सुदूरपश्चिममा कांग्रेस महाधिवेशनको सरगर्मी, प्रदेश र जिल्ला सभापतिमा को–को छन् आकांक्षी ?

सुदूरपश्चिममा कांग्रेस महाधिवेशनको सरगर्मी, प्रदेश र जिल्ला सभापतिमा को–को छन् आकांक्षी ?

धनगढी : नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा चुनावी सरगर्मी बढेको छ।

सुदूरपश्चिममा प्रदेश तथा जिल्ला नेतृत्वका लागि आकांक्षी टिकटका लागि दौडधुपमा छन्। 

सुदूरपश्चिम प्रदेश सभापतिमा पाँच जनाले इच्छा देखाएका छन्।

वर्तमान कैलाली सभापति नरनारायण शाह (मनु) पनि प्रदेश सभापतिको दौडमा छन्। उनी कैलालीमा दुई पटक पार्टीकाे जिल्ला सभापति भइसकेका छन्।

यस्तै, कञ्चनपुरका बहादुर सिंह थापा, अछामका बलबहादुर कुँवर, गोविन्द शाह र बझाङका अर्जुनबहादुर सिंहले पनि प्रदेश नेतृत्वकाे आकांक्षा देखाएका छन्।

प्रदेशका ९ वटै जिल्लाको नेतृत्वका लागि पनि आकांक्षी दौडधुपमा छन्। 

प्रदेश राजधानी रहेको कैलालीमा जिल्ला सभापतिका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवालगायतको नाम चर्चामा छ।

कञ्चनपुरमा पनि जिल्ला सभापतिको रस्साकस्सी छ। वर्तमान सभापति हरि बोहरा, गत अधिवेशनमा बोहरासँग पराजित पदम बोगटी, नेता गोपाल गुरुङ लगायतको नाम जिल्ला सभापतिका लागि चर्चामा छ।

सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिका लागि हरिप्रसाद भट्ट र परशुराम नगरपालिका मेयर भीमबहादुर साउदले उम्मेदवारी घोषणा गरिसकेका छन्।

बाजुरामा पूर्वसभापति मनबहादुर रावल र वर्तमान सभापति कविराज पण्डित दोस्रो पटक जिल्ला सभापतिमा भिड्ने तयारीमा देखिन्छन्।

बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन् भने उपसभापति  चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लबिङमा छन्। चन्द नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसमेत हुन्। 

यस्तै, पूर्वसभापति शिवराज भट्ट पनि पुनः सभापति भन्ने दौडमा छन्। 

अछाममा वर्तमान सभापति भरतकुमार स्वाँर, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, नेता गणेशबहादुर विष्ट, रामबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम चर्चामा छ।

डोटीमा जिल्ला सभापतिका लागि वर्तमान सभापति प्रदीप देउवा, शिखर नगरपालिकाका मेयर सीताराम जोशी, नेताहरू रामप्रसाद उपाध्याय, दीपक विष्ट र भूमिराज बडूको नाम चर्चामा छ।

बझाङमा वर्तमान सभापति हर्कजंगबहादुर सिंह, पूर्वसभापति पृथ्वीबहादुर सिंह, चेतराज बजाल, पूर्वसभापति देवराज शर्मा, नेता जगत जोशी, खडगबहादुर बोहरा र रमेश भण्डारीको नाम चर्चामा छ।

पौडेल पक्षीय नेता दिलेन्द्र बडूको गृह जिल्ला दार्चुलामा वर्तमान सभापति ललितसिंह बोहरा, १३ औँ जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्वसभापति जगदीश पाल, उपसभापति अमर धामी, सचिव हर्क बिष्ट लगायतका नेताहरूको नाम जिल्ला सभापतिका लागि चर्चामा छ।

कांग्रेस महाधिवेशनको कार्यतालिका अनुसार साउन १२ गतेदेखि वडा तहको अधिवेशन सुरु हुने उल्लेख छ। तर, केन्द्रीय पदाधिकारी बैठकले उक्त अधिवेशन स्थगित गरिसकेको छ। 

यस्तै, साउन १६ गते स्थानीय तह, २० गते प्रदेशसभा क्षेत्र र २३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ।
एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन भने साउन २६ गते हुनेछ। 

यसैगरी, भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ।

१३ औं महाधिवेशनमा ९ जिल्लामध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरू निर्वाचित भएका थिए।


 

साउन १०, २०७८ आइतबार ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।