उच्च अदालत सुर्खेतद्वारा ६४ प्रतिशत मुद्दा फर्छ्याेट
सुर्खेत : उच्च अदालत, सुर्खेतले गत आर्थिक वर्षमा झण्डै ६४ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ।
अदालतले गत आर्थिक वर्षमा ७ सय ३३ थान मुद्दामध्ये ४ सय ६८ मुद्दा फर्छ्याेट गरेको हो। यो उक्त अवधिमा दर्ता भएका कुल मुद्दाको ६३.८४ प्रतिशत हो।
गत आर्थिक वर्षमा फर्छ्याेट हुन बाँकी २ सय ६५ थान मुद्दा चालू आर्थिक वर्षमा सरेर आएकाे अदालतका उपरजिस्ट्रार सरोजनिधि वाग्लेले जानकारी दिए। तीमध्ये ६ महिनासम्म दर्ता भएका १ सय ४१, ६ देखि १२ महिनाका ७६, १२ महिनादेखि १८ महिनाभित्रका ३५ र १८ महिनादेखि २ वर्षभित्रका १३ थान छन्।
अदालतमा आर्थिक वर्ष ०७६/०७७ बाट गत आर्थिक वर्षमा २ सय ९३ मुद्दा सरेर आएका थिए।
जिल्ला अदालतको आदेश चित्त नबुझेर उच्च अदालतमा परेका ९३ थान उजुरी निवेदन पनि फर्छ्याेट गरिएको उनले जानकारी दिए।
अदालतमा दर्ता हुने मुद्दालाई समयमै किनारा लगाउन, नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्न फैसलाको समायावधिमा विशेष ख्याल पुर्याइएको उच्च अदालत, सुर्खेतका कामु मुख्य न्यायाधीश शेषराज शिवाकोटीले जानकारी दिए।
उनले अदालतप्रति जनताको विश्वास बढाउन अदालतले छरितो फैसला गर्ने नीति लिएको उल्लेख गरे। ‘कानुनको परिधिमा रहेर अदालत जतिसक्दो छिटो मुद्दा किनारा लगाउन तल्लीन छ,’ उनले भने।
साउन ४, २०७८ सोमबार २१:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।