बालीघरेका दुःख– वर्षभरि काम गर्दा नि खानै पुग्दैन

आरन सिक्ने बेलादेखि अहिलेसम्म उनले बालीघरे (खलो) प्रथा अँगालिरहेका छन्।
गाउँका करिब सय जना परिवारको हँसियालगायत फलामका औजार बनाएर परिवारको खर्च चलाउँदै आएका छन् उनी। तर, अहिले उनलाई काम दिने परिवारको संख्या अहिले घटेको छ। यसको कारण हो– गाउँमा अरुले पनि आरन खोल्नु।
आफूकहाँ आउने मानिस घटेसँगै उनलाई आरनको कमाइले वर्षभरी खान समस्या पर्ने गरेको छ।
वर्षभरी फलामका औजार बनाइदिएबापत उनी प्रत्येक घरबाट सिजनमा बालीघरे (खलो)का रूपमा १० पाथीदेखि एक मुरीसम्म धान, मकै र गहुँ पाउँछन्।
घरखर्च चलाउन गाह्रो भएपछि उनले यो प्रथालाई छाडेर ज्यालादारीमा काम गर्ने योजना बनाए। तर, गाउँबाट अहिले पाइने गरेको अन्न नपाइएला भन्ने चिन्ताले यो प्रथा छाड्न सकेका छैनन्।
‘पहिला वर्षभरी काम गरेर सिजन अनुसार एक डोको मकै र एक पाथी गहुँ दिन्थे। अहिले वर्षमा कसैले एक मुरी त कसैले १० पाथी अन्न दिन्छन्,’ उनले भने, ‘यसले वर्षभरि त खान पुग्दैन। जीविका के चल्थ्यो ?’
यो प्रथामा परिश्रम अनुसारको मूल्य नहुँदा अब आउने पिढीले यसलाई अँगाल्न नसक्ने उनको भनाइ छ।
यस्तै पीडा छ दैलेखको ठाटीकाँध गाउँपालिका–२ का ७४ वर्षीय रघे लुवारको पनि।
गाउँमा ‘आरन्या बाजे’ नामले परिचित उनी यो पेशाबाट साँझ–बिहानको छाक टार्न मुस्किल भएको बताउँछन्।
तामाका भाँडा बनाउने पञ्चपुरी–२ का चन्द्र विकलाई भने बजारमा आएका सामग्रीले आफ्नो पेशा संकटमा पर्ने चिन्ता छ। बजारमा विभिन्न डिजाइनका तामाका भाँडा आएकाले आफूकहाँ तामाका भाँडा किन्ने ग्राहक नआउने गरेको उनको गुनासो छ।
यी त उदाहरणीय पात्र मात्रै हुन्। कर्णालीका दलित समुदायले बालीघरे प्रथामा पुख्र्यौली पेशा गरिरहेका छन्।
बालीघरे प्रथामा जीविका चलाउनै मुस्किल भएपछि यो पेशा संकटमा परेको दलित अगु्वा बताउँछन्।
पुर्ख्याैली पेशाको आधुनिकीकरण नगर्दा बालीघरे प्रथा अँगाल्नेहरू थोरै अन्नमा श्रम बेच्न बाध्य भएको दलित अगुवा वसन्त विकले बताए।
‘स्थानीय सरकारले नीतिगतरूपमै उनीहरूलाई माथि ल्याउने कार्यक्रम बनाउनुपर्छ,’ उनले भने, ‘बलियो नीतिबिना उनीहरू परिवर्तन हुन सक्दैनन्।’
साउन ५, २०७८ मंगलबार २०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।