम गर्न पनि दिँदैनन्,’ उनले दुखेसो सुनाए।
तिनैमध्येका ७० वर्षीय नरबहादुर सार्कीको पनि उस्तै दुखेसो छ। ‘कोठा लिएर बसौं भने आर्थिकले धान्दैन, यो सडक छोडेर हामी कहाँ जाऔं ?’ उनले प्रश्न गरे।
उनले आफूहरूसँग सीप भएकाले काम गरेर खाने वातावरण मिलाइदिन सरकारलाई अनुरोध गर्छन्। ‘हामीसँग सीप छ। सरकारले दुःख दिनुभन्दा काम गरेर खाने वातावरण मिलाए हाम्रो मन खुसी हुने थियो,’ उनको अनुरोध छ।
उनीहरू दैनिक करिब दुई सयदेखि एक हजार रूपैयाँसम्म कमाउँछन्। कोरोना भाइरस संक्रमणको महामारीमा भने यो कमाइ घटेको छ।
यो अवस्थामा पनि काम गर्न रोकटोक गरिन थालिएपछि उनीहरूले नेताप्रति आक्रोश पोखेका छन्।
सुर्खेतका राज बसेल चुनावको बेला आश्वासन दिने नेता जितेपछि बेवास्ता गर्ने गरेको बताउँछन्। आफैले जिताएर नगरपालिकामा पठाएका मेयर–उपमेयरले सहजरूपमा व्यापार– व्यवसाय गर्ने व्यवस्था गर्नुको साटो सडकबाटै लखेट्ने प्रयास गरेको उनको भनाइ छ।
साउन १०, २०७८ आइतबार २१:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।