किन भत्किन्छ कमला बाँध ?
जनकपुर : बर्खा–बाढीका बेला कमला नदी तटका बासिन्दा निस्फिक्री भएर सुत्न पाउँदैनन्। कुन बेला नदीको बढ्दो जलस्तर र तीव्र प्रवाहले बाँध भत्किएला र गाउँघर एवं खेतबारी डुबानमा पर्ला भन्ने पिरलो छ उनीहरूलाई।
‘बाँध भत्किने जोखिमका ठाउँ फरक हुन सक्छन्। तर, यस्तो खतरा नदीका दुवै किनारका जहीँजता रहन्छन्,’ धनुषाको सबैला नगरपालिकाका प्रमुख विजयशंकर साहले भने, ‘बाँध भत्किने सम्भावनाका आधारमा सबैला नगरपालिकाका कतिपय ठाउँ संवेदनशील छन्।’
यस पटकको बर्खा–बाढीमा सबैला नगरपालिका–१३ किरतपुर र सोही नगरपालिकाको वडा नम्बर १२ पटेर्वामा बाँध भत्किएका छन्।
भारतको आर्थिक सहयोगमा नदीका दुवै किनारमा पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणी सीमान्त क्षेत्रसम्म नै ६८ दशमलव ८२ किलोमिटर माटाको बाँध बनाइएको छ। जोखिम आकलनका आधारमा विभिन्न ठाउँमा तारजालीभित्र ढुंगा–बोल्डर राखी र स्पर (ठोक्कर) निर्माण गरी बाँध संरक्षण गरिएको छ।
साउन ४ र ५ गते परेको मुसलधारे बर्खापछि धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीमा आएको बाढीका कारण सबैलाको किरतपुरमा चार सय मिटर बाँध भत्केको छ।
यस ठाउँमा करिब ५० बिघा जग्गा कटान भएको सरकारी अधिकारीको भनाइ छ। यहाँ बाँध भत्केको ठाउँभन्दा उत्तर तीन सय मिटरसम्म जेसिभी र एक्साभेटर चलाएर माटो, बाँस र पोर्कोपाइनको मद्दतले बाँधको आपत्कालीन संरक्षण गरिएको कमला नदी व्यवस्थापन आयोजनाका प्रमुख एकराज भट्टराईको दाबी छ।
किरतपुर बाँध बगेको दुई घन्टा बित्न नपाउँदै सबैलाकै पटेर्वामा पनि तीन सय मिटर छर्की भत्कियो। यस ठाउँमा भने बाँध जोगाउने प्रयास कतैबाट भएन।
सबैला घर भएका सञ्चारकर्मी सुरेश यादवले भने कमला नदीको जलस्तर बढ्न थालेपछि र पानीको प्रवाह धनुषातिर तीव्र बनेपछि बाँध कटान भइरहेका ठाउँमा संरक्षण गरिदिन भन्दै स्थानीयले धेरै वटा निकायलाई आग्रह गरे पनि बाँध भत्किँदासम्म ठोस कार्य नभएको आरोप लगाए।
उनले भने, ‘कटान हुँदै गरेका बाँध मर्मत गर्न बजेट नभएको भन्दै कमला नदी व्यवस्थापन आयोजना, स्थानीय निकाय र अन्य सम्बद्ध निकाय पन्छिए।’
उनका अनुसार अहिले भने भत्किएका ठाउँमा बाँध पुनःनिर्माण भइरहेको छ।
गत असार १६ देखि २१ गतेसम्म परेको वर्षाकै कारण किरतपुर र पटेर्वा बाँध भत्किने खतरा उत्पन्न भइसकेको थियो। त्यस अवधिमै बाँध जोगाउन अहोरात्र काम गरेको दाबी गर्ने कमला नदी व्यवस्थापन आयोजनाले आरम्भमा आपत्कालीन नदी नियन्त्रणका लागि बजेट नरहेको जनाउ दिएको थियो।
निरन्तर दबाब बनाएपछि आयोजनाले पाँच सय बोरा बालुवा र केही सिमेन्टकृत सामग्री पठाएको स्थानीय पत्रकार अयुब हुसैनले बताए।
‘त्यसबीचमा स्थानीयले रुख–बाँस काटेर बाँध जोगाउने प्रयत्न भने निरन्तर गरिरहे,’ हुसैनले भने, ‘त्यसपछि त बाँध भत्किँदा मात्र आयोजनाका अधिकारीको नाकमुख हेर्न पायौं।’
सिँचाइ विभागले साउनमा नदी नियन्त्रण गर्न ५० लाख रूपैयाँ दिने प्रतिबद्धता–पत्र पठाएपछि आयोजनाले काम तीव्रतर पारेको स्थानीयको भनाइ छ। तर, त्यसअघि असार २२ गते नै विभागले आयोजनालाई आपत्कालीन नदी नियन्त्रणका लागि ७५ लाख रूपैयाँ पठाइसकेको थियो।
अर्थ मन्त्रालयबाट असारमा देशभरिकै लागि आपत्कालीन नदी नियन्त्रण गर्ने प्रयोजनले प्राप्त नौ करोड ७५ लाख रकमबाट कमला नदी व्यवस्थापन आयोजनालाई ७५ लाख रूपैयाँ पठाएको विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले बताए।
आयोजना प्रमुख भट्टराईले विभागबाट असारको अन्त्यमा आएको ७५ लाख रूपैयाँ सामग्री खरिदबापत भएकाले जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयबाट खाली बोरा, नाइलन जाली, पर्कोपाइन, जियोब्याग, जियो टेक्सटाइल, रबर बोट र बोल्डर किन्न खर्च गरिएको बताए।
बाँध संरक्षित गर्न अहोरात्र खटिएको दाबी गर्ने आयोजनाले कागजकै आधारमा असार २८ गते ती सामग्री पाएको थियो। खरिद गरिएका सामग्रीमध्ये बोल्डर आपत्कालीन कार्य गर्ने थलोमा खसाइए पनि अन्य सामग्री आयोजनाको जनकपुरधामस्थित कार्यालयमा भण्डारण गरिएको छ।
विभागले साउनमा भत्किएका बाँध मर्मतका लागि ५० लाख रूपैयाँ पठाएपछि आयोजनाका अधिकारी जुर्मुराएका छन्।
आयोजना प्रमुख भट्टराईले पनि असारमा आएको रकम सामग्री खरिदबापत मात्र भएको र काम गराउने खर्च आयोजनासँग नभएको हुँदा साउनमा आएको रकम पर्खिनुपरेको बताए।
धनुषा र सिरहा गरी दुवैतिर ६८ किलोमिटरभन्दा लामो बाँधका मर्मतसम्भारका लागि अपर्याप्त रकम विनियोजन र आपत्कालीन संरक्षणमा रकम नदिइँदा संरक्षण विस्तार एवं प्रभावकारी हुन नसकेको अनुभव सरकारी अधिकारीकै छ।
किन भत्किन्छ बाँध ?
धनुषा र सिरहाका नदी तटीय क्षेत्रका बासिन्दाले बाँधका लागि मुआब्जा नलिइकनै जग्गा उपलब्ध गराएका हुन्।
बाँधलाई यस क्षेत्रका बासिन्दाले सडकमार्गका रूपमा प्रयोग गर्दै आएका छन्। जस्तोसुकै बर्खा र बाढीका बेला नदी किनारका बाँध सुदूर ग्रामीण क्षेत्रसम्म पुग्ने स्थलमार्ग रहँदै आएको छ। बर्खा र बाढीका बेला नदी किनारका बस्ती जलमग्न हुँदा पनि बाँध ओहोरदोहोर गर्ने सुरक्षित बाटोका रूपमा मानिन्छ।
पछिल्लो समय गिट्टी, बालुवा र ढुंगा ओसार्न उल्लेख्य संख्यामा टिपर र ट्याक्टर गुड्न थालेपछि बाँध कमजोर हुँदै गएको इन्जिनियर मनोहरप्रसाद साहले बताए।
बाँधको डिजाइनमा ६ देखि १० टनसम्म बाँध–सडकको पारवहन क्षमता छ। तर, केही वर्षयता बाँधको बाटो भएर १६ टनसम्मका ठूला गाडी लस्करै गुड्ने गर्छन्।
सिँचाइ विभागका महानिर्देशक राजभण्डारीले पनि खोलाछेउ अर्थात् बाँधनजिकबाटै ढुंगा, गिट्टी र बालुवा उत्खनन् तथा ओसारपसार गर्ने ठूला सवारी साधन गुडाउँदा बाँध भत्किने जोखिम चुलिएको बताए। उनले यसमा रोक लगाउन स्थानीय तह सक्रिय हुनुपर्ने र स्थानीय पनि सचेत हुनुपर्ने उल्लेख गरे। कमला किनारका बाँधको चौडाइ पाँच मिटर १६ फिट छ।
‘सामान्यतया हलुका सवारी साधन गुड्दा फरक नपर्ने बाँध–सडकमा जुनसुकै सवारीसाधन गुडाउने हो भने नदी नियन्त्रण आयोजनासँग समन्वय गरेर सडक विभाग र स्थानीय तहले बाँधको स्तरोन्नति गर्नुपर्ने हो। तर, अहिलेकै अवस्थामा हेभी भेहिकल्स (ठूला सवारी साधन)को धेरै चाप भयो भने बाँध भत्किने खतरा टार्न सकिँदैन,’ कमला नदी नियन्त्रण आयोजनामा काम गरिसकेका इन्जिनियर साहको भनाइ छ।
कमला नदीमा दुवैतिरका बाँधका बीचमा न्यूनतम नौ सय मिटरदेखि दुई किलोमिटरसम्मको दूरी छ। अर्थात् धनुषा र सिरहाका बाँधबीच खोलाको बहाव क्षेत्र निकै फराकिलो छ।
खोलाको भागभन्दा तेब्बर क्षेत्र छाडेर बाँध बनाइएको आयोजनाका पूर्वप्रमुख जल उत्पन्न प्रकोप नियन्त्रण विज्ञ रत्नेश्वरलाल कर्णले बताए।
‘पानीको प्रवाह बाँधनजिक नभएर बगोस् भन्ने उद्देश्यले नै फराकिलो दूरीमा बाँध बनाइएको हो। तर, नदीमा बालुवा, ढुंगा गिट्टी थेग्रिँदै जाँदा होचो सतहतिर अझ आफ्नो पूर्वप्रवाह क्षेत्रतिर र कहिलेकाहीँ प्राकृतिकरूपमै पानीको वेग बाँधतिर ठोक्किने गर्छ,’ कर्णले भने, ‘यसबाट जोगिने उपाय भनेकै नदीको पानी फर्काउने र बाँध जोगाउने प्राविधिक कार्य तथा केही परम्परागत अभ्यासबाटै सम्भव हुन्छ।’
अन्य नदीझैँ कमलाको तटीय क्षेत्रमा खोला र खेतसतह बराबर अझ धेरै ठाउँमा खेत नै होचो भएको छ। माथिल्लो तटमा पूर्वाधार विकासलगायत अन्य कार्य हुँदा पानीसँग बगेर आउने माटोमिश्रित ढुंगा, गिट्टी र बालुवा थेग्रिँदा नदी सतह उकासिँदै गएको हो।
इन्जिनियर साहले सन् २०११ मा संशोधन भएर निर्मित डिजाइनमा बनाइएको बाँधको उचाइ नबढेको तर नदी सतह दिनानुदिन बढिरहेकाले बाँध भत्किने खतरा रहेको बताए।
नदीको पूर्वप्रवाह क्षेत्र भएका कारणले पनि धनुषाको किरतपुर, पटेर्वा र हथमुन्डाजस्ता ठाउँमा बाँध भत्किने संकट सधैं रहन्छ।
सिरहाको जोखिमयुक्त ठाउँ मानिएका भेडिया, बसबिट्टा र जिल्ल्ला सदरमुकाम सिरहामा भने यसपटक बाँध भत्किने खतराबारे पूर्वानुमान गरिएको छैन।
पूर्वपश्चिम राजमार्गमा कमला नदी पुलको लम्बाइ ६ सय ४० मिटर छ। पुलको दक्षिणी क्षेत्रमा धनुषाको चारनाथ र सिरहाका बतहा, घुर्मी तथा कटनियाँ (भुसी) खोलाका पानी कमलामा आएर मिसिन्छ। तर, दक्षिणी भागमा हुलाकी सडक जोड्ने निर्माणाधीन पुलको लम्बाइ चार सय मिटर छ।
यो प्राविधिक रूपमा गलत संरचना भएको इन्जिनियर बताउँछन्। बढी पानी र नदीजन्य पदार्थ बग्नुपर्ने ठाउँमा छोटो संरचना बनाउँदा नदीको प्राकृतिक प्रवाह अवरुद्ध हुँदा पनि बाँध भत्किने खतरा रहने उनीहरूको बुझाइ छ।
अझ सीमापारिको सहर जयनगरमा कमला पुलको लम्बाइ दुई सय मिटर छ। पुलको लम्बाइ कम भए पनि खोला क्षेत्रमा कजवे (सडकमुनि पानी बग्ने संरचना) बनाउनुपर्ने हुन्छ। तर, हुलाकी सडकको कमला पुलमा त्यस्तो संरचना डिजाइनमै छैन।
सिँचाइ विभागका महानिर्देशक राजभण्डारीले सिरहा र धनुषा जोड्ने पुल भत्किँदासमेत बाँधमा सुरक्षा समस्या उत्पन्न भएको प्रस्ट्याए।
जस लिने होडबाजी
बाँध भत्किने खतरा थाहा पाएपछि माओवादी नेता एवं सांसद मातृका यादवले आफ्नो फेसबुक भित्तोमा आफ्नो प्रयासका कारण सरकारले ५० लाख रूपैयाँ बाँध मर्मतका लागि पठाउँदै गरेको दाबी गरेका थिए। यादव सबैला निवासी हुन्।
त्यसलगत्तै सबैलाका मेयर साहले आफू राजधानी नै गएर लबिङ गरेपछि मात्र त्यो रकम निकासा भएको सञ्चारकर्मीलाई फोन गरेरै सुनाए।
त्यसयता बाँध निरीक्षणका लागि प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामसरोज यादव लावालस्करका साथै सबैला पुगेका थिए। आज मात्रै नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले बाँध भत्किएका क्षेत्रको निरीक्षण गरेका छन्।
तटीय इलाका निर्वाचन क्षेत्र रहेका मातृका र एमालेका तत्कालीन नेता रामचन्द्र झाले भने तटबन्ध बन्ने क्रममा समेत चासो लिएका थिए।
साउन ९, २०७८ शनिबार १९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।