प्रधानमन्त्री देउवाको ट्विटमा राजतन्त्रकालीन शब्द : 'मेरो सरकार' भन्नु कति उचित ?
काठमाडौँ : अमेरिकाबाट अनुदानमा प्राप्त जोनसन एन्ड जोनसन खोप लगाउने कार्यक्रमको प्रारम्भ गर्न नेपाल अर्थोपेडिक अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल पुगे प्रधानमन्त्री देउवा।
खोप अभियान सुरु गर्न उनी नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहित पहिला अर्थोपेडिक अस्पताल पुगेका थिए। खोप अभियान सुरु गरेको तस्बिर सहित उनको आधिकारिक ट्विटर ह्यान्डलबाट ट्विट भयो'मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो।'
राजतन्त्र कालमा सरकारलाई ‘श्री ५ को सरकार’ भन्ने गरिन्थ्यो । गणतन्त्र कालमा ‘नेपाल सरकार’ भन्न थालियो। राजाले सम्बोधन गर्दा मेरो सरकार भनिन्थ्यो जुन गणतन्त्रसँगै हराएको थियो।
मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु। खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको छु। pic.twitter.com/npvaqotgqe
— Sher Bahadur Deuba (@DeubaSherbdr) July 19, 2021
प्रधानमन्त्री देउवाको आधिकारिक ह्यान्डलमा सरकारबारे प्रयोग गरेको शब्द 'मेरो सरकार' उचित शब्द हो त?
उकेराले भाषाविद् डा लक्ष्मीप्रसाद खतिवडासँग जिज्ञासा राख्दा उनको प्रतिक्रिया थियो'‘श्री ५ हरुले मेरो सरकार भन्थे. प्रजा र रैती मान्ने श्री ५ हरुले भन्ने मेरो सरकार गणतन्त्रमा भनिनु गलत हो।'
उनले गणतन्त्रपछि नेपाल सरकार नै औपचारिक भाषा रहेको जानकारी दिँदै देउवाले प्रयोग गरेको शब्दबारे भने 'यो नितान्त गलत भाषा हो,’ उनले भने,‘औपचारिक भाषा नेपाल सरकार नै हो।’
आफ्नो पार्टीको सरकार हुँदा कतिले 'हाम्रो सरकार' भन्ने गरेको र यो गलत शब्द नभएको उनको प्रतिक्रिया छ।
‘पार्टीगत रूपमा हाम्रो सरकार भन्ने गरेको सुनिन्छ,’उनले भने,‘हाम्रो सरकार भन्नुलाई गलत नै भन्न सकिन्न,तर मेरो सरकार भन्नु गलत हो।’
मेरो सरकार रुचाउँदैनन् काँग्रेस नेता
प्रधानमन्त्री देउवाले सरकारबारे प्रयोग गरेको शब्दप्रति मौन छन् काँग्रेस नेता। तर यस अगाडि राष्ट्रपतिले यही शब्द प्रयोग गर्दा उनीहरूले आपत्ति जनाएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ वैशाख २० मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सम्बोधनका क्रममा पटक-पटक ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेपछि आलोचना भएको थियो।
गणतन्त्र स्थापनापछि पहिलो पटक राष्ट्र प्रमुखबाट 'मेरो सरकार' शब्द प्रयोग भएको थियो।
राष्ट्रपतिले ‘मेरो सरकार’ भनेपछि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले 'राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र बिदा गरेका नेपाली नागरिकलाई ‘रानी’बोक्ने कुनै रहन छैन' भन्दै ट्विट गरेका थिए।
अर्का काँग्रेस नेता तथा सभासद् गगन थापाले पनि विरोध गर्दै 'म त नेपाल सरकार (जनताको सरकार) को नीति तथा कार्यक्रम सुन्न संसद्मा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिम ज्यूको निजी सरकारको कार्यक्रम को पो घोषणा भइरहेछ प्रधानमन्त्री ज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिला आउँ होला?' भनेर ट्विट गरेका थिए।
विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपतिले मेरो सरकार भन्नु अत्यन्त गैर जिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ हो। यो राष्ट्रपतिको सरकार होइन' भन्दै ट्विट गरेका थिए।
राष्ट्रपतिले मेरो सरकार भनेको दुई वर्षपछि प्रधानमन्त्री नियुक्त काँग्रेस सभापति समेत रहेका देउवाले आफ्नो ट्विटमा त्यही शब्द प्रयोग गरे 'मेरो सरकार'।
साउन ४, २०७८ सोमबार १७:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।