मौरीपालनमा जमेका रिटायर्ड जमदार 

मौरीपालनमा जमेका रिटायर्ड जमदार 

सुर्खेत : नेपाली सेनाबाट रिटायर्ड भएपछि प्रायःको रोजाइमा पर्छ– सुरक्षा गार्डको जागिर। यही काम गर्न कति विदेश गएका छन् त कति स्वदेशकै कम्पनीमा खटिएका छन्। 

तर, वीरेन्द्रनगर–१२, पिपिराका अमरबहादुर तारामी मगरको हकमा यो कुरा लागू भएन। 

सेनाकाे जमदार पदबाट रिटायर्ड भएपछि उनले सुरक्षा गार्डको जागिरमा चासो देखाएनन्। बरू, मौरीपालन व्यवसाय थाले।   

०००
२०५८ सालमा रिटायर्ड भएका उनले दुई वर्षसम्म पनि के काम गर्ने भन्ने भेउ पाउन सकेनन्। 

उनका साथीले विदेशी कम्पनीमा सुरक्षा गार्डका रूपमा काम गर्न सुझाव पनि दिए। तर, उनले विदेशी कम्पनीको जागिर मोह गरेनन्। र, उनले मौरीपालन गर्ने सोच बनाए। 

‘घरपरिवार सँगै बसेर केही व्यवसाय गरौं भन्ने सोचले मौरीपालन रोजेको हुँ,’ उनले भने। 

मौरीपालनबाट राम्रो मुनाफा हुने थाहा पाएपछि उनले २०६० सालमा एक घार मौरीबाट आफ्नो व्यवसाय सुरु गरे।

त्यति बेला पाँच हजार रूपैयाँ लगानी गरी ‘हिमाल मौरी पालन उद्योग’ फर्म दर्ता गरेको उनले सुनाए।

केही महिनापछि उनलाई वीरेन्द्रनगर–१२ स्थित सामुदायिक वन उपभोक्ता समूहले एक घार मौरी फिर्ता गर्ने गरी दियो। त्यसपछि दुई घार मौरीबाट अमरले ३० घार बनाए। 

प्रत्येक वर्ष घार थप्दै गएपछि अहिले उनको फर्ममा सय घार मौरी छन्। उनले मौरीपालनमा एक करोड रूपैयाँभन्दा बढी लगानी गरेका छन्। आफ्नो फर्ममा उनले १२ जनालाई रोजगारीसमेत दिएका छन्। 

त्यो व्यवसायबाट मासिक एक लाख रूपैयाँ खुद नाफा कमाउने गरेको उनी बताउँछन्। 

उनले उत्पादन गरेको मह कर्णाली प्रदेशका जिल्लामा मात्रै होइन, काठमाडौंसम्म पुग्ने गरेको छ।

त्यससँगै उनी कर्णालीका १० वटै जिल्लाका किसानलाई मौरीपालनबारे तालिम पनि दिने गरेका छन्। ‘कर्णालीका जिल्लामा मात्रै होइन, अन्य जिल्लाबाट पनि तालिमका लागि माग आउने गरेको छ,’ उनले सुनाए। 

ऋण गरेर विदेशिने युवालाई उनी भन्छन्, ‘जागिरमा सीमित कमाइ मात्र हुन्छ, व्यवसायमा असीमित कमाइ हुन्छ, त्यसैले त्यो ऋणलाई विदेश जान होइन, स्वदेशमै लगानी गर्नुस्।’ 

एउटा मौरीको घारबाटै वार्षिक ४० देखि ५० किलोग्राम मह उत्पादन गर्न सकिने र त्यसको झण्डै १० हजार रूपैयाँ आम्दानी हुने उनले बताए।

कर्णालीकै विभिन्न जिल्लामा उत्पादन गरेको महलाई संकलन गरी ‘हिमाल मौरीपालन उद्योग’को ब्राण्ड दिएर स्वदेश र विदेशका विभिन्न ठाउँसम्म पुर्याउने योजना उनले सुनाए। 

मौरी पालन उद्योगसँगै हिमालय हनी बेकरी एण्ड फुड प्रोडक्ट इन्ड्रस्ट्रीसमेत सञ्चालनमा ल्याएका छन्।

उनले सरकारबाट लगानी अनुसारको अनुदान पाउन नसकेको दुखेसो सुनाए।

‘केही वर्षपहिले साना तथा मझौला उद्योग कृषक आयस्तर वृद्धि आयोजनाबाट थोरै अनुदान पाएको थिएँ। त्यसपछि केही पाएको छैन,’ उनले सुनाए। 

विदेशमा गर्ने मेहनत नेपालमै गर्न सके स्वदेशमा राम्रो कमाइ गर्न सकिने अमरको अनुभव छ।  

स्थानीय तथा प्रदेश सरकारले पनि युवालाई प्रत्यक्षरूपमा स्वरोजगार हुने कार्यक्रमलाई प्राथमिकता दिन सके गाउँघरमै रोजगारी सिर्जना गर्न सकिने उनले बताए।
 

साउन ४, २०७८ सोमबार १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।