संयुक्त विद्यार्थी संगठनद्वारा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

संयुक्त विद्यार्थी संगठनद्वारा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

विश्वविद्यालयले विद्यार्थीका मागप्रति बेवास्ता गरेको भन्दै विद्यार्थी संगठनले एमयु केन्द्रीय क्याम्पस, परीक्षा व्यवस्थापन कार्यालयसँगै सम्पूर्ण संकायको क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन्।
 
विद्यार्थीले यही साउन ३ गते १८ बुँदे माग तथा ध्यानाकर्षण पत्र विश्वविद्यालय प्रशासनलाई बुझाएका थिए। त्यसपछि विश्वविद्यालय प्रशासन बेखबर जस्तै बनेकाले आन्दोलित हुनुपरेको संयुक्त विद्यार्थी संगठनले जनाएको छ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालका उपकुलपति, रजिस्ट्रार र सम्पूर्ण डिन कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय, ल क्याम्पस र इन्जिनियरिङ संकाय केन्द्रीय क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको विद्यार्थी ममता अधिकारीले जानकारी दिइन्।

‘अझै पनि विद्यार्थीका जायज माग सम्बोधन हुन सकेन भने जे पनि हुन सक्छ। यसको सम्पूर्ण क्षतिपूर्ति स्वयं विश्वविद्यालय र यहाँका पदाधिकारीले लिन पर्नेछ,’ उनले भनिन्, ‘विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरियोस्। हाम्रा १८ बुँदे माग तत्काल वार्ता बसेर समाधान गरियोस्।’

यता विश्वविद्यालय प्रशासनले भने परीक्षा नजिकिँदै गर्दा विद्यार्थी संगठनले क्याम्पस तालाबन्दी गर्न उपयुक्त नभएको प्रतिक्रिया दिएको छ। 

साउन ७, २०७८ बिहीबार १८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।