नयाँ सत्ता समीकरणबारे छलफल गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि सांसदसम्म काठमाडौंमा !

नयाँ सत्ता समीकरणबारे छलफल गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि सांसदसम्म काठमाडौंमा !
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय।

प्रदेश सरकारमा प्रतिपक्षी दलको भूमिकामा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा ल्याउन परामर्शसमेत सुरु भएको छ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव समूह, जसपाको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री र सांसद काठमाडौं गएका हुन्। 

मुख्यमन्त्री त्रिलोचन भट्ट केही दिनदेखि काठमाडौंमै रहेका बेला मंगलबार आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र सामाजिक विकासमन्त्री लालबहादुर खड्का पनि काठमाडौं गएका हुन््। कृषिमन्त्री विनिता चौधरी पनि केही दिनदेखि काठमाडौंमै छिन् ।

उनीहरूसँगै केही सांसद पनि काठमाडौं गएका छन्। उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीबाहेक प्रदेशका सबै मन्त्री र नेपाली कांगेसका सांसद काठमाडौं जानुलाई अर्थपूर्णरूपमा हेरिएको छ। 

‘नयाँ सत्ता समीकरणबारे छलफल’ 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले संघीय सरकारमा जस्तै प्रदेशमा पनि कांग्रेस, माओवादी र जसपाबीच सत्ता सहकार्य गर्ने विषयमा छलफल भइरहेको बताए।

‘संघीय सरकारमा जस्तै प्रदेशमा पनि पाँच दलीय गठबन्धनको सरकार बनाउने गरी हामी छलफलमा छौं,’ उनले भने, ‘केही दिनभित्रै हामी निष्कर्षमा पुग्छौं।’

अहिले यहाँ एमालेको माधव समूहको समर्थनमा माओवादीको नेतृत्वमा सरकार छ। रावलले अर्को हप्तासम्म प्रदेशमा गठबन्धन सरकार बन्ने सम्भावना रहेको बताए।

मुख्यमन्त्रीमा कांग्रेस र एमालेकाे नेपाल समूहले दाबी गरेका छन्। माओवादीले साढे तीन वर्ष सरकारको नेतृत्व गरिसकेको, एमालेको नेपाल समूहले पनि महत्त्वपूर्ण मन्त्रालय सम्हालिसकेको भन्दै कांग्रेसले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ। 

नेपाल समूहका सांसदले पनि मुख्यमन्त्रीमा दाबी गरेकाले निष्कर्ष निकाल्न केन्द्रीय नेताले प्रदेश सरकारको टोली काठमाडौं बोलाइएको स्रोतको दाबी छ।

सुदूरपश्चिम प्रदेशमा एमालेको एकल वा माओवादी र कांग्रेसले गठबन्धन सरकार गठन भएको अवस्थामा निर्णायक भूमिकामा रहेको जनता समाजवादी पार्टीले भने अहिले ‘पर्ख र हेर’को अवस्था रहेको जनाएको छ।

जनता समाजवादी पार्टी सुदूरपश्चिमका संसदीय दलका नेता कृष्णबहादुर चौधरीले संघमा जस्तै प्रदेशमा पनि गठबन्धनको सरकारमा जाने विषयमा कुनै छलफल नभएको बताए।

राजीनामा फिर्ता लिन रावललाई दबाब !

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलको राजीनामा फिर्ताका लागि दबाब दिन पनि सुदूरपश्चिम प्रदेशबाट सांसद र मन्त्रीको टोली काठमाडौंमा गएको बुझिएको छ।

रावलको राजीनामा फिर्ता लिन आग्रह गर्न प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, भौतिक विकासमन्त्री दीर्घ सोडारीलगायत सांसद र एमाले जिल्ला अध्यक्षको टोली मंगलबार काठमाडौं गएका एमाले पार्टी स्रोतले जानकारी दिएको छ।

रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै राजीनामा घोषणा गरेका थिए।

संघीय राजधानी काठमाडौं गएका प्रदेश सरकारका मन्त्रीले सरकारमा तत्काल कुनै खालको फेरबदल हुने सम्भावना नरहेको बताएका छन्।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले आफूहरू काम विशेषले काठमाडौं आएको दाबी गरे।

सामाजिक विकासमन्त्री लालबहादुर खड्काले राजनीतिक भेटघाटका लागि काठमाडौं पुगेको बताए।

प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गराउने विषयमा छलफल सुरु नभइसकेको बताइन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ जना मात्रै छन्। तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले दल (माओवादी केन्द्र) परित्याग गरेपछि पार्टीको सिफारिसमा पदमुक्त भएपछि प्रदेशसभामा ५२ जना सांसद छन्।

जसमध्ये नेकपा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्।

साउन ५, २०७८ मंगलबार २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।