यौनिक अल्पसंख्यकलाई समाजकै डर !
यौनिक अल्पसंख्यक भन्ने जानकारी पाएपछि समाजले नै आफूहरूलाई भेदभाव र नराम्रो व्यवहार गर्ने भएकाले खुलेर आउन नसकेको उनीहरूले बताएका हुन्।
बुधबार वीरेन्द्रनगर नील हीरा समाजले आयोजना गरेको यौनिक अल्पसंख्यकसँगको अन्तरक्रियामा उनीहरूले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै नील हीरा समाजकी सिम्रन सेरचनले आफूहरू वर्षाैंसम्म अधिकार प्राप्तिको लागि लडे पनि राज्यले सुनुवाइ नगरेको गुनासो गरिन्।
‘हाम्रो अधिकार प्राप्तिको लागि राजा रामको पालादेखि सुरुवात भएर कलियुगसम्म आउँदा पनि हामीले न्याय पाउन सकेनौं,’ उनले भनिन्, ‘यो समाजले हाम्रो संरक्षण र सम्मान गर्नु त परको कुरा हो, उल्टै ‘छक्का’ र ‘हिँजडा’को उपनामले चिनाउँछ।’
संवैधानिकरूपमा समानता तथा सामाजिक सुरक्षालगायत अधिकारको व्यवस्था भए पनि व्यावहारिकरूपमा पाउन नसकेको उनको भनाइ छ।
समाजकै डरका कारण कैयौं यौनिक अल्पसंख्यक खुल्न नसकेकाले उनीहरूलाई विभिन्न कार्यक्रमबाट बाहिर लयाउनुपर्ने नील हीरा समाजकै मनिषा ढकालले बताइन्।
‘विवाह हामीले सोचेजस्तो हुँदैन, आफूले मन पराएको मान्छेसँग विवाह गर्न पाउँदैनौं,’ उनले भनिन्, ‘कसैलाई घरपरिवारले जबरजस्ती विवाह गरिदिन्छन्। यस्ता थुपै्र पीडाले पिल्सिएका छौं हामीहरू।’
ढकालले गृह मन्त्रालयले नागरिकताको विषयमा परिपत्र गर्दा पनि अहिलेसम्म आफ्नो पहिचानसहितको नागरिकता आफूहरूले पाउन नसेकेको बताइन्। उनले कोरोना भाइरस (कोभिड १९) संक्रमण विरुद्धको खोपमा यौनिक अल्पसंख्यकलाई प्राथमिकता दिन आग्रह गरिन्।
‘यौनिक अल्पसंख्यकको सुरक्षामा प्रदेश सरकार गम्भीर छ’
सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले यौनिक अल्पसंख्यकको सुरक्षा र रोजगारमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । उनले यौनिक अल्पसंख्यकलाई सीप सिकाएर आत्मनिर्भर बनाउने कार्यक्रम सरकारको रहेको बताए।
‘यौनिक अल्पसंख्यक अहिले पनि खुल्न सक्नु भएको छैन, खुलेकाहरू पनि असुरक्षित हुनुहुन्छ,’ बिहीबार यौनिक अल्पसंख्यकसँगको छलफल कार्यक्रममा मन्त्री बुढाक्षेत्रीले भने, ‘तपाईंहरूको सुरक्षा र रोजगारको विषयमा सरकार गम्भीर छ।’
मन्त्री बुढाक्षेत्रीले कर्णाली प्रदेशभरि रहेका यौनिक अल्पसंख्यकको तथ्यांक उपलब्ध गराउन सरोकारवालासँग आग्रह गरे।
‘कर्णालीभरि कति जना यौनिक अल्पसंख्यक हुनुहुन्छ, त्यसको तथ्यांक भए सीप सिकाउन, क्षमता अनुसारको काम दिन र स्वरोजगार बनाउन सहज हुन्थ्यो,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘तथ्यांक उपलब्ध गराउने काममा सरोकारवाला संघ–संस्थाको सहयोग मन्त्रालयलाई आवश्यक छ।’
सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले यौनिक अल्पसंख्यकका लागि चालू आर्थिक वर्षमा सीपमूलक तालिमको व्यवस्था गरिएको बताए। उनले यौनिक अल्पसंख्यकको तथ्यांक नहुँदा काम गर्न मन्त्रालयलाई असहज भइरहेको बताए। उनले यौनिक अल्पसंख्यकका बारेमा विद्यालय तहको पाठ्यक्रममा समेट्नुपर्ने आवश्यकता औंल्याए।
नील हीरा समाजका भूमिका श्रेष्ठले विद्यालय तहदेखि नै यौनिक अल्पसंख्यकको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता औल्याइन्। ‘घर, परिवार र समाजको डरले यौनिक अल्पसंख्यक अझै पनि खुल्न सक्नुभएको छैन,’ उनले भनिन्, ‘त्यसका लागि सचेतना कार्यक्रम फैलाउन जरुरी छ।’
साउन ७, २०७८ बिहीबार २१:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।